|

काठमाडौं :  शिक्षण, गजललेखन र समालोचनाका विधाका सशक्त हस्ताक्षर शैलेन्द्र अधिकारीको नवीनतम कृति निर्वेद सार्वजनिक भएको छ।
युवा जोगीको कथामा आधारमा लेखिएको कृतिलाई शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्‍य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, त्रिभुवन विश्वविद्‍यालयका उपप्राध्यापक सुदीप पोख्रेल, साहित्यकार रूपक अलङकारले सार्वजनिक गरे।

कृतिमा संरचनात्मक र प्रयोगले नयाँपनको खोजी गरिएको छ। आख्यानकार अधिकारीले साना कथाहरुका रुपमा पढ्न सकिने ससाना कथाहरुलाई उनेर उपन्यास बनाएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्ष सचिव प्रा. ‘प्रेक्षित’ले कृतिले नेपाली साहित्यमा पृथक् यात्रा गर्नेमा आफू ढुक्क रहेको धारणा व्यक्त गरे। उनले नेपाली साहित्यको उनन्यन र प्रवर्द्धनमा निर्वेद जस्ता उपन्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

प्रगतिशील विचारधारामा आस्था राख्ने लेखकको कृति र व्यक्तित्वमाथि साहित्यकार अलङ्कारले प्रकाश पारे। कृतिमाथि लक्ष्य गर्दै उनले  उपन्यास  दार्शनिक हिसावले उत्कृष्ट रहेको बताए। 'मान्छेहरूले बिर्सिसकेको कथालाई कलात्मक रूपमा लेखिएको छ। दैनिक जीवन र लोकव्यवहारलाई पनि कृतिमा उत्कृष्ट तरिकाले प्रस्तुत भएको छ', साहित्यकार अलङ्कारले भने, 'प्रगतिशील विचार धारा आस्था राख्ने लेखकले आस्थिक रूपमा  पूर्वजन्म र परोजन्मको विषय उठान गर्नु आफैँमा सुन्दर विषय हो।'

दर्शनका खातलाई उपन्यासमा राख्दैमा उपन्यास राम्रो नहुने कुरालाई लेखकले बडो सुन्दर तरिकाले विचार गरेर कृति लेखेको पनि उनले बताए।

उपप्राध्यापक पोख्रेलले  कृतिमा एउटा युवकले आफ्नो बाल्यकाल वा भूतकालमा  आफूले भोगेका अनुभवहरू सम्झेर वैराग्यता महसुस गरेका प्रसंग सुन्दर रहेको बताए। कृतिमा प्रेमको उत्कर्ष र त्यसको स्वरूप प्रस्तुत भएको छ। उसले आफूले भोगिआएको जीवनबाट साधुको जीवनमा स्थानान्तरण गरेको आध्यात्मिक बाटोबाट पुन आफ्नो साधारण जीवनको बाटोमा फर्केको यात्रा रोचक रहेको बताए। रोचक कुरा उपन्यासको मुख्य पात्रले आत्महत्या गरेकोले  कृतिमा वैराग्यपनाभन्दा पनि जीवनको विसंगतिको विषय उल्लेख रहेको बताए।

'हर्मन हेस्सेले सिद्धार्थमा बुद्ध दर्शनलाई पृथक् तरिकाले हेर्ने दृष्टिकोण राखेका छन्। निर्वेदका लेखकले पूर्वीय दर्शनको आडमा पश्चिमा विसंगतिवाद दर्शनलाई एकै ठाउँमा मिसाएर उपन्यास लेखेका छन्। यो विराट् विषयलाई रोचक ढङ्गले उपन्यासमा प्रस्तुत गरिएको छ', उनले भने।

उपन्यासका बारेमा बोल्दै लेखक शैलेन्द्रले आफूले बोल्ने समय सकिएको धारणा व्यक्त गरे। उनले आफूले उठाएको विषयवस्तु नवीन र फरक रहेको दाबीसमेत गरे। 'मैले उठाएको विषय अरू कसैले नलेखेको भएकोले जोखिम उठाएको धारणा व्यक्त गरे।

पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.