|

अर्घाखाँची : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामाकरण र राजधानीको टुंगो लाग्ने बताएका छन्। निर्वाचन भएको लामो समयसम्म पनि नामाकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप खेपिरहेका मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नाम र केन्द्र टुंगाउने बताएका हुन्।

सबैलाई चित्त बुझ्दो ठाउँ र नाम ल्याउनका लगि आफू लागिपरेको बताउँदै उनले प्रदेशले नाम र केन्द्रको विषयमा ढिलै गर्‍यो राम्रै गर्‍यो भन्ने बनाउन आफूहरू लागिपरेको बताए। जिल्लाका नेता कार्यकर्तालाई प्रशिक्षण दिन दुई दिनको समय तय गरी अर्घाखाँची पुगेका मन्त्री पोखरेलले प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अगाडि भने 'स्वभाविक रुपमा यो वर्ष टुग्याउँछौँ भनेका छौँ। किनकि हामी एउटा विधि प्रक्रियाबाट अगाडि बढिरहेका छौँ।'

हामीले प्रदेशसभामा एउटा समिति बनाएका छौँ समितिले जिल्ला जिल्लामा गएर सुझाव संकलन गर्ने त्यसको रिपोर्ट संकलन गर्ने काम सकिसकेको छ' उनले अगाडि थपे 'त्यसपछि विज्ञको टिमले काम गर्दैछ। विज्ञको रिर्पोट आइसकेपछि दुवै रिपोर्टलाई एकीकृत गरी प्रस्ताव प्रस्तुत गर्छौँ।' प्रदेशसभामा प्रस्तुत गरेर  टुंगाउने प्रकृयामा रहेको उनले बताए।

संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रूपमा प्रदेश सरकारले काम गरिरहेको बताए। 'संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमी आएको छ' उनले भने, 'संघीयता जनताको लागि ल्याएको हो। विकासका काममा जनताको खर्च घटेको छ। त्यही नै संघीयताको मूल मर्म हो।'

प्रदेश ५ सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडि रहने गरी आफूहरूले कानुन निर्माण गरेको बताए। उनले विकास निर्माण र समृद्धिको दिशामा सरकार अगाडि बढेको पनि उल्लेख गरे। दुई तिहाइको नेकपाको सरकार अधिनायकवाद छ भन्नेहरू पनि धेरै रहेको बताउँदै मुख्यमन्त्री पोख्रेलले नेकपा संविधानलाई मान्ने लोकतान्त्रिक जनआन्दोलनबाट अगाडि बढेको पार्टी भएकाले पाँच वर्षमा निर्वाचन गराएरै छाडने दाबी गरे।

मुख्यमन्त्री पोखरेलले सत्तामा बसिरहेको अहिलेको प्रतिपक्ष पार्टी नेपाल कम्युनिस्ट पार्टीको  दुईतिहाईको सरकारबाट अत्तालिएको भन्दै अगाडि थपे, 'नेकपाले ५ वर्ष सरकार चलाउँछ। त्यसपछिको निर्वाचनले जे परिणाम देखाउँछ, त्यसैलाई स्वीकार गरौला।' अहिले नै नआत्तिन उनले प्रतिपक्षलाई आग्रहसमेत गरे।

उनले राजनीति जेजस्तो भए पनि विकास र समृद्धिमा सहकार्य सबै दलबीच हुनुपर्ने बताए। प्रदेश ५ मा जस्तो प्रतिपक्ष पार्टीसँग सहकार्य गरी अघि बढेको केन्द्रमा नदेखिएको बताए। उनले केन्द्रीय सरकारले पनि प्रतिपक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

अर्घाखाँची सँगसँगै प्रदेश-५ सरकारकै गौरवको आयोजना हुनेगरी नौमुरे जल विद्युत परियोजनाको काम अगाडि बढाउन आफूले पहल थालेको बताए। केन्द्र सरकारसँग सहयोग मागेर प्रदेश सरकारले काम गर्न चाहेको बताउँदै काम गर्न केही समय लाग्ने उनको भनाइ छ।

यस्तै पूर्वसभामुख ओनसरी घर्तिमगरले यो देशमा आफ्नै जीवनकालमा समाजवाद ल्याएरै छाड्ने बताइन्। सभामुख घर्तिले ठूला दुई पार्टीको  एकता सरकार चलाउन मात्र नभई मुलुक परिवर्तन गर्न, समाज बदल्न एकता भएको बाक्षन्। देशमा आमूल परिवर्तन गर्न खोज्दा वर्षौंदेखि सत्तामा बसेर सासक जमाइरहेका प्रतिक्रियावादी, यथास्थितिवादी शक्तिहरूलाई छट्पट्टी  भइरहेको बताइन्। 'साच्चिकै अर्थमा देशको बिकाश हेर्न चाहानुहुन्छ भने सहकार्य गरि अगाडि बढौँ' उनले भनिन्।

जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमपछि मुख्यमन्त्री पोख्रेल र पूर्वसभामुख घर्तिमगरले अर्घा भगवती मन्दिर र दरबारको अबलोकन गरेका छन्। मन्दिर अवलोकनपछि मन्त्री पोखरेलले  ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरपुर मन्दिर र दरबारको भौतिक पूर्वाधार विकास गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.