नेपाली वैज्ञानिकले भौतिकशास्त्रको सुव्रत समीकरण पहिल्याए

|

- ध्रुवसागर शर्मा/सन्तोष अधिकारी


म्याग्दी/पोखरा : हरेक दिन विज्ञानका धुरन्धर विद्वानहरूले केही न केही नयाँ कुरा पत्ता लगाइरहेका छन्। विभिन्न विज्ञानअन्तर्गत खोज तथा अनुसन्धानमा लागेका अनुसन्धाता वा शोधकर्ताले नयँ नयाँ कुरा पनि पत्ता लगाइरहेका छन्। यस्तै म्याग्दीको बेनी नगरपालिका २ ज्याम्रुककोटका एक युवा वैज्ञानिकले पनि भौतिक विज्ञानमा नै केही नयाँ कुरा खोजेर पत्ता लगाएका छन्।

भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कुँवरले हालै मात्र विज्ञानको अर्को जटिल समस्याको समाधानकोे बाटो पत्ता लगाएका हुन्। म्याग्दीको बेनीमा जन्मेका कुवँरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबै खाले उतार-चढावको सहीमापन गर्न सकिने सुव्रत समीकरण पहिल्याएका हुन्।

काठमाडौँ रिसर्च एण्ड पब्लिकेसन्समा गरिएको पछिल्लो परीक्षणबाट उनले भौतिक शास्त्रीय परिमाणले सूक्ष्मदेखि स्थूल तहका सबै समय खण्डहरूमा वास्तविक परिणाम दिन सक्ने कुरा पत्ता लगाएको हो। 

भौतिक विज्ञानको एउटा समाधान 

यसबाट भौतिक विज्ञानमा वर्षौंदेखि समाधान हुन नसकेर रहेको जटिल समस्या समाधान भएको छ। भौतिक विज्ञानमा समयको सबैभन्दा सानो मानिने प्लाङ्क समय एकाइदेखि योट्टा सेकेन्ड वा सोभन्दा ठूला तहमा हुने परिवर्तनलाई समेत पहिल्याउन सुव्रत समीकरणहरू सक्षम भएको देखिएको हो। 

‘हालसम्मका वैज्ञानिक अध्ययनले बढ्दो गतिमा भएका त्यति साना परिवर्तनहरूको वास्तविक मापन गर्न सकेका थिएनन्’, युवा वैज्ञानिक कुँवरले भने, ‘आजसम्मका कुनै पनि वैज्ञानिक अनुसन्धानबाट भौतिकले यति धेरै मसिना परिवर्तनहरूको वास्तविक मापन गर्ने बलियो आधार प्राप्त गर्न भ्याएको थिएन।’

कुँवर विगत दुई दशकदेखि निरन्तर भौतिक विज्ञानको अनुसन्धानदाताको रुपमा सक्रिय छन्।  

कुँवरका अनुसार दुर्यान्तर र प्रदुर्यान्तरको अन्तर्निहित भूमिकाका कारण सबै तहमा हुने परिवर्तनको मापन गर्न सुव्रत समीकरणहरू सक्षम भएका हुन्। ‘ती समीकरणले पिण्डका अत्यन्तै साना खण्डका गतिविधि र परिवर्तनलाई सही रुपमा मापन गर्न सक्छन् की सक्दैनन् भन्ने कुराको खोजी गर्दै जाँदा सो तथ्यबारे थाहा हुन गएको हो’, कुँवरले पछिल्लो अनुसन्धानको पृष्ठभूमिबारे स्पष्ट पार्दै भने।

यस अघि कहिल्यै नबनेको सूत्र

एकनासले बढ्दो गतिमा रहेको वस्तुले पार गरेको वास्तविक दूरीलाई सोही वस्तुकै गति वा वेगका आधारमा सही मापन गर्न सक्ने सूत्रहरू यसअघि नबनेको खोजकर्ता कुँवरले बताए। ‘बढ्दो वा घट्दो गतिमा रहेको पिण्डले पार गरेको दूरीका आधारमा सूक्ष्म परिवर्तन थाहा पाउने वास्तविक उपाय फेला पार्न सकिएको थिएन’, कुँवरले भने, ‘योट्टा सेकेन्डमा र सबैभन्दा सानो मानिने प्लाङ्क समय इकाइमात्र नभई ती भन्दा ठूला वा साना खण्डमा हुने परिवर्तनको अध्ययन गर्न पहिलेका सूत्रहरू सक्षम थिएनन्।’

