मेयरले भाइलाई ठेक्का दिए, उपमेयर रिसाइन्

|

विराटनगर : संघीय सरकारले गत आर्थिक वर्षदेखि ‘तराई-मधेस समृद्धि कार्यक्रम’ मार्फत विभिन्न योजना कार्यान्वयनमा लग्यो। तर, कार्यक्रमको उद्देश्य विपरीत मोरङ रतुवामाई नगरपालिकामा बजेट खर्च गरेको पाइएको छ।

रतुवामाई ४ झुर्किया बजारमा कृषि बजार संकलन केन्द्रका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत गत पुस १० गते करिब १ करोड रुपैयाँ विनियोजन भयो। तर, ‘तराई-मधेस समृद्धि कार्यक्रम’ मार्फत कृषि बजार संकलन केन्द्रका लागि पठाएको बजेटमा चरम अनियमितता र मनपरी भएको पाइएको छ।

केन्द्र सरकारले पठाएको उक्त बजेटबाट कृषि बजार संकलन केन्द्र स्थापना गर्न नसकिने भन्दै नगरपालिकाले भने ७ कोठे शौचालय र ५५९.५ मिटर वाल (नाला) निर्माण गर्ने निर्णय गरेर चैत्र ११ गते बोलपत्र आह्वान गर्‍यो। १४ वटा कम्पनीहरूले निवेदन खरिद गरी लगेकोमा वैशाख ११ गतेसम्मको म्यादमा ३ वटा कम्पनीले निवेदन दर्ता गरे। दर्ता गर्नेमा यलम्बर न्यु कन्स्ट्रक्सन प्रा.लि.रंगेली ४, पावरदेन निर्माण सेवा रतुवामाई ५ र जमुना कन्स्ट्रक्सन सोराभाग थिए। छनौट सिफारिसका आधारमा यलम्बर न्यु कन्स्ट्रक्सने शौचालय, नाला निर्माण, सेप्टी ट्यांक, सोकापेट, सेनेटरी, इलेक्ट्रिकलगायत गरी भ्याट बाहेक ९४ लाख ५१ हजारमा ठेक्का पायो।

ठेक्का सम्झौता अनुसार २०७६ जेठ १ गते देखिकाम सुरु भएर असार २५ सम्ममा काम सक्नुपर्ने थियो। तर, तराई-मधेस समृद्ध कार्यक्रममार्फत बनाउन लागिएको शौचालय निर्माणको काम पनि समयमा सकिएन। काम नसकिएपछि नगरपालिकाले उक्त योजनालाई कर्मागत योजनामा लाने भन्दै मंसिरसम्मको समयावधि थप गरेर निर्माण कम्पनीलाई कामै नसकी ७१ लाख ८३ हजार ८२२ रुपैयाँ भुक्तानी दिएको खुलासा भयो। निर्माण कम्पनीलाई दिएको बाहिर सार्वजनिक भयो। त्यसपछि त्यहाँ राजनीतिक बेमेल र स्थानीयबीच विवाद सिर्जना भएको छ।

मेयरका भाइलाई ठेक्का!

कृषि बजारका लागि कृषि संकलन केन्द्र निर्माण शीर्षकमा प्राप्त रकमबाट झुर्कियामा योजना निर्माण गर्ने नगरपालिकाले निर्णय गर्‍यो। केन्द्र सरकारले दिएको सशर्त अनुदानको रकमबाट योजना परिवर्तन गर्न पाइँदैन। तर, योजनाको ठेक्का सम्झौता गर्ने समयमा सार्वजनिक शौचालय तथा सडक ढल निर्माण गर्न भनी योजना परिवर्तन गरियो। ‘मेयर रविन राईले परिवर्तित योजना आफ्नै भाइ रोमन राईलाई ठेक्कामा लगाए, ठेक्काको काम आर्थिक वर्षको अन्त्यतिर गरियो। नियमानुसार निर्माण स्थलमा सूचना पार्टी पनि राखियो तर, सूचना भने छल छाम गरियो,’ उपमेयर चुँडालले भनिन्, ‘अनुदान दिने निकाय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नाम नै उडाइयो। त्यसको ठाउँमा रतुवामाई नगरपालिका राखियो। आयोजनाको नाम सही लेखिएको भएपनि निर्माण भने शौचालय र ढल बनाउन लेखियो।’

उपमेयर चुँडालका अनुसार अहिलेसम्म सो आयोजनाको विषयमा अनुगमन भएको छैन। अनुगमन समितिले कुनै प्रतिवेदन दिएको छैन, समितिको बैठक पनि बसेको छैन, तर ७५ प्रतिशत रकम भुक्तानी भइसकेको छ। ‘स्थानीय सरकार संचालन ऐन २०७४ ले उपमेयरलाई अनुगमन संयोजकको जिम्मेवारी दिएको छ,’ उपमेयर चुँडालले भनिन्, ‘तर, यो आयोजना निर्माण भएदेखि अहिलेसम्म अनुगमनको रिपोर्ट नदिई, अनुगमन नभई मेयरले एकलौटी ढंगले रकम कसरी निकासा गर्नुभयो भन्ने गम्भीर प्रश्न उठेको छ।’

