फिचर

चितवनमा केरा : तीन हजार बिघामा खेती, करोडौं रुपैयाँ आम्दानी
SHARES

सात हजारभन्दा बढीलाई रोजगार

असोज ५, २०७६

    चितवन : करिब २५ वर्षअघि चितवनमा केरा करेसाबारीमा मात्रै सीमित थियो। । घरमा आफै खानका लागि मात्रै रोपिने एक दुई बोट केरा व्यावसायिक रुपमा खेती गरेसँगै हजारौँ बिघामा फैलिएको छ। हजारौं मेट्रिकटनमा उत्पादन हुन थालेको छ। केराबाट नै अर्बौं रुपैयाँ आम्दानी हुने गरेको छ। 

    पहिलो केरा खेतीलाई वास्ता नगर्ने सयौँ किसानहरु अहिले त्यही खेतीमा आवद्ध छन्। २५ वर्षको अवधिमा केरा व्यवसायमा करोडौँ रुपैयाँ लगानी भएको छ। आम्दानी पनि त्यही रुपमा भएको छ। आम्दानी राम्रो हुने भएपछि हरेक वर्ष केरा व्यवसायतर्फ नयाँ किसानहरु थपिने क्रम जारी रहेको छ। यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हजारौँले रोजगारी पनि पाएका छन्।

    केरा व्यवसायको सुरुवात र बिस्तार  

    चितवनमा २०५१ सालदेखि व्यावसायिक रुपमा केरा खेती सुरु भएको हो। यसपछि बर्सेनि किसानको संख्या बढ्दै गयो। किसानको संख्या बढ्दै गएपछि २०६२ सालमा पूर्वी चितवन केरा व्यवसायी समिति नामको संस्था स्थापना भयो। उक्त समितिले पूर्वी चितवनका केरा व्यवसायीलाई मात्रै समेटेको थियो । हरेक वर्ष केरा खेती  गर्ने किसान बढ्दै गएपछि पूर्वी चितवन, पश्चिम चितवन हुँदै जिल्लाभर बिस्तार भयो। 

    त्यसपछि जिल्लाका सबै केरा खेती गर्ने किसानलाई समेट्ने गरी २०७१ सालमा चितवन केरा उत्पादक संघ गठन भयो। सोही वर्ष जिल्ला प्रशासन कार्यालयमा संघ दर्ता भयो।

    एक वर्षमै ५३ हजार मेट्रिकटन उत्पादन, १ अर्ब ३५ करोडको कारोबार

    चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार आर्थिक वर्ष २०७५/ ७६ मा चितवनमा ५३ हजार मेट्रिकटन केरा उत्पादन भएको छ। जसबाट करिब एक अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ । किसानले सबै खर्च कटाएर ३० करोड रुपैयाँ बचत गर्न सफल भएको अनुमान छ। 

    चितवनमा तीन हजार बिघामा व्यावसायिक केरा खेती हुँदै आएको छ। ७०० किसान केरा खेतीम आवद्ध छन्। आव २०७४/७५ मा २ हजार ७०० बिघामा केरा खेती भएको थियो । त्यतिबेला ६५० किसान आवद्ध थिए । उक्त आर्थिक वर्ष १ अर्ब १५ करोड रुपैयाँ कारोवार भएकामा किसानले २८ करोड रुपैयाँ बचत गरेका थिए । किसानको बगानमै केरा प्रतिकोसा न्युनतम डेढ रुपैयाँदेखि अधिकतम ६ रुपैयाँसम्म बिक्री गर्दछन्।

    हरेक वर्ष बढ्दै

    पूर्वी चितवनबाट सुरु भएको केरा खेती जिल्लाभर फैलिँदै छ । अहिले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपलिका लगायतका जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केरा खेती हुँदै आएकोछ । 

    सबैभन्दा बढी पदमपुरमा ८०० बिघामा केरा खेती लगाइएको छ। यस्तै, रत्ननगरमा ७००, चैनपुरमा ३ ००, जुटपानीमा ३००, ठिमुरामा १०० बिघामा व्यावसायिक केरा खेती भइरहेको केरा उत्पादक संघका अध्यक्ष महतोले जानकारी दिए। 

    चितवनमा मालभोग जातको केरा बढी उत्पादन हुने गरेको छ । तीन हजार बिघामध्ये ५०० बिघामा हरियो केरा र बाँकी क्षेत्रफलमा मालभोग जातको केरा खेती गरिएको छ। मालभोग जातको केराको उत्पादन हुने मुख्य सिजन जेठदेखि भदौ हो। हरियो केरा भने भदौदेखि उत्पादन सुरु हुन्छ।

    नेपालको एक तिहाइभन्दा बढी उत्पादन चितवनमा 

    नेपालमा उत्पादन हुने केराको एक तिहाईभन्दा बढी चितवनमै उत्पादन हुने गरेको छ। नेपालमा कुल मागको ४० प्रतिशत मात्रै केरा उत्पादन हुने गरेको छ। यसबाहेक भारतबाट आयात हुने गर्छ। 