भौतिक विज्ञानमा सानोदेखि ठूलो समयान्तरालका चालसम्बन्धी समस्याका लागि सुव्रत समीकरणहरूको प्रयोग गरिँदै आएको देखिन्छ भने डिफ्रेन्सियल क्याल्कुलस र इन्टिग्रल क्याल्कुलसको प्रयोगबाट समेत त्यस्ता प्रयासहरू गरिएको देखिन्छ। तर सही समाधान निकाल्न नसकेका कारण ती सबै प्रयास पाठ्यक्रममा रहे पनि अन्ततः प्रयासकै रुपमा प्रचलनमा आएको कुँवरले बताए। कुँवरका पछिल्ला कार्यहरूले यस्ता अपूर्णतालाई पूर्णता प्रदान गरेको देखिन्छ।  

कुँवरका 'डिस्कभरी' हरू केके हुन्? 

विगत दुई दशकदेखि सक्रिय रुपले अनुसन्धान कार्यमा लागेका कुँवरले भौतिक क्षेत्रमा खोज गर्दै आएका छन्। कुँवरले २०५५ सालमा पिण्डको बढ्दो गतिसँग सम्बन्धित यन्त्रसम्बन्धी वैचारिक परीक्षण गरेपछि २०६० तिर यन्त्र निर्माणमा र ०६५ देखि यता पुस्तक र अनुसन्धानपत्र प्रकाशन तथा विभिन्न प्रवचन कार्यक्रमहरूमा समय लगाएको देखिन्छ।

भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत कुँवरका हालसम्म ७ वटा पुस्तक र २ दर्जन बढी अनुसन्धानपत्र प्रकाशित छन्। यस क्रममा उनले आर्किमिडिज, ग्यालिलियो, न्युटन, आइन्सटाइन आदि वैज्ञानिकका कार्यहरूसँग सम्बन्धित महत्त्वपूर्ण अनुसन्धानहरू सम्पन्न गरिसकेका छन्। कुँवरका महत्त्वपूर्ण खोजमध्ये दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणहरू पनि पर्दछन्।

कुँवर हाल त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमसहितको विद्यावारिधि तह तेस्रो सेमेष्टरमा अध्ययनरत छन्। कुँवरको पछिल्लो खोज दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणहरूले पिण्डका सानाभन्दा साना समयान्तरादेखि ठूला समयान्तरालमा देखिने गतिविधिलाई सही ढंगले मापन गर्ने विषयसँग सम्बन्धित छ।

पछिल्लो खोजबाट दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणहरू सबै समयान्तरालमा सानो इरर पनि नआउने गरी परिणाम निकाल्न सक्षम भएको पुष्टि भएको हो।

लगाबले भेट्टाएको खोज 

एकनासले बढ्दो गतिको कुनै यान कुनै दिशातिर गइरहेको छ भने उक्त यानले कति समयमा कति दूरी पार गर्छ भन्ने समस्याको समाधान निकाल्न कुनै पनि भौतिक शास्त्रीय सूत्रहरू सक्षम थिएनन्। यही समस्यामा केन्द्रित हुँदै कुँवरको खोज अघि बढेको हो। उक्त खोजबारे सजिलोसँग बुझाउन भौतिकशास्त्र पुनर्निर्माण अभियानले युटुब भिडियोसमेत अपलोड गरेको छ। उक्त भिडियो नेपाली र अंग्रेजी भाषामा छ।  

अपलोड गरेको भिडियोमा एउटा वस्तु एक मिनेटमा १८३० मिटर पर पुगिसक्दा परम्परित सूत्रहरूका आधारमा जम्मा १८०० मिटर पर पुगेको हिसाब निक्लिएको देखिन्छ। त्यस्तै अर्को वस्तु १० मिटर पर पुग्दा परम्परित सुव्रत समीकरणहरूले जम्मा ८ मिटर पर पुगेको नतिजा दिने देखिन्छ।

