|

धनगढी : ‘अब तपाईंको लक्ष्य के छ?’ प्रश्न सामान्य थियो। तर उत्तर भने असामान्य। ‘मलाई कुनै दिन प्रधानमन्त्री वा राष्ट्रपति बन्छु जस्तो लाग्छ। मेरो लक्ष्य त्यही छ’ उनी मुस्कुराइन्। ‘एउटा सामान्य व्यक्ति त राष्ट्रपति वा प्रधानमन्त्री बन्ने मेरो देशमा हामी किन नहुनु र?, उनले थपिन्, ‘२०५६/०५७ सालतिर हो। मलाई धमिलो याद छ।’ ‘करिब १६ वर्षकै उमेरमा म देश परिवर्तन गर्छु भनेर हिँडेकी हुँ। म जस्तै कैयौँ व्यक्तिहरूको रगत र पसिनाले आएको हो परिवर्तन यो’ उनको आवाज बुलन्द भयो। 

‘तीन दशक पहिले राष्ट्र परिवर्तन गर्न होमिएको व्यक्ति राष्ट्रपति कसो नहुनु र?’ मैले हो मा हो मिलाएँ। सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशीले देखेको पहिलो सपना मुलुकको परिवर्तन नै थियो। त्यसपछि उनले थप परिवर्तन गर्न महिलाको नेतृत्व स्थापित हुनुपर्छ भन्दै अभियान थालिन्। 

‘हुन त म उपसभामुख पनि बनुँला भन्ने सोचेकी थिइनँ। सायद मेरो बलिदानको मूल्यांकन भएको होला वा त्यही बलिदानीले दिएको उपलब्धि होला’ उनी भावुक भइन्। 

‘कसरी लाग्नुभयो युद्धमा?’ मैले प्रसंग परावर्तन गरेँ। उनी थप भावुक नहुन् भन्नका लागि।‘ सदरमुकाममा ठूलोबुवाको घर थियो। त्यही घरमा एउटा निजी विद्यालय थियो। त्यस विद्यालयका शिक्षकहरू तत्कालीन माओवादीमा आस्था राख्थे। 

प्रधानाध्यापक हुकुम सिंह कुँवर थिए। केही बेर याद गर्दै उनले सुनाइन्, ‘त्यही विद्यालयमा बैठक बस्थे। म पनि कहिलेकाहीँ आउजाउ गर्थे। सायद त्यही समयदेखि होला म मानसिक रूपमा परिवर्तनको लागि संघर्ष गर्न तयार भएकी।’

दार्चुलानजिकै छ भारतको पिथौडागढ। जहाँ माओवादीको चहलपहल व्याप्त थियो। तत्कालीन अवस्थामा शिक्षाको स्थिति, विद्यालायको भवन, शिक्षण प्रक्रियाबारे उनलाई चित्त बुझेको थिएन। त्यही समयमा माओवादीले बुर्जुवा शिक्षा भन्दै शिक्षा प्रणाली परिवर्तनको कुरा गरिरहेका थिए। ‘शिक्षाको अवस्था परिवर्तन गर्ने भन्दै संघर्षमा जुटे, मुलुकको व्यवस्था त परिवर्तन भयो। तर, शिक्षाको अवस्था उस्तै रह्यो’ उनले गुनासो पोखिन्। 

दार्चुलाको छान्ना तिंकरी माविको इकाइ कमिटीको उपाध्यक्ष भएर तत्कालीन माओवादीमा आबद्ध भएकी निर्मला त्यसको झण्डै तीन दशकपछि सुदूरपश्चिम प्रदेशको उपसभामुख भएकी हुन्। 

‘उपाध्यक्षदेखि उपसभामुखसम्मको मेरो यात्रा सहज छैन’ उनले भनिन्, ‘मेराे विद्यार्थी कालमै संकटकाल लाग्यो। जिल्लामा बाक्लो सुरक्षाकर्मी परिचालित भए।त्यसपछि घर बस्ने स्थिति भएन। २०५७ सालको अन्त्यतिर सदरमुकाम छोडे।’

दार्चुलाबाट बैतडी, डडेल्धुरा कञ्चनपुर हुँदै उनी कैलाली पनि पुगेकी थिइन्। त्यो बेला राजेन्द्र विष्ट, गोकर्ण जोशी लगायतको टोली पनि सदरमुकामबाट भाग्दै तराई झरेको थियो। उनी महिला संगठनको दार्चुला अध्यक्ष भएपछि भूमिगत जीवन बिताउन थालिन्।

 