    नेपालमा उत्पादन हुने ४० प्रतिशतमध्ये १५ प्रतिशत भने चितवनमै उत्पादन हुने गरेको अध्यक्ष महतोले बताए। उत्पादन भएको १५ प्रतिशतमध्ये पनि ८ प्रतिशत चितवनमै खपत हुन्छ। बाँकी ७ प्रतिशत मुलुकका अन्य विभिन्न बजारमा जानेगर्छ। चितवनमा उत्पादन हुने केराको मुख्य बजार काठमाडौं हो। यसबाहेक स्थानीय बजार, मकवानपुरको हेटौँडा, पोखरा, बुटवल, बाग्लुङ, बेनी, दाङसम्म लैजाने गर्दछन्। 

    स्थायी बजारको अभाव

    उत्पादित केराको मूल्य राम्रै भए पनि अस्थायी बजार मात्र भएकाले ढुक्क हुने अवस्था छैन । विचौलियाका कारण किसानले उपयुक्त मूल्य पाउन सक्दैनन् । अर्कोतर्फ भारतीय बजारले प्रत्यक्ष प्रभाव पारिरहेको छ । किसानले उत्पादन गरेको केरा बजारको ग्यारेन्टी गर्न सके केरा उत्पादन थप बढ्नसक्ने किसानहरुको भनाइ छ।

    अहिले किसानले उत्पादन गरेका केरा बजारसम्म पु¥याउन केरा उत्पादक संघले पहल गर्ने गरेको छ ।

    सात हजारभन्दा बढीलाई रोजगारी

    चितवनमा केरा खेती गर्दै आएका किसानहरु चितवनका स्थायी बासिन्दा मात्र छैनन्। गोरखा, लमजुङ, तनहुँलगायतका जिल्लाका किसानहरु चितवन आएर जग्गा भाडामा लिएर केरा खेती गरिरहेका छन्। केरा किसानमध्ये १५ प्रतिशत किसान चितवन बाहिरका छन। 

    केरा खेतीबाट चितवनमा करिब सात हजार जनाले रोजगारी पाएको संघका अध्यक्ष महतोले बताए । २२ बिघामा केरा खेती गरिरहेका उनले ३/४ जनालाई नियमित तलब दिएर राखेकाछन्। सिजनमा २०/३० जनासम्मलाई रोजगारी दिने गरेका छन्। 

    गानो बिक्रीबाट आम्दानी

    किसानले केराको फल मात्र नभएर बिउका लागि गानो पनि बिक्री गर्दै आएका छन्। यहाँबाट गोरखा, लमजुङ, तनँहु, काभ्रे, जाजरकोटसम्म गानो लैजाने गरेका छन्। 

    यसवर्ष दुई लाखवटा गानो बिक्री गरिएको छ। गानो प्रतिगोटा २० रुपैयाँमा बिक्री हुन्छ। यस वर्ष गानो बिक्री गरेर ४० लाख रुपैयाँ आम्दानी गरेका छन्। 

    समस्या पनि छ

    केरा खेतीमा किसानको आकर्षण बढ्दै गएपछि पछिल्लो समय जग्गा अभाव हुन थालेको छ। 

    खैरहनी नगरपालिकाको कुमरोजमा ७२ बिघामा केरा खेती गर्दै आएका शंकर सुवेदीले चितवनमा जग्गा अभाव हुँदै गएको बताए। यसका साथै जग्गा धनीले बढी भाडा लिने गर्दा किसानलाई समस्या परेको छ।

    खर्च बढ्दा केराको भाउ पनि महँगिदै गइरहेको छ । यसका साथै शान्ति सुरक्षाको ग्यारेन्टी नहुँदा पनि केरा किसान ढुक्क हुनसकेका छैनन्।

    केरा जोन : समेटिएन सबैलाई

    चितवनमा अघिल्लो वर्षबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केरा जोन कार्यक्रम लागु भएको छ । गत वर्ष १ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

    ‘केरा जोन लागु भएपछि केरा किसान निकै खुसी भएका थिए। खेतीमा कायपलट हुने, फड्को मार्ने आशा गरेका थिए,’ चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले भन, ‘तर त्यसो हुन सकेन । यसवर्ष पौने ३ करोडको कार्यक्रम आएको छ।’

    केरा जोन कार्यक्रम पकेट, ब्लक, जोन र सुपरजोन गरी क्षेत्रफलका आधारमा चारवटा क्षेत्र विभाजन गरिएको छ। १५ बिघा क्षेत्रफललाई पकेट, १०० बिघा क्षेत्रफलमा ब्लक, ५०० बिघा जोन र १००० बिघाभन्दा माथिको क्षेत्रफललाई क्षेत्रफलका आधारमा सुपर जोन कार्यक्रम लागु हुनेगर्छ । तर, केरा जोन पूर्वी चितवनमा मात्रै लागु भएको छ । पश्चिम चितवनलाई समेट्न नसकेको किसानको गुनासो छ । 

उर्गेन तामाङ

तामाङ थाहा खबरका चितवन समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]