संविधानका आधारमा जनताले अनुभूति गर्ने खालका काम गर्दछौँ

|

विराटनगर : नेपाली जनताको अभिमत लिएर निर्वाचित भएका जनप्रतिनिधहरूबाट संविधान जारी भएको चार वर्ष पूरा भएको छ। संविधान कार्यान्वयनकै प्रक्रियामा चौथो संविधान दिवस मनाउने तयारी भइरहेको छ। यो पटक तीन तहकै सरकारले संविधान दिवस भब्य रूपमा मनाउने बताउँदै आएका छन्। संविधान जारी भएको चौथो वर्ष पूरा हुँदैगर्दा यसको कार्यान्वयनको अवस्था र सरकारका काम कारबाहीबारे प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीसँग गरिएको कुराकानीः

संविधान जारी भएको चार वर्ष हुँदैछ। कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ?

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो। संविधान जारी भएको  पृष्ठभूमि हामी सबैलाई जानकारी छ। संविधान जारी भएपछि कार्यन्वयनको प्रक्रिया तत्काल सुरु भयो। संविधान जारी भएकोपछि यसले व्यवस्था गरेको नयाँ संरचनाहरू विस्तार भइरहेको छ। संघ, प्रदेश र स्थानीय तहको निर्वाचन पनि सम्पन्न भइसकेको छ। आवश्यक कानूनहरू निर्माण भएका छन्। यो संविधान कार्यान्वयनको महत्वपूर्ण फड्को हो। तीन तहका सरकारले राजनैतिक, प्रशासनिक र अन्य कामहरू अगाडि बढाएका छन्। विकासका कामहरूले विस्तारै गति लिँदैछन्। कतिपयले संविधानको कार्यान्वयनमा ढिलो भएको भन्दै आएका छन्। तर, अन्तराष्ट्रिय अनुभबका आधारमा हेर्दा पनि त्यो अवस्था हैन। नेपालमा संविधानसभाले बनाएको संविधान कार्यान्वयनको पक्ष बलियो र तीव्र गतिमा भइरहेको मेरो बुझाई छ।

संविधानको महत्पूर्ण पक्ष भनेको हामीले अबलम्बन गर्ने शासन प्रणाली हो। यसको कार्यान्वयनको पक्ष कस्तो छ?

यो संविधानको मुल विशेषता भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो। यो यसको मुल पक्ष हो। नेपालको सन्दर्भमा संघीयता संविधानको मुल मर्म पनि हो । यसको कार्यान्वयन पक्ष कमजोर भयो र ढिलाई भयो भन्ने टिकाटिप्पणीहरू पक्कै पनि छन्। तर, सत्य के हो भने एउटा एकात्मक शासन व्यवस्थाको अभ्यास भएको मुलुकमा संघीयता कार्यान्वयन पक्ष निक्कै जटिल रहेको छ। अहिले पनि संघीयता कार्यान्वयनको जटिलता पूरानो एकात्मक शासनको चिन्तनले समस्या भएको छ। पूरानो व्यवस्थाबाट गाइडेड भएका केही राजनीतिक नेताहरू, निजामति क्षेत्र, पुलिस, सेना, अदालतलगायतका संरचना हामीसँग छन्। उनीहरू हिजो एकात्मक शासन व्यवस्थाबाट सञ्चालित थिए। उनीहरूले संघीयतामा जाने भनेको औपचारिक कानूनी कुरा मात्र हो भन्ने सोच्ने गरेका छन्। यो अहिले पनि भइरहेको छ, यसलाई तोड्न पूर्ण रूपमा सकिएको छैन। यो चिन्तनलाई तोड्ने काम राजनीतिक नेतृत्वले गर्नुपर्छ। त्यो प्रयास पनि भइरहेको छ। निजामति क्षेत्रमा रहेको त्यो बुझाईलाई हटाउनुपर्छ। यद्यपी तीनवटै सरकारमा एउटै राजनीतिक दलको नेतृत्व भएकोले केही सहज पनि भएको छ। संघीयताको मुल मर्मबारे सबै स्पष्ट हुँदै गएपछि यसको कार्यान्वययनले थप गति लिन्छ भन्नेमा म विश्वस्त छु।

एकातिर संघीयता कार्यान्वयनमा जटिलता अर्कोतिर जनताको अपेक्षा अनुसार सरकारले काम गर्नु नसकेको जनगुनासोबारे के भन्नुहुन्छ?