मापन गरेर हेर्दा भने वस्तु १० मिटर नै पर पुगेको पाउन सकिने तर सुव्रत समीकरण र तीसँग सम्बन्धित नियमहरूले ८ मिटर पर पुगेको नतिजा दिने गरेको तथ्य भिडियोमा छ। उनले प्रस्तुत गरेको खोजको तस्बीरबाट पनि स्थिर अवस्थामा रहेको कुनै साधन पहिलो १ घण्टामा १० किलोमिटर प्रतिघण्टा, दोस्रो १ घण्टामा २० किलोमिटर प्रतिघण्टा, तेस्रो १ घण्टामा ३० किलोमिटर प्रतिघण्टा र चौथो १ घण्टामा ४० किलोमिटर प्रतिघण्टाका दरले हिँडेको छ।

यसरी जम्मा ४ घण्टामा उक्त साधनले कदेखि ङसम्मको दूरी पार गरेको हुन्छ, जुन १०० किलोमिटर रहेको छ। तर परम्परित सुव्रत समीकरणहरूका आधारमा हिसाब गरी हेर्दा उक्त साधनले जम्मा ८० किलोमिटर दूरी पार गरेको नतिजा फेला पर्दछ। भौतिक विज्ञानको यही समस्यामा कुँवरको खोजले समाधान निकालेको हो। 

विश्वमै गलत अभ्यास र शिक्षा 

कुँवरले पत्ता लगाएका सुव्रत समीकरणहरूले भने मापन गर्दा पाउन सकिने नतिजा नै दिएका छन्। नेपालमा मात्र होइन विश्वका अन्य विश्व विद्यालयहरूमा पनि तिनै गलत सूत्रहरूको पठन-पाठन गराइन्छ। ‘विश्व प्रसिद्ध जर्नलहरूले पनि यस्तै निष्कर्ष दिने अनुसन्धान पत्रहरू स्वीकृत र प्रकाशन गर्दै आएका छन्’, कुँवरले चिन्ता व्यक्त गर्दै भने।

विश्व भरिका विद्यार्थी यही पढ्नका लागि आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण समय लगाइरहेका छन् भने राज्य र अभिभावकको लगानी पनि यस्तै कुरामा खर्च भएको छ। यस्ता समस्यामा सरोकारवाला निकायहरूले समयमै ध्यान दिनुपर्ने कुँवरले बताए। खोजकर्ता कुँवरले भने, ‘पढ्ने र पढाउनेहरूले मात्र होइन, अनुसन्धान गर्ने र गराउने संस्थाहरूले पनि यसैलाई आधार मानिरहेको देखिन्छ।

आधार नै गलत छ भने त्यसमा आधारित अनुसन्धान पत्रहरूले दिने निष्कर्ष कस्तो होला?’ भौतिकशास्त्र पुनर्निर्माण अभियानले अपलोड गरेको उक्त भिडियोबाट भौतिकीको विकराल र चिन्ताजनक स्थितिलाई खुलासा गरिएको छ। 

सानाभन्दा साना एक्युरेसी खोज्ने समयमा यसरी पूर्णतः गलत नतिजा दिने समीकरणहरूको अध्ययन अध्यापन केका लागि गराइएको हो?, कुँवरले प्रश्न गर्दै भने।नेपाल सरकारले तत्काल पाठ्यक्रम सच्चाउनुको विकल्प नरहेको उनको भनाई छ।

धेरै खर्चिलो पढाइमा गल्ती नै गल्ती 

कुँवरको भनाइअनुसार गल्ती यतिमात्र होइन, सोहीअनुसार अन्तिम गति, सुरुको गति र समयका सम्बन्धहरू व्यक्त गर्ने समीकरणको समेत अध्ययन अध्यापन गराइँदै आइएको छ। अझ प्रवेग (कुनै वस्तुका वेग परिवर्तनको दर) जस्तो अस्तित्वविहीन परिमाणको अध्ययनमा ठूलो धनराशी खर्च हुँदै आएको देखिन्छ। 

