सडक दौडमा छात्रतर्फ राई र छात्रातर्फ कामती प्रथम

|

भद्रपुर : संविधान तथा राष्ट्रिय दिवस २०७६ विविध कार्यक्रमको आयोजना गरी झापा जिल्लामा मनाउन सुरु गरिएको छ। संविधान तथा राष्ट्रिय दिवस २०७६ जिल्ला समारोह समिति झापाले बिहीबार बिहान भद्रपुरमा आयोजना गरेको सडक दौड (मिनी म्याराथन) तथा मेची पुलमा राष्ट्रिय झन्डा राखेर जिल्लामा संविधान दिवस मनाउन सुरु गरिएको हो।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष तथा समारोह समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षमा भएको संक्षिप्त कार्यक्रमका बीच भद्रपुर ५ स्थित मेची पुल नजिकै ५ मिटरको राष्ट्रिय झन्डा राखेका छन्। नेपाल-भारतको सीमावर्ती नाकामा राष्ट्रिय झन्डा नरहेको अवस्थामा राष्ट्रको पहिचान झल्काउन मेची पुलमा झन्डा राखिएको समितिले जनाएको छ।

त्यसैगरी मेची पुलबाटै सुरु गरिएको विद्यालय स्तरीय छात्रा/छात्र सडक दौड (मिनी म्याराथन) प्रतियोगिता सम्पन्न भएको छ। मेची पुलबाट सुरु भएको दौड प्रतियोगिता भद्रपुर बजार, जनता चोक, अस्पताल चोक, मेची क्याम्पस गेट, क्याम्पस मोड, एसपी मोड हुँदै ट्रेड युनियन चोकमा आएर टुङ्गिएको थियो। करिब ६ किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ मावि दमकका याङदेव राई प्रथम भएका छन्। उनले १६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए। उनलाई नगद १० हजारले पुरस्कृत गरिएको थियो।

त्यस्तै, छात्रतर्फ द्वितीय हुने धुलाबारी माविका भूपेन्द्र राई, तृतीय हुने टावर ट्याम्पल बिर्तामोडका अनीश बस्नेत, चौथो हुने धुलाबारी माविका अन्जित दर्जी र पाँचौँ हुने हिमालय मावि दमकमा युवराज लिम्बु रहेका छन्। उनीहरूलाई क्रमशः ८, ६, ४ र २ हजारको दरले प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो।

त्यस्तै छात्रातर्फ धुलाबारी मावि मेचीनगरका भवानी कामती प्रथम भएकी छिन्। उनले २३ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। उनलाई नगद १० हजारले पुरस्कृत गरिएको थियो। त्यसैगरी छात्रातर्फ द्वितीय हुने सगरमाथा मावि भद्रपुरका सुस्मिता राई, तृतीय हुने धुलाबारी माविका सन्ध्या शर्मा, चौथो हुने हिमालय मावि दमककी मनीषा राई र पाँचौँ हुने हल्दीबारी माविकी प्रतिमा तुलाङ्गी रहेकी छिन्। उनीहरूलाई क्रमशः ८, ६, ४ र २ हजारको दरले प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो।

विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद वसन्त बानिया, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र समारोह समितिका संयोजक पोर्तेलले पुरस्कृत गरेका थिए। कार्यक्रममा खेलाडीको नगद पुरस्कारको व्यवस्था भद्रपुर नगरपालिकाले गरेका थिए, भने प्राविधिक व्यवस्थापन जिल्ला खेलकुद विकास समिति झापा तथा प्राथमिक उपचारको व्यवस्थापन मेची अञ्चल अस्पताल र नेपाल रेडक्रस सोसाइटी झापा शाखा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.