|

सर्लाही : चाडपर्वलाई लक्षित गर्दै सीमा क्षेत्रमा हुने तस्करी रोक्न सर्लाही प्रहरीले सक्रियता बढाएको छ। खुला सीमाका कारण जिल्लाको विभिन्न नाकाबाट चाडपर्वको समयमा हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गरिएको हो।

असोज महिना सुरु भएसँगै सशस्त्र प्रहरीले भारतबाट भन्सार नबुझाई ल्याइएका लाखौँ मूल्य बराबरको विभिन्न अवैध सरसामान बरामद गरेको छ। यसै क्रममा आइतबार बिहान मात्रै सर्लाहीको अवैध रूपमा भारततर्फ लाँदै गरेको अवस्थामा १२ वटा गाईगोरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। जिल्लाको दक्षिणपूर्वी क्षेत्र ब्रह्मपुरी गाउँपालिका-४, भेल्हीबाट गाईगोरु नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको गाईगोरु एक लाख रुपैयाँ मूल्य कायम गरी जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठले जानकारी दिए।

यस्तै शनिबार राति सशस्त्र प्रहरीले जिल्लाको रामनगर गाउँपालिका–५, बिर्ता गाँउबाट २० थान अवैध गोलिया काठ बरामद गरेको छ। बरामद गरिएका काठ आइतबार दिउँसो सेक्टर वन कार्यालय मूर्तियामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

यसैगरी, बिहिवार दिउँसो जिल्लाको कविलासी नगरपालिका–८, अगर्वामा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना २ च ५९७८ नम्वरको पिकअप भ्यानबाट ५० बोरा सूर्तिजन्य गुट्खा र पिकअप नियन्त्रणमा लिइएको छ। बिहीबार नै ब्रह्मपुरी गाउँपालिका–४, भेल्हीमा ना ३ ख १९१२ नम्बरको बसबाट भन्सार नबुझाइएको ६० हजार रुपैयाँ बराबरको किराना, हार्डवेयरका सामानलगायत कपडा बरामद गरिएको छ। चाडपर्वकै लागि भारतबाट भन्सार छलि लुकाइछिपाई ल्याइएका पट्काजन्य विष्फोटक पदार्थ पनि बरामद भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.