पछिल्लो समयमा कुँवरले काठमाडौँ रिसर्च एण्ड पब्लिकेसन्समा सूक्ष्मदेखि स्थूल समयान्तरालका सबै सन्दर्भमा परीक्षण गरेका छन्। उनले एक सेकेण्डको ५.३९ दश ४४ खण्डमा हुन जाने प्लाङ्क एकाइजस्तो अति सूक्ष्म समयखण्डमा हुन जाने परिवर्तनको समेत अध्ययन गरेका छन्। आजसम्मको भौतिक विज्ञानले प्रदुर्यान्तरित वस्तुले प्लाङ्क सय एकाइमा हुने परिवर्तनको मान पहिल्याउन सकेको थिएन।

कुँवरले पत्ता लगाएको दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट भने प्लाङ्क समय एकाइभन्दा पनि कैयौँ गुणा साना खण्डमा हुने परिवर्तन र गतिको अध्ययन गर्न सकिने देखिएको हो। यसबाट गतिका सन्दर्भमा भौतिक विज्ञान निकै सूक्ष्म समयान्तरालदेखि स्थूल समयान्तराल सम्मको अध्ययन गर्न सक्षम भएको हो।

विदेशी खोज सही छ भन्ने भ्रम त्यागौं

अब नेपाल सरकारले पहल गरेमा विदेशी अनुसन्धानकर्तालाई पनि भौतिक विज्ञानबारे नयाँ कुरा सिकाउन सकिने उनको भनाई छ। ‘हामीले सधैँ उताका खोज आँखा चिम्लेर अनुसरण गर्नुपर्छ भन्ने मानसिकता राख्नु हुँदैन। हामीले पनि नयाँ खोजबारे जानकारी दिन सकिन्छ’, वैज्ञानिक कुँवरले सरकारको ध्यानाकर्षण गराउँदै भने। 

जटिल समस्यालाई चिर्दै सफल परीक्षण 

विसं.२०६० सालतिर कुँवरले बागलुङ जिल्लाको ग्यालेक्सी इन्जिनियरिङ वर्कशपमा एउटा मेशिन निर्माण गर्न लाग्दा लगानी बलका कारण पार हुन जाने दूरीमापन गर्नुपर्ने भयो। उनले कक्षा ९ को विज्ञानमा पढेको सुव्रत समीकरणमा भएको दूरीसम्बन्धी सूत्रका आधारमा उक्त लम्बाइ निकाल्न खोजे। तर प्रशस्त अन्योलताहरू देखा परे। तर त्यतिबेला ती सूत्रमाथि प्रश्न उठाउने क्षमता भएन र आफूले उक्त सूत्रको प्रयोग गर्न नजानेको निष्कर्षमा कुँवर पुगे। 

स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि कुँवरले आर्किमिडिजको सिद्धान्तभन्दा भिन्न प्रकारको सामर्थ्यको सिद्धान्त विभिन्न कलेजका प्रयोगशालामा प्रमाणित गरी पुस्तकका रुपमा प्रकाशन गरे। यस सफलताले कुँवरको मनमा कतै सुव्रत समीकरणहरूमा पनि समस्या त छैन भन्ने प्रश्न उब्जाउन भूमिका खेल्यो।

यसपछि उनले भौतिक विज्ञानसँग सम्बन्धित थप ४ वटा पुस्तकहरू प्रकाशन गरे। ती पुस्तकमा सुव्रत समीकरणहरूमा समस्या भएको भनी उल्लेख गरिएको थियो। ती पुस्तकहरूको प्रकाशनपछि उनले विभिन्न कलेज र विश्वविद्यालयमा परीक्षण प्रदर्शन गर्ने र सहजीकरण गर्दै गए।

ती सबै परीक्षणबाट सुव्रत समीकरणहरूमा समस्या भएको स्पष्ट भयो। यसले नयाँ परिमाणको अस्तित्व हुनुपर्छ भन्नेमा थप बल प्रदान गर्‍यो। यही विषयलाई समाधान गर्दा दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणहरू पत्ता लाग्न गए र परीक्षणबाट समेत पुष्टि हुँदै गए। 

कुँवरले विज्ञानका नयाँ खोज कसरी प्रमाणित गर्ने गर्छन्?  

