|

कपिलवस्तु : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सवैधानिक निकायलाई तेजबोध गर्न खोजिएको भन्दै रुष्टता प्रकट गरेका छन्। दुई तिहाईको आडमा वर्तमान सरकारले संवैधानिक निकायमाथि ठाडो हस्तक्षेप गरी आतंकीत पार्न खोजिएको आरोपसमेत लगाए।

नेपाली कांग्रेस कपिलवस्तुले दोश्रो चरणको अभियानका क्रममा सदरमुकाम तौलिहवामा राखेको जिल्ला स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गदै नेता पौडेलले दुई तिहाईको दुरुपयोग गरी सरकारले संवैधानिक निकायलाई तेजबोध गर्न खोजेको बताए।

ओली नेतृत्वको सरकारले नयाँ वर्गको स्थापना गर्न लागेको र त्यही आधारमा सबै सेवा सुविधा आफ्नै कार्यकर्ताको पकडमा पार्न खोजेको उनले बताए। उनले सत्ताको आडमा जथाभावी गरेर मुलुकलाई नै पछि धकेल्ने काम गरिएको टिप्पणीसमेत गरे।

उनले अदालतले समेत एनसेल प्रकरणमा आपसमा बाँझिने फैसला गरेको बताए। अहिले सरकारसंग कुनै नयाँ योजना नभएको भन्दै उनले अहिलेको सरकारले अहिलेको दशैं नभएर अर्को दशैंसम्म पनि मेलम्ची आयोजनाबाट पानी ल्याउन नसक्ने ठाकुवा गरे। उनले लोकतन्त्रलाई ठालुतन्त्र बनाइएको भन्दै यो अवस्थालाई मुक्त गर्न आन्दोलन गर्नुपर्ने बताए।

उनले अहिलेको सरकारप्रति जनताको भरोसा हटेको र त्यो भरोसा कांग्रेसले कायम राख्नु पर्ने बताए। ‘सरकारप्रति जनताको भरोसा हटेको छ, त्यो भरोसा कांग्रेसमाथि छ छैन त्यो हेर्नुपर्छ’ उनले भने। उनले मधेसलाई पनि साथमा लिएर अघि बढनु पर्ने धारणा राखे।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सांसद अतहर कमालले सरकारले गरेको गलत कुराहरुको पार्टीले भण्डाफोर गर्नु पर्ने बताए। उनले कांग्रेसले सदनमा सरकारका गलत क्रियाकलाप, भष्टाचारको जोडदार रूपमा आवाज उठाए पनि मिडियाले साथ नदिएको गुनासो गरे। अहिले सरकारले पत्रकारको हक अधिकार खोस्ने गरी मिडिया विधेयक ल्याउन लागेपछि बल्ल आँखा खुलेको उनले टिप्पणी गरे।

पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षता र पार्टी सचिव प्रेम बहादुर रायमाझीको संचालनमा भएको कार्यक्रममा कांग्रेस नेता दीप कुमार उपाध्याय, पार्टीको पूर्व जिल्ला सभापति सुधाकर पाण्डेय, जागरण अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधि विष्णु कार्की, क्षेत्रीय सभापति गिरीजेश पाण्डेय लगायतले सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.