निर्माण कार्यमा चरम लापरबाही भएको र काम गुणस्तरहीन देखिएको उपमेयरकै दाबी छ। यसको विषयमा नगरप्रमुख र सरोकारवालालाई जानकारी गराउँदा पनि नगरप्रमुखबाट कुनै सुनुवाइ नभएको उनको दाबी छ। ‘मेयरको व्यक्तिगत महत्त्वाकाङ्क्षा र फाइदामुखी तौरतरिकाले गर्दा ठुला आयोजनाहरू विवादित, अलपत्र तथा गुणस्तरहीन हुने गरेको छ,’ उपमेयर चुँडालको भनाइ छ, ‘त्यसैको नमुना झुर्कियाको सार्वजनिक शौचालय निर्माण हो।’

टहरा बनाउन उपयुक्त देखिएन : प्रमुख

रतुवामाई नगरपालिकाका मेयरले कृषि संकलन केन्द्र बनाउने भनिएको भएपनि टहरा बनाउन यो पैसा उपर्युक्त नहुने भएको शौचालय निर्माण गरेको दाबी गरे। ‘यसको संरचना विस्तृत प्राविधिक प्रतिवेदनको आधारमा बनाउनु पर्छ भनेर एउटा स्टेज बनाउने, टहरा बनाउने र बीच बजारमा भ्यु टावर बनाउने जहाँबाट वरिपरिको दृश्य देखिन सकियोस् भनेर सबै स्थानीय बजारवासीसँग सल्लाह गरेर, डिपिआर गर्नेका लागि पनि अनुरोध गरेअनुसार ६ करोड  ४७ लाख ७३ हजार ९६१ रुपैयाँको डिपिआर तयार भएको हो,’ मेयर राईले भने, ‘तर, हामीसँग जम्मा १ करोड रुपैयाँ भएको कारण पहिलो चरणमा गर्नुपर्ने नालाकै काम भएको कारण त्यही बनाएको हो। माथिबाट आएको पैसा असार मसान्तसम्ममा फ्रिज हुने भएको कारणले केही काम छिटो गर्दा निर्माणको क्रममा स्ल्याब टुट्न गएको हो। अनुगमन समितिले कुरा उठाएपछि नगरपालिकाले २०७६ भदौ २ गते च.नं. १६८ को पत्र काटी सम्बन्धित ठेकेदारलाई गुणस्तरमा भएको कमजोरी सच्याउन सचेत गराइएको छ।’

यो बाहेक नगरपालिकाले संचालन गरिरहेको १३ वटा आयोजनालाई ०७५-०७६ को असार मसान्तसम्ममा योजना सम्पन्न हुन नसकेको कारण मंसिर मसान्तसम्मको समयावधि थप गरिएको राईको भनाइ छ। चालू योजनामा कुनै गुणस्तरमा तलमाथि भयो भने ठेकेदारले सच्याउने र योजना सम्पन्न भइसकेपछि पनि ६ महिनासम्म मेन्टिनेन्स गर्ने उनले बताए।

वडाध्यक्षको मेयरउपमेयरमाथि नै प्रश्न

रतुवामाई नगरपालिका २ र ८ का वडाध्यक्षहरूले पनि काम नसकिई प्रक्रिया नपुगी रकम निकासा हुनुमा भ्रष्टाचार भएको हुनसक्ने भन्दै छानबिनको माग गरेका छन्। ‘ड्रेन माथि गाडी चढ्दा भाँचिएको छ, शौचालयको सेप्टी ट्यांकी हातले इँटा हल्लाउँदा हल्लिने अवस्था छ। कमजोरी भएको छ। तर, उपमेयरको संलग्नता बिना कसरी बजेट निकासा भयो,’ ८ नम्बरका वडाध्यक्ष नन्दकुमार चापागाईंले भने, ‘उपमेयरले कुनै पनि प्रतिवेदन नदिईकन ७१ लाख ८२ हजार रुपैयाँ कसरी निकासा भयो? हामी रतुवामाईका जनप्रतिनिधि बेखबर छौँ। यहाँभित्र भएको चरम आर्थिक बेथिति बाहिर ल्याउन हामी आग्रह गर्दछौँ।’