हो, मैलै पनि सरकारको मन्त्रीको हैसियतमा पनि यो गुनासो सुनेको छु। अहिले तीन तहकै सरकारले गरेको काम कारवाहीको विषयलाई लिएर जनताले चित्त नुबुझाएको र आलोचलना गरेको अवस्था छ। जनतामा केही असन्तुष्टि पक्कै पनि देखिएको छ। तर, यो २ वर्षको अन्तारलमा सरकारबाट जे जति काम र गतिविधिहरू भएका छन्, त्यो सकारत्मक छ। संविधान कार्यान्वयन, कानून निर्माण, विकास निर्माणको जग बसाउने कुरा र अन्य व्यवस्थापनको पहलकदमी सरकारले लिएको छ। तर, जनताले तत्काल देखिने र अनुभूत गर्ने कामहरू खोजेका छन्। जुन आउने क्रममा छ। जनताले दीर्घकालिन महत्वको कामबारे स्पष्ट हुन नसकेकोले पनि यस्तो भएको छ। सरकारबाट भएका ऐतिहासिक महत्वका कामहरू देखिनेगरी बाहिर आएपछि जनताले चित्त बुझाउँछन् र सरकारप्रतिको असन्तुष्टि पनि हटेर जान्छ। यसबीच तीनै तहका सरकारले थुप्रै कामहरू गरेका छन्। सरकारले गरेको काम बाहिर आएपछि जनताले राम्रो काम गरेको देख्नेछन्। यद्यपी हामी राजनैतिक नेतृत्व र तीनै तहका निर्वाचित जनप्रतिनिधिहरूले जनताले उठाइरहेको केही प्रश्न र आलोचनाहरू ग्रहण गर्नुपर्छ। आफ्नो कामको समिक्षा गर्दै हामीले थप सुधार गर्दै अगाडि बढ्नुपर्दछ।

संविधान दिवस मनाइरहँदा परम्परागत तरिका किन? संविधान कार्यान्वयनको समिक्षा र आगामी दिनमा गर्ने कामको प्रतिबद्धता गरेर दिवस मनाउन सकिन्न?

कतिपय कार्यक्रमहरू हिजोको दिनहरूमा भइरहे जस्तै त्यसलाई निरन्तरता दिँदै आएको अवस्था छ। यो कुरा सहि हो। चाहेर पनि हामीले एकै पटक सबै कामहरू नयाँ गर्न सकिरहेका छैनौं। हो, हामीले यो दिन संविधान कार्यान्वयन र जनताको पक्षमा कति काम गर्‍यौं भन्ने सार्वजनिक गर्ने र आगामी दिनमा हामीले गर्ने महत्वपूर्ण कामको योजनासहितको प्रतिवद्धता व्यक्त गनुर्पर्छ। संविधान दिवस त्यसो गर्ने महत्वपूर्ण अवसर पनि हो। यसमा हामीले आगामी दिनमा थप काम गर्नेछौं।

यद्यपी प्रदेश सरकारले यस पटकको संविधान दिवसमा केही नयाँ कामको सुरूवात पनि गर्दैछ। जस्तो विशिष्ट क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्ने प्रदेश सरकारको योजना छ। त्यो यस वर्ष पूरा हुन्छ। यस अगाडि यस्तो कामको सुरुवात भएको थिएन्। यो वर्ष नयाँ कामको सुरुवात भएको छ। विगतका दिनहरू यस्तो काम भएको थिएन। दोस्रो भनेको विभिन्न सामुदायहरूको जातीय साँस्कृतिक विविधताहरूलाई एक ठाउँमा ल्याएर त्यसको प्रर्दशन गर्ने र  त्यसलाई उच्च सम्मान गर्ने कामको थालानी प्रदेश सरकारले गरेको छ। अर्को नयाँ पुस्तालाई संविधान दिवसको गरिमा र महत्व बुझाउँदै उनीहरूलाई पनि यस्तो कार्यक्रममा सहभागी गराउँदै अगाडि बढाउँदैछौं। युवापुस्तालाई संविधानको महत्व र यसको गरिमा बुझाउने हामीले पहल प्रयत्न गरेका छौं। अहिले हामीले जे कार्यक्रमहरू राखेका छौं, त्यो गतवर्षका भन्दा राम्रो कार्यक्रमहरू छन्। अर्को वर्ष यो सालमा गरेको भन्दो राम्रो र रचनात्मक कार्यक्रम राख्दै अझ थप राम्रो कार्यक्रम गर्ने योजना बनाउँछौं। यसरी काम गर्दै अगाडि बढेपछि नयाँ कामको थालानी र सुरूवात हुने हो। 

संविधान दिवस मनारहँदा सरकारमै रहेका दलहरू यसको विरोधमा रहेको विषयलाई कसरी लिनुभएको छ?

