|

म्याग्दी : दुईवटा खाँबा, त्यसमा डाँडाभाटा र बलाको भर। टिनको छानो। त्यही छाप्रोमा छ सानो आरन। हर्कबहादुर विश्वकर्माले त्यही आरनमा बसेर ट्याकट्याक टुकटुक गर्न थालेको वर्षौं बतिसक्यो। अझै कति वर्ष बित्ने हो त्यो समयकै गर्भमा छ। बेनी नगरपालिका–५, डडुवाका विश्वकर्मालाई आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन। भोक, तिर्खा पनि लाग्दैन।

आरन पेशा हर्कबहादुरका बाजेबाबुले गर्दै आएको पुर्ख्यौली पेशा हो। त्यसैले उनले सानै उमेरमा बुबासँग फलाम र आरनको काम गर्ने सीप सिके। त्यही सीपलाई उनले पेशा अँगाल्दै आएका छन्। 

उनको आरनमा फलामका विभिन्न प्रकारका सामानहरु बन्छन्। नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ। मानिसका आवश्यक सामान बनाउन खप्पिस छन् हर्कबहादुर। १२ वर्षको उमेरदेखि आरन पेशामा लागेका उनले खुकुरी, बञ्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता सामानहरु बनाउँछन्।

उनले काँचो फलाम किनेर विभिन्न सामानहरु निर्माण गर्दै आएका छन्। विद्युतको सहायताबाट तिनै फलामका सामानहरु चम्काउने गर्छन्। आरन पुरानो भए पनि निकै आकर्षक र धारिलो सामान बनाउने स्थानीइहरु बताउँछन्। विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजाअन्तर्गतको सनही बनाउने सीप पनि छ। 

आरनमा बनेको खुकुरी तीन हजार रुपैयाँदेखि आठ हजार रुपैयाँसम्म मूल्य पर्दछ। यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एक हजार ५०० रुपैयाँको दर तथा थेबेलाई १ हजार २०० रुपैयाँ पर्ने उनले जानकारी दिए। आरनमा फलामबाट निर्मित सामान उदाउने (अर्जाप्ने) काम पनि हुन्छ। 

गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा ३५ हजार रुपैयाँ कमाउँछन्। यसका साथै गाउँका मानिसहरुको हतियार मर्मतलगायतका काम गरेबापत २० हजार रुपैयाँ बराबरको अन्नपात सङ्कलन गर्दछन्। एक दर्जन हँसिया अर्जापे बापत ५०० रुपैयाँ तिर्नुपर्ने रेट रहेको छ।

हर्कबहादुरले आरन पेशाबाट भएको कमाइबाट घरपरिवार चालउँदै आएका छन्। छोरालाई पनि आरनको काम सिकाएका छन्। बाबुछोराको छुट्टाछुट्टै आरन छ। 

उमेरले ५० औं वसन्तमा पार गरिसेकेका हर्कबहादुरले फलामको साथै काठको कामसमेत गर्छन्। काठबाट बन्ने हलो, जुवा, डाँडो, लिँड्को र साओ (मोही)जस्ता सामानहरु पनि बताउँछन् 

हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत स्थानका मानिसहरु पुग्छन्। आरनका लागि आवश्यक गोल (कोइला) परम्परागत सिप र प्रविधिबाट सामुदायिक वनजंगलमा पाइने पैँयु, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको बनाइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.