रतुवामाई २ झुर्कियाका वडाध्यक्ष देवराज राजवंशीले भने काम सच्याएर अगाडि बढ्नुपर्ने बताए। ‘काम सच्याएर अगाडि बढ्नुपर्छ। काम सन्तोषजनक भएको छैन। काममा कमजोरी छ। कर्मागत काम भइरहेको छ। ठेकेदारले काम गलत गरेको भए भत्काएर भएपनि अगाडि बढ्नुपर्छ भनेर आफू अगाडि बढ्न खोजेको हो,’ राजवंशीले भने, ‘अनुगमनको जिम्मेवारी लिएपछि यसको भुक्तानी कसरी भयो? के ठेकेदारको मिलेमतो भयो? अनुगमनमा उपमेयर पनि आउनु भएको थियो। बिल कसरी फर्छ्यौट भयो त के ठेकेदारसँग मिलेमतो भयो कि? कि तितो मिठो के भयो? म पनि उपमेयरसँग असन्तुष्ट छु। कानुनी राज्यमा सबैले कानुनी हिसाबले अगाडि बढ्नुपर्छ। जनताको प्रतिनिधिले सिस्टममा लानै पर्छ भन्ने मेरो धारणा हो।’

स्थानीय आक्रोशित

अनुगमन समितिको संयोजक बेखबर। जनप्रतिनिधि बेखबर। सर्वसाधारण त झनै बेखबर। यो अवस्थामा कसले पाउने खबर? सर्वसाधारण पनि यो विषयमा विभाजित छन्। नेकपा निकट उपमेयर भएको कारण नेकपाका स्थानीय कार्यकर्ता उपमेयरको पक्षमा बोल्छन्। मेयरका निकटहरू जिब्रो चपाएर बोल्छन्। तर, अनुगमन किन भएन, किन गरिएन, गुणस्तरहीन काम कसरी सच्चिन्छ? यो प्रश्न भने सबैको साझा छ।

‘भ्रष्टाचार भएको छैन भनेर कसैले भन्छ र? उपमेयरलाई छल्न खोजेर मेयर अघि बढ्न खोजेको देखियो,’ स्थानीय विश्वनाथ रायको भनाइ छ। ‘सबैले सहमति नगर्दा बिग्रिएको हो। बनाइरहेको छ, खराबी कहाँ छ? उपमेयर आफैँ संयोजक, काम भइरहँदा उपमेयर आफू अनुगमन गर्न कहिल्यै आउनु भएन,’ स्थानीय दिलीप सिंहको भनाइ छ, ‘आज किन एक्कासि पत्रकार सम्मेलन भयो? झुर्कियामा विकास हुन नदिनका लागि यो सब भइरहेको छ।’ स्थानीय हरिप्रसाद साहले विकास निर्माणमा चरम अनियमितता भएको दाबी गरे। ‘ढलनालाको उचाई सडक भन्दा झन्डै ५ फिट भन्दा तल छ। धान खेतभन्दा नाला झन्डै होचो छ। स्ल्याब गुणस्तरहीन छ,’ उनको भनाइ छ, ‘मैले आजसम्म यस्तो नाला निर्माण भएको देखेको थिइनँ। सडकको लागि नाला बनाएको हो कि धान खेतका लागि हो हामी छक्क परिराखेका छौँ।’

स्थानीय पुष्प कार्कीका अनुसार आफ्नै भाइलाई आफ्नै अनुकूलतामा डिपिआर बनाएर ठेक्कामा लगाउँदा यस्तो अवस्था आएको हो। रतुवामाईको विकास एकातिर बनाउँदै जाने अर्कोतिर भत्कँदै जाने अवस्था छ। ‘ड्रेनको प्लेट ५ इन्चको हुनुपर्नेमा ८ इन्चको राखिएको छ र छठको दुरी ६ इन्चको हुनुपर्नेमा १० इन्चको राखिएको छ,’ स्थानीय सुरजकुमार श्रेष्ठले भने। स्थानीय मो. साकिर आलमका अनुसार त्यहाँको विकासमा बढी राजनीति भयो। ‘२ लाखको योजनामा पटक पटक अनुगमन हुने तर, करोडको योजनामा अनुगमन किन भएन?’, आलमले प्रश्न गरे, ‘अनुगमन गरेर रिपोर्ट दिएर फरफारख भएको हो भने यो भ्रष्टाचार हो।’ स्थानीय कुमार पौडेलले भने कांग्रेस र नेकपाको दुई थरीको सेटिङ नमिलेपछि विवाद निकालिएको दाबी गरे।

पत्रकार सम्मेलनस्थलमै मेयर राई र उपमेयर चुँडालको पक्ष विपक्षमा सर्वसाधारण आक्रामक ढंगले उत्रिए। तराई मधेसको समृद्धिका ल्याइएको योजना नै रतुवामाई नगरपालिकामा मेयर र उपमेयरको झगडाको बिउ बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.