सुदूरपश्चिममा स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसबाट दुईजनाको ज्यान गएको छ। बझाङको वित्थडचिरका २३ वर्षीया सरस्वती सिंह र कैलालीको गेटाका १५ वर्षीय भरत खातीको स्क्रब टाइफसबाट ज्यान गएको सामाजिक विकास मत्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्की जानकारी दिए।

हालसम्म सुदूरपश्चिम प्रदेशमा १ सय ३८ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको उनले बताए। 'स्क्रब टाइफसबाट प्रभावितहरू बढिरहेका छन्' उनले भने 'हामी नियन्त्रणमा लागिरहेका छौँ।'

मुसामा पाइने किर्ना जातको किराको टोकाइबाट मानिस सर्ने स्क्रब टाइफसका बिरामीमा कडा खाले ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मीको भनाइ छ।

बिहीबार साँझसम्म १ सय ३८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए। स्क्रब टाइफसबाट सबैभन्दा बढी प्रभावित डडेल्धुरा रहेको छ। डडेल्धुरामा ५२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ।

कैलालीमा ४२ जना, बैतडीमा २२ जना, डोटीमा छजना, कञ्चनपुरमा नौजना, बझाङमा पाँचजना र दार्चुलामा दुईजनामा स्क्रब टाइफस देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्ता देखिन्छन् लक्षण

स्क्रब टाइफस भएका मानिसहरूमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढी र काम जरो समेत आउन सक्दछ। धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, बिस्तारै शरीरका मुख्य अंगहरूले काम गर्न छोड्ने, समयै उपचार नभएका कडा खालको श्वासप्रश्वास समस्याजस्तै दम बढ्नु, सास फेर्न गाह्रो भई बिरामी सिकिस्तसमेत हुन सक्छ। किराले टोकेको ठाउँमा रातो डाबर जस्तो देखिन सक्छ। टोकेको ठाउँमा पछि गएर कालो दाग बस्न सक्छ।

यसबाट बच्ने उपाय

खेतीवारिमा काम गर्दा, वनजगंल झाडीमा जाँदा तथा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, सम्भव भए बुट लगाउने, बाँसबारी वा चौरमा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घारवासी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने।

डेंगुका ५३ संक्रमित फेला

सुदूरपश्चिम प्रदेशका १ सय ३८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएका छ भने ५३ जनामा डेंगुको संक्रमण फेला परेको छ। डेंगुका बिरामी सबैभन्दा बढी कैलालीमा देखिएका छन्। कैलालीमा २५जना, बैतडीमा दुईजना, डोटीमा दुईजना, कञ्चनपुरमा नौ जना, बझाङमा एकजना र दार्चुलामा नौजनामा डेंगु देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशका बाजुराबाहेक सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। सामाजिक विकास मत्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेशका डंगु नियन्त्रणमा लागि थुप्रै काम भइरहेको बताए। ‘मन्त्रालयको स्वास्थ्य शाखाले जनचेतना मूलक थुप्रै काम गरिरहेको छ’ उनले भने ‘यसै कारणले रोगको नियन्त्रण भइरहेको छ।’

डेंगुबाट दिपायल सिलगढी नगरपालिका-६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको मृत्यु भएको थियो।

के हो डेंगु ?

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ। यसले स-साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ। खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ।

औलो उत्पन्न गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ। डेग रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तीन प्रकारका छन्। क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफैँ निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेग साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ।

यस्ता देखिन्छन् लक्षण

डेग ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ। ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने,शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखा पर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ।

यसबाट यसरी बच्न सकिन्छ

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ। पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूल दान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने,पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ।

 कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।

सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटा केटीलार्य जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ। लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ। घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.