|

चितवन : चितवनमा पनि साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ। वाईल्ड वन्डर्स प्रालिको परिकल्पना र प्राविधिक सहयोगमा भरतपुर २ आपटाडीस्थित जलदेवी सामुदायिक वनमा जिपलाइन सञ्चालनमा आएको हो।

जिपलाइनको प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्। जिपलाइन व्यवस्थापन समितिका संयोजक माधव देवकोटाले सामुदायिक वनमा नेपालकै पहिलो जिपलाइन भएको बताए।

पर्यटकिय जिल्लाका रूपमा रहेको चितवनमा सञ्चालनमा आएको जिपलाइनले भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ।

सामुदायिक वन र वनका उपभोक्ताको ७५ लाख लगानीमा सुरु भएको हो। १ हजार ३७० जना वन समितिका सदस्यमध्ये ५ सयजनाले प्रतिसेयर ३ हजारका दरले लगानी गरेको समितिले जनाएको छ। 

जिपलाइनको रुट र शुल्क

२ वटा रूटमा ३७२ मिटर लामो रूट रहेको व्यवस्थापन समितिले जनाएको छ। पहिलो रूटमा स्टेसन 'ए' देखि 'वि' सम्म ११२ मिटर र स्टेसन 'वि' देखि 'सि'सम्म ८५ मिटर लामो रूट रहेको छ। यो रूटका लागि प्रतिटिकट ५ सय शुल्क निर्धारण गरीएको छ भने फोटो तथा भिडियो लिन चाहनेका लागि थप ३५० तोकिएको छ।

यस्तै स्टेसन 'सि' देखि 'डि' सम्म १७५ मिटर लामो रूट रहेको छ। यो रुटका लागि प्रतिटिकट ६ सय र फोटो भिडियो लिनचाहनेले थप ३५० तिर्नुपर्ने समितिका अध्यक्ष देवकोटाले बताए। दुवै रूटमा खेल्नेले भने ९ सय शुल्क तिर्नुपर्नेछ भने फोटो भिडियोका लागी थप ५ सय लाग्नेछ। 

विदेशी पर्यटकहरूका लागि भने केही महँगो शुल्क लाग्ने जनाइएको छ। उनीहरूले दुवै रूटका लागि १५ सय र फोटो भिडियोका लागि थप ७ सय तिर्नुपर्नेछ। यस्तै सार्क बाहिरका विदेशी नागरिकलाई दुवै रूटका लागि प्रतिटिकट २ हजार र फोटो भिडियोका लागि थप ७ सय लाग्ने छ।

यस जिपलाइनका लागि अहिले निर्धारण गरिएको शुल्क नेपालमा मात्र नभएर विश्वमा नै सस्तो रहेको जलदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केसव बहादुर थापाको दावी छ। जिपलाइनमा ९ जना कर्मचारी रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.