कुनै पनि साध्य वा सिद्धान्त प्रमाणित गर्न विद्यालयमा सानैदेखि सिकाइएको हुन्छ। यस क्रममा तथ्य र कारणहरू दिएर समस्या समाधान गर्ने अथवा साध्य र भनाइहरू प्रमाणित गर्ने अभ्यास गराइन्छ।

कुँवरले पनि अनुसन्धानका लागि यिनै गणितीय स्वयंसिद्ध तथ्य, स्वीकृति र विधिलाई आधार बनाएको देखिन्छ। तथ्य पहिल्याउन सकेमा परीक्षण प्रक्रिया त्यति धेरै समस्याको विषय नहुने बताउँछन्।  

‘मलाई लाग्छ। हामीले निम्न माध्यमिक तहको अध्ययन पनि राम्रोसँग गर्न सक्यौँ भने धेरै कुरा सिक्छौँ। तर राम्रोसँग भन्ने शर्त पूरा नहुँदा समस्या हुन्छ’, कुँवरले आफ्नो अनुभव सुनाउँदै भने।

त्यो तहमा हरेकलाई प्रमाणित साध्यहरू फेरि प्रमाणित गर्न सिकाउनुको उद्देश्य भविष्यमा नयाँ समस्याको समाधान निकाल्न र नयाँ भनाइ प्रमाणित गर्ने तरिका सिकाउनु पनि हो। ‘हामीले गणितको अध्ययन गर्दा पुस्तकहरूमा दिएका हिसाब भन्दा पनि बढी दिएका हिसाबका माध्यमबाट नदिएका हिसाब गर्ने तरिका सिक्ने हो’, कुँवरले थपे।

खोजकर्ता कुँवरले ‘प्रमाणित गर्नु’ ‘सावित गर्नु’, ‘सिद्ध गर्नु’, ‘पुष्टि गर्नु’ जस्ता शब्दावलीसँग सम्बन्धित विविध भ्रमहरूलाई चिर्दै भने, ‘साना-साना कक्षामा गणितमा गरेका अभ्यासलाई बिर्सेर हामीले कहिलेकाहिँ प्रमाणित गर्ने काम त कुनै विश्व चर्चित संस्थाको हो भनी प्रमाणित तथ्यलाई विषयान्तर गरिदिन्छौँ। यो सरासर गलत धारणा हो किनकि अनुसन्धानमा प्रमाणको आधिकारिक व्यक्ति वा संस्थाहरू हुँदैनन्। तथ्य र कारणबाट सिद्धान्तहरू प्रमाणित गरिन्छ। हाम्रा भाषा र सुविधा अलग भए पनि सबैले प्रमाणित गर्ने प्रक्रिया र आधारहरू एउटै हुन्छन्। त्यसैले यो देश र त्यो देश वा यो भाषा र त्यो भाषा जस्ता मनाशयलाई हटाउनुपर्छ।’ 

भौतिक शास्त्रमा छुटेको उक्त विषयका पछि केही सम्भावनाका कारणहरू भएको कुँवरले बताए। त्यस समयमा एसएटिएम जस्तो उपकरण बनाएर परीक्षण नगरिनु र पछिल्ला वैज्ञानिकले समेत उही गल्तीलाई सरासर अनुकरण गर्नुले समस्या बढ्दै गएको धारणा कुँवरको रहेको छ।

कुनै कोठामा बसेर गोप्य परीक्षण गरेर संस्था प्रभावको आधारमा सूचना प्रवाह गर्ने प्रवृत्तिको विरोध गर्नुपर्ने धारणा कुँवरको छ। यस्ता प्रवृत्तिहरूकाविरुद्धमा भौतिक शास्त्र पुनर्निर्माण अभियानले विभिन्न जिल्लाका दर्जनौँ शिक्षण संस्थाहरूमा खुल्ला परीक्षण प्रदर्शन गर्दै आएको कुँवरले बताए।  

कुँवरको यस खोजबाट भएको कार्यको वास्तविक मापन पहिल्याउन सकिने, ऊर्जा उत्पादन, ब्रह्माण्डको यथार्थ र क्रियाबारे अध्ययन गर्न सकिने र सूक्ष्म भौतिकीमा समेत उत्तिकै उपयोगी हुने देखिन्छ।

कतिपय पाठकले यस खालको अनुमान गर्दै प्रतिक्रिया लेखेका छन्। उनीहरूले नयाँ सिद्धान्तलाई विश्वव्यापीकरण गर्न नेपाली सञ्चारमाध्यमले थप सक्रियता देखाउनुपर्ने सुझावसमेत दिएका छन्। 

प्रमाणित विषयलाई स्वीकृति दिने निकाय कुन हो ? 

