|
तस्बीर : सौगात थकाली

पर्वत : जब मानिसहरूको आवतजावत बढ्छ, सवारीसाधनहरू साबिकको भन्दा बढी गुड्न थाल्छन् दसैँ र अन्य चाडबाड आएको अनुभूति हुन्छ। तर पर्वत, बागलुङ, म्याग्दी जिल्लाका बासिन्दालाई दसैँ आयो भनी झल्को दिने काम हिमाली जिल्ला मुस्ताङबाट झारिने भेडा र च्याङग्रा हुन्। श्रोह्र श्राद्ध चलिरहेकै बेलामा मुस्ताङबाट म्याग्दी हुँदै बागलुङ, पर्वत र पर्वत हुँदै कास्कीसम्म च्याङग्रा झार्ने गरिएको छ।

श्रोह्र श्राद्ध चलिरहेको बेलामा मासुको खासै कारोबार नहुने भएका कारण च्याङ्ग्राहरु बेसीसम्म आइपुगेका हुँदैनन्। म्याग्दी, पर्वत र बागलुङ जिल्लामा भेडा च्याङग्रा नआइसकेको भए पनि मुस्ताङबाट च्याङग्रा ओरालो झर्ने क्रम सुरु भइसकेको छ। त्यसैले दसैँको रन्कोले खासै नछुने हिमाली जिल्ला मुस्ताङमा भेडा र च्याङग्राको दृश्यले दसैँ लागेको अनुभूति गराइसकेको छ।

हिन्दु धर्म मान्ने नेपालीहरूका महान् पर्व दसैँ र तिहारमा स्थानीय जातका खसी बोका मात्रै नभएर हिमाली क्षेत्रबाट झारिने भेडा च्याङग्राको मासु पनि अत्यधिक मात्रामा खाने गरिन्छ।

‘अघिपछि गाउँघरका खसी बोका खाएपनि दसैँ र तिहारमा हिमालबाट आउने च्याङग्राको मासु चाख्नै पर्छ भन्ने चल्ती छ, बजारका पिच सड्कहरुमा लहरै भेडा च्याङग्राका ताँती देखिन्छन् बल्ल दसैँ आएको जस्तो लाग्छ।’ जिल्लाको कुस्मा नगरपालिका ५ गाउँपालिका कृष्ण नेपालीले भने, ‘मुस्ताङका भेडा र च्याङग्राले हिमाली जडीबुटी खाने भएकोले तीनै च्याङग्रोका मासु खाँदा मानिसको स्वास्थ्यलाई पनि फाइदा गर्न भनिन्छ।’

मुस्ताङ जिल्लाबाट बाहिरिने भेडा च्याङग्राहरु स्थानीय कृषकहरू कमैले मात्र अन्य जिल्लामा लैजान्छन्। अन्य जिल्लाका खसी बोका व्यवसायीहरू आपैm मुस्ताङका कृषकहरूको घरमा पुगेर खरिद गरेर बेँसी झार्ने भएकोले भेडा च्याङग्रा लखेट्दै हिँड्नेमा मुस्ताङका कृषहरु भने निकै कम हुने गरेका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिका पशु सेवा शाखाका पशु चिकित्सक आइतबहादुर थकालीका अनुसार अहिलेसम्म झन्डै ६ हुल भेडा च्याङग्रा मुस्ताङबाट बाहिरिएका छन्। ‘केहस च्याङग्रा बेनी पुग्ने बेला भएको छ, केहीले लेते काटेका छन्।’ उनले भने, ‘झर्ने क्रम सुरु भइसकेको छ। अब निरन्तर बाहिरीन्छन्।’

खाद्य संस्थानका च्याङग्रा असोज ६ बाट बजारमा

व्यापारीहरूले खरिद गर्ने च्याङग्राहरु बाहिरिने क्रम चलिरहेको भए पनि नेपाल खाद्य संस्थानले खरिद गर्ने भेडा च्याङग्रा भने असोज ६ गतेबाट मात्र बजारमा पठाइने भएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले खाद्य संस्थानले खरिद गरेका भेडा च्याङग्राको स्वास्थ्य परीक्षण अनिवार्य रूपमा गरिएको हुने र पशु चिकित्सकहरूले प्रमाणित गरेको कागजातबिना मुस्ताङबाट बाहिरिन नदिने बताए। ‘प्रशासन, खाद्य संस्थान र प्रहरीको बिचमा बिहीबार मात्र पनि बैठक भएको थियो।’ उनले भने, ‘अन्य व्यापारीहरूको बारेमा के हुन्छ हेरौँ, स्थानीय पालिकाहरूले पनि केही गर्नुहोला। तर खाद्य संस्थानले बजारमा पठाउने हरेक भेडा च्याङग्राको अनिवार्य स्वास्थ्य परीक्षण गरिएको हुन्छ। प्रहरीले चेक पोस्ट नै राखेर यसमा निगरानी गर्ने छ।’

कति महँगो पर्ला च्याङग्रा?

मुस्ताङबाट बाहिरिने च्याङग्रा अघिल्लो वर्षको तुलनामा यस वर्ष केही महँगो हुने अनुमान गरिएको छ। पशु चिकित्सक थकालीका अनुसार अघिल्ला वर्षको यो समयमा छिमेकी देश चीनबाट मुस्ताङ हुँदै म्याग्दी जिल्लामा च्याङग्रा आइपुग्ने गरेको भए पनि यस वर्ष भने चीनको च्याङग्रा आएका छैनन्। ‘अहिलेसम्म चीनको च्याङग्रा आएको छैन। डोल्पा र मुस्ताङको मात्रै झरेकोले पोहोरको भन्दा महँगो पर्छ जस्तो छ।’ पशु चिकित्सक थकालीले भने, ‘लुकीछिपी गरेर भन्सार कटाएको भए त थाहा भएन, तर भन्सारबाट आधिकारिक रूपमा चीनको च्याङग्रा आएको छैन।’

यस वर्ष मुस्ताङको रोजिएको च्याङग्रालाई मुस्ताङमा नै २३ हजार रुपैयाँमा र डोल्पाको रोजाइको च्याङग्रालाई २६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ। डोल्पाबाट ल्याइएका च्याङग्रा मुस्ताङका भन्दा ठुला भएकाले महँगो परेका हुन्।

अघिल्लो वर्षको दसैँमा १५ हजार र तिहारमा ५ हजार गरेर कुल २० हजार भेडा च्याङग्रा मुस्ताङ जिल्लाबाट बाहिरिएका थिए। तर यस वर्ष बढीमा १५ हजार मात्रै बाहिरिन सक्ने अनुमान गरिएको छ। शनिवारसम्मको तथ्याङ्क अनुसार मुस्ताङबाट झन्डै एक हजार भेडा च्याङग्रा म्याग्दी जिल्ला प्रस्थान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.