|

इलाम : इलाम सदरमुकाम इलाम बजारमा आजदेखि दुई दिने साहित्य महोत्सव सुरु हुँदैछ। महोत्सवमा साहित्यसँगै मुन्धुम‚ पर्यटन, राजनीति र इलामको चिनारीबारे बहस हुने आयोजकले जनाएको छ।

इलामेली साहित्य र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको इलाम सााहित्य समाजले जनाएको छ। साहित्यकार प्रा.डा सञ्जिव उप्रेतीको ‘आलोचनात्मक चेत र लोकतन्त्र’ विषयक मुख्य सम्भाषणबाट कार्यक्रमको सुरुवात हुनेछ। कविहरु श्रवण मुकारुङ, मोमिला जोशी र मनु मञ्जिलसँग ‘सत्ता कि प्रतिपक्ष’ विषयमा बहस गर्नेछन्। यस सेसनको सहजीकरण कवि विमल वैद्यले गर्नेछन्।

‘अ मा अल्झेको इलाम’ शीर्षकको विषयमा युद्धप्रसाद बैद्य, महेश बस्नेत र विष्णु निष्ठुरीले छलफल गर्नेछन्। यसमा केदार शर्माको सहजीकरण हुनेछ। साहित्यकार राजन मुकारुङ, मिश्र वैजयन्ती र उज्ज्वल प्रसाईले ‘मानकमाथि प्रश्न’ विषयमा छलफल गर्नेछन्। यसमा महेश पौडेलले सहजीकरण गर्नेछन्। 

‘अधिकारको पेवा’ विषयमा समीरबाबु कट्टेलको सहजीकरणमा जेबी विश्वकर्मा, सीमा आभाष र कृष्ण धरावासीले वहस गर्नेछन्। भूपिन, प्रकाश बुढाथोकी र बीना थिङले ‘किन बिक्न छाड्यो?’ विषयमा सहजीकरण बालिका थपलियाले गर्नेछिन्।  हरिषचन्द्र राई र केशव द्यौरालीसँग ‘पर्यटनको आयाम’ विषयमा धर्म गौतमले सहजीकरण गर्नेछन्। ६ बजेपछि काव्यिक साँझको आयोजनाले पहिलो दिनको कार्यक्रम सम्पन्न हुनेछ।

महोत्सवको दोस्रो दिन ‘पछिल्ला साहित्यिक आन्दोलनहरु’ विषयमा उन्मुक्त पुस्ता, फरक आयाम र कुकुर कविताका अभियन्ताहरुसँग मुनाराज शेर्माले बहस गर्नेछन्। ‘करोड क्लब र अफवाह’ शीर्षकमा कलाकार दयाहाङ राई, यज्ञश र ब्रजेशसँगको छलफलमा अन्वेश थुलुङले सहजीकरण गर्नेछन्। 

यस्तै, भूपाल राई र धमेन्द्रविक्रम नेम्बाङसँग हाङयुग अज्ञातले ‘नेपाली साहित्यमा मुन्धुम÷मुन्दुम’ शीर्षकमा समेत वहस गर्नेछन्। ‘गीतको दुःख’ शीर्षकमा गणेश रसिक, कोमल निरौला र गुरुङ सुसान्तसँगको छलफलमा युविर चेम्जोङले सहजीकरण गर्नेछन्। 

‘सिनेमा र सन्देश’ शीर्षकमा प्रकाश आङदेम्बे, दिनेश डिसी र स्वस्तिमा खड्कासँगको छलफलमा सुरेन्द्र राई सहजीकरणका रुपमा रहनेछन्। विश्वप्रकाश शर्मा र योगेश भट्टराईसँग ‘गणतन्त्र कसबाट खतरामा?’ शीर्षकको वहसमा वसन्त बस्नेतले सहजीकरण गर्नेछन्। राजनीतिज्ञ प्रदिप गिरिले साहित्य र राजनीतिको विषयमा आफ्नो विचार प्रस्तुत गरेपछि कार्यक्रम समापन हुनेछ। इलाम साहित्य समाजको आयोजना भएको महोत्सव इलामको गौतम बुद्ध सभागृहमा चल्नेछ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.