|

विराटनगर :  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार र हेरफेरको विषयमा आफूलाई नसोध्न आग्रह गरेका छन्। 

विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मलाई यो मन्त्रिमण्डलबारे नसोध्नुहोस् प्लिज। मलाई यसले हैरान पारेको छ। यो प्रधानमन्त्रीको कुरा हो। प्रधानमन्त्रीले चाहेको बेला हुने हो, उहाँले नचाहँदा हुँदैन।’

उनले केही उच्छृंखल गतिविधिका कारण व्यवस्थामा नै खतरा भने नआएको बताए। ‘व्यवस्था विरोधी गतिविधिलाई हामीले गम्भिर रुपमा लिएका छौं। तत्काल त्यसबाट सिस्टममा नै खतरा आयो भन्ने त लाग्दैन। तर, जुन तरिकाले यो परिवर्तनविरुद्ध विभिन्न खालका अराजक र उच्छृंखल गतिविधि बढेको देखिन थालेको छ। यो विषयलाई हाम्रो पार्टी सरकार र सदनमा भएका सबै राजनीतिक दलले गम्भिर रुपमा लिएका छन्,’ प्रचण्डले भने, ‘त्यसको प्रमाणको रुपमा हेर्ने हो भने सत्ता पक्ष र प्रतिपक्षी सबैको सर्वदलीय बैठकले सचेत रहन अपिल गरिएको छ।’

अध्यक्ष प्रचण्डले त्यसखालका गतिविधि गर्नेविरुद्ध राजनीतिक, वैचारिक र सांस्कृतिक ढंगले बहस गरेर परास्त गर्नुपर्ने बताए। प्रतिवादको अर्थ प्रतिकार नभएको पनि उनले स्पष्टोक्ति थियो। ‘प्रतिवाद भनेको राजनीतिक, वैचारिक, सांस्कृतिक ढंगले बहस गरेर परास्त गर्नुप¥यो भनिएको हो। प्रतिवादको अर्थ प्रतिकार होइन,’ प्रचण्डले भने, ‘भ्रष्टाचारकोविरुद्ध पार्टी आफैं, सरकार आफैं अगाडि बढेको छ। यसका परिणती विस्तारै देखिन थालेको छ।’

सरकारको काम र पार्टीको कामको समीक्षा भइरहेको बताउँदै आउने समयमा कामको परिणाम देखिने पनि बताए। ‘पार्टीलाई एकताबद्ध गर्ने, विकास निर्माणको कामलाई गति दिने, सुशासनका विषयमा समीक्षा गर्ने, उच्छृंखल गतिविधि देखा पर्ने वातावरण कसरी आयो? भन्ने विषयमा समीक्षा गर्ने निर्णय गरेका छौं,’ प्रचण्डले भने।  

सरकारले केही गरेन भन्ने कुरा पनि सत्य नभएको बताउँदै उनले गत वर्ष थुप्रै मौलिक अधिकारसम्बन्धी कानून बनाएको र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार भएको दाबी पनि गरे। ‘सरकारले केही गरेन भन्ने कुरा पनि सत्य होइन। गएको वर्ष थुप्रै मौलिक अधिकारसम्बन्धी कानून बन्यो, अन्तराष्ट्रिय शक्तिहरुसँगको सम्बन्धमा सुधार आयो, पेट्रोलियम पाइप लाइन बन्यो। चीनसँग राम्रो सम्बन्ध र आधार बनेको छ,’ प्रचण्डको दाबी थियो, ‘आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा भएको कुरा अन्तराष्ट्रिय एजेन्सीहरुले पनि भनेका छन्। यो सबैअवस्थाले हामी निराश हुनुपर्ने अवस्था होइन। त्यति हुँदा हुँदै पनि हामी पनि कामबारे सन्तुष्ट छैनौं, हामी लिडरसीपहरु पनि कमजोरी हटाएर काममा गति दिने विषयमा छलफलमा छौं।’

कार्यकारी अध्यक्षको भूमिका कहिले पाउनु हुन्छ भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले पार्टीले जे निर्णय गर्छ, जे सहमति गर्छ त्यही हुन्छ भन्ने जवाफ दिए। ‘पार्टीले जे निर्णय गर्छ, जे सहमति गर्छ त्यही गर्छ। त्यस विषयमा हामी प्रवेश गरेका छैनौं,’ प्रचण्डको भनाइ थियो।

उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काममा खटिरहनु भएकोले स्वास्थ्य सम्बन्धी अनावश्यक प्रचारबाजी सही नभएको पनि बताए। ‘प्रधानमन्त्रीको स्वास्थ्य नर्मल भइसकेको छ। उहाँले नर्मल काम गर्न सुरु गरिसक्नु भएको छ,’ प्रचण्डले भने, ‘उहाँको स्वास्थ्य अप्ठ्यारो भएको छ भन्ने प्रचार सही होइन।’ अध्यक्ष प्रचण्डले इन्डो प्यासिफिकमा जाने भनेर नेपालले कहिल्यै नभनेको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.