सिद्धान्त स्थापनासम्बन्धी इतिहासलाई हेर्दा गणितीय अंक र शून्यसम्बन्धी पहिल्याइहरू पहिले ब्रह्म गुप्ताले पुस्तकमा लेखेको र अरब हुँदै धेरै पछि मात्र युरोप पुगेको देखिन्छ।

बौद्धायन, पाइथागोरस, आर्किमिडिज, अलहाजन, ग्यालिलियो, कोपर्निकस, सिमन आदिले गरेका कामहरू उनीहरूकै क्षेत्रमा पहिले स्थापित भएपछि विश्वव्यापी भएको देखिन्छ। त्यस्तै न्यूटनको पुस्तक उनको साथी ‘हली’ ले प्रकाशन गरेको देखिन्छ, जुन पुस्तकलाई भौतिक शास्त्रको इतिहासमा सबैभन्दा ठूलो घटना मानिन्छ।

सानो क्षेत्रबाट ठूलो क्षेत्रतिर वा ठूलो क्षेत्रबाट सानो क्षेत्रतिर, दुवै, तरिकाबाट नियमहरू स्थापित हुँदै गएको देखिन्छ। भौतिक विज्ञानमा जुन सूत्र सही हो त्यो स्वतः प्रयोगयोग्य हुने भएकाले भौतिक विज्ञान विज्ञान हुन पुगेको हो भन्ने धारणा वैज्ञानिक कुँवरको छ।

राजनीतिक निर्णयझैँ अल्पमत वा बहुमतका अभ्यासहरू विज्ञानका सन्दर्भमा लागू हुँदैनन् कुँवर भन्छन्। उनको भनाइ छ, जस्तो कि कुनै व्यक्तिलाई चित्र १ को उदाहरणमा जसरी साधनले पार गर्ने दूरी निकाल्नु पर्यो भने त्यही सूत्र प्रयोग गर्न सक्छ।

स्वीकृतिबारे आफ्नो गाउँको उदाहरण प्रस्तुत गर्दै कुँवरले भने, ‘कुनै राजनीतिक प्रभाव नपरेर ज्यामरुककोट राज्य आजसम्म पनि यथावत हुन्थ्यो भने ज्यामरुक कोटमा भए गरेका सबै उपयोगी कामहरूको अग्रसारण र अनुप्रयोग सबैभन्दा पहिले ज्यामरुककोट सरकार र ज्यामरुककोटबासीले नै गर्दथे। किनकि सामाजिक विषयलाई समाजले नै पक्रिने हो।

'राष्ट्र भनेको हानिकारक कामका लागि सजाय दिन बनेको संस्था मात्र होइन। उपयोगी कामको संरक्षण र स्थापना गर्ने संस्था पनि हो’ कुँवरले थपे, ‘अहिले पनि जुनसुकै क्षेत्रमा भए गरेका उपयोगी विषयको स्वीकृति गराउने र अनुप्रयोगमा ल्याउने जिम्मेवारी स्थानीय, प्रदेश र केन्द्रीय सरकारको हुन जान्छ।

फुकोले भनेझैँ सिद्धान्त वा ज्ञानको यात्रा उर्ध्वन्मुख, अधोन्मुख वा समतलोन्मुख तिनै आयाममा हुन सक्छ’, कुँवरले विश्व प्रसिद्ध दार्शनिक फुकोको ज्ञान विस्तारसम्बन्धी धारणा सुनाए। 

स्थानीय स्तरबाट विद्यार्थीलाई नयाँ डिस्कभरी वा भेट्टाइबारे जानकारी दिँदै खोजलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन सकिने प्रचलित परम्परालाई प्राथमिकतामा राखेको कुँवरले बताए।

(कुँवर हाल त्रिभुवन विश्वविद्यालयमा तेस्रो सेमेष्टरका पिएचडी स्कलर्स हुन्। उनको विद्यावारिधि शोधको विषय पनि शास्त्रीय भौतिकीसँग सम्बन्धित छ। उनी भौतिक विज्ञानमा विश्वका बैज्ञानिकलाई आफ्नो नयाँ खोज देखाउन र सुनाउन आतुर छन्।) 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.