यो कुरा सहि हो। सरकारमा बस्ने, संविधानप्रतिको निरपेक्षता बेठिक हो। अर्को दोस्रो कुरा विरोध गर्ने त महाबेठिक हो। यद्यपी हामीले के बुझ्न जरुरी छ भने हिजो संविधान बन्दाको परिवेशमा नै मधेशमा रहेका केही मधेशी दलहरू यसको विपक्षीमा उभिएका थिए। संविधानलाई नमान्ने, कालो दिवसको रूपमा मनाउने र देशकै विखन्डनको पक्षमा उभिएका दल पनि क्रमशः राष्ट्रिय एकताको मुल धारमा आएका छन्। सिके राउतहरू मुल प्रबाहमा आएका छन्। यो पाटोलाई पनि हामीले बुझ्नु  पर्दछ। यसमा पनि निक्कै सुधार भएको छ। हिजो कालो दिवसको रूपमा मनाउने मान्छेहरू, अहिले असहमति छ मात्र भन्दै आएका छन्। यसलाई पनि हामीले धेरै सकात्मक रूपमा पनि लिनुपर्दछ। संविधानको स्वीकार्यता बढ्दै गएको छ।

संविधान र व्यवस्थाकै विरोधमा चलखेल तथा गतिबिधि भइरहेको चर्चालाई कसरी लिनुभएको छ?

राजतन्त्रको पक्षधर ज्ञानेन्द्र शाहीहरूको अराजक गतिबिधि, मन्त्रीमाथिको आक्रमणको प्रयास जस्ता कतिपय घटना भएका छन्। यसद्यी उनीहरूको गतिबिधिबाट आत्तीनुपर्ने अवस्था हैन। जनताको ठूलो शक्ति परिचालिन भएर यो परिवर्तन आएको हो र संविधान जारी भएको हो। त्यसैले यस्ता सिमित हर्कतले समस्या पर्दैन। यद्यपी सरकारले आफ्नो कामलाई प्रभाबकारी रूपमा अगाडि बढाउन सक्नुपर्छ। सरकारले जनताको पक्षमा उनीहरूको मन जित्नेगरी काम गरेपछि यस्ता प्रबृत्ति आफैं हराएर जान्छन्। गैरकानूनी काम गर्नेलाई सरकारले कानूनको दायरामा ल्याउँछ, ल्याउनुपर्छ।

नेकपा नेतृत्वको दुईतिहाइको सरकार बनेको दुई वर्ष पूरा हुँदैछ। थप तीन वर्षे तपाईहरूको कार्यकालमा कस्तो प्रदेश बन्ने परिकल्पना गर्नुभएको छ ?

हामीले सरकारको नेतृत्व गरेको दुई वर्ष पूरा हुँदैछ। महिनाको हिसाबले २ वर्ष पूरा नभएको भएपनि हामीले दुई वटा आर्थिक वर्षको समापन गरेका छौं। यस अवधिमा प्रदेश सरकारले मुख्य प्राथामिकता तय गरेर कामहरू अगाडि बढाएको छ। आवधिक योजनाहरू तयार गरेका छौं। जनताले दिएको अभिमतले निर्वाचित गरेको जनप्रतिनिधिहरूले बनाएको संविधानले दिएको अधिकारको आधारमा नेपाली जनताले अनुभूति गर्ने खालको कामहरू गर्दछौं। अबको तीन वर्षभित्रमा कानूनी व्यवस्था, व्यवस्थापिका संरचना, विकास निर्माण काम र आर्थिक विकासका झलकहरू जनताले बुझ्ने र देख्ने गरि गर्र्नेछौं। हामीले नेतृत्व गरेको पाँच वर्षभित्रमा जनताले बुझने र देख्ने काम गरि मन जित्ने गरि कामहरू अगाडि बढाउँदछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.