‘जीवनमा धेरैपटक म मृत्युको मुखबाट पनि भागेकी छु’ उनले भनिन्, ‘मृत्यु कति भयानक हुँदो रहेछ भन्ने मैले नजिकबाट नियाल्न पाएँ।’ २०५८ साल माघको पहिलो साता, तत्कालीन सुन्सेरा गाविसमा ५ जना युवाको घरभित्रै हत्या गरिएको थियो। माओवादी भन्दै हत्या गरिएका तीमध्ये कुनै पनि व्यक्ति माओवादी नरहेको पाइयो।  त्यही घटना बुझ्न गएकी थिइन् निर्मला। तर, उनी पनि घेरामा परिन्। 

‘मलाई चारैतर्फबाट घेरिहाले’ त्यो पल सम्झँदै भनिन्, ‘आज अन्तिम दिन हो जस्तो लाग्यो। तर, राति १० बजे देखि बिहान ४ बजेसम्म भागेर ज्यान जोगाएँ।’

रोचक विवाह प्रसंग

निर्मलाका श्रीमान् लक्ष्मीराज जोशी हुन्। उनी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेशका प्रदेशका सह-इन्चार्ज पनि हुन्। उनी २०६४ सालको संविधानसभामा सदस्य निर्वाचित भएका थिए। उनीहरूले जनवादी विवाह गरेका हुन्। ‘हाम्रो पार्टीबाटै चिनाजानी भयो र विवाह भयो’ अलिकति लजाउँदै उनले सुनाइन् ‘२०५९ सालमा बैतडीमा सामान्य विवाह भयो।’ 

‘भिन्नभिन्न जिम्मेवारी हुँदा भेटघाट पनि पातलो थियो’ उनले भनिन्,‘२-४ वर्ष लडिसक्यौँ। अझै कति लड्नुपर्ने हो थाहा थिएन। युद्ध नै संसार बनिसकेको थियो।  त्यसैले त्यही संसारमा हामीले पनि संसार बसायौँ।’

‘क्रान्ति, युद्ध र संघर्षका बीचमा कसरी प्रेम भयो?’ मैले जिज्ञासा राखेँ। ‘प्रस्ताव राखेको एक महिनापछि पार्टीले विवाह गर्ने परम्परा रहेको थियो’ उनले त्यो सम्झँदै भनिन्, ‘यदि त्योभन्दा कसैले भिन्न व्यवहार गर्‍यो भने त्यसलाई पदबाट मुक्त गरिन्थ्यो, जनताको घरमा ढुंगा बोक्न पठाइन्थ्यो। कारबाही हुन्थ्यो।’
‘तपाईंहरूमा कसले पहिला प्रस्ताव राख्नुभयो? ’प्रसंग थप गहिरो बन्यो।

 ‘हामी दुवैले प्रस्ताव राखेनौँ।  बिनाप्रस्ताव विवाह भएको हो’ उनले जवाफ दिइन्। 

‘कसरी?’ मैले प्रतिप्रश्न गरेँ। 

‘लेखराज सर र खगराज सरले तपाईं दुवैजनाको जोडी राम्रो हुन्छ। दुवै राम्रो मान्छे भनेपछि हामी एक भएका हौँ ’ उनले भनिन्,‘ विवाहमा पार्टीले ४/५ वटा खसी काटेको थियो। जनमुक्ति सेना पनि थिए। पूरै ब्रिगेड आएको थियो। त्यही थाहा पाएर आर्मी र प्रहरीले घेरा हाले। दिउँसो विवाह भयो साँझ त हामी भाग्न बाध्य भयौँ। विवाह भएको ४ दिनपछि बल्ल हाम्रो फेरि भेट भयो।’

उनीहरूको विवाह हुँदा नै भिडन्त भएको थियो। सबै तितरवितर भएका थिए। त्यो बेला बैतडी र दार्चुलाको एउटै जिल्ला कमाण्ड थियो। दार्चुलाको इन्चार्ज जोशी थिए। दुवै जिल्लाको इन्चार्ज खगराज भट्ट थिए। 

विवाहभन्दा पहिलो आफ्नो ज्यानको मात्रै ध्यान हुने गरेकोमा त्यसपछि दुवैलाई दुवैको चिन्ता हुन थालेको अनुभव छ उनीसँग। युद्धमा कैयौँपटक ज्यान जोगाएकाले पनि होला कुनै न कुनै दिन त संसार छोड्नुपर्छ भन्ने परेको थियो उनलाई। तर,उनलाई विवाहपछि भर्खर झाँगिनै गरेको प्रेमले कमजोर बनाउन थालेको थियो। 

कैयौँपटक मृत्युलाई पराजित गरेर आफैँ जित हातपारेकी निर्मलाले अब आफ्नोभन्दा बढी हेक्का जीवन साथीको राख्न थालिन्। विवाहपछि लक्ष्मी अछाम गए। त्यहाँ रहँदा ८ महिनासम्म निर्मलासँग संवाद हुन पाएन। उनले धेरैपल्ट पत्र पठाइन्। तर, जवाफ कहिल्यै समयमा आएन। ‘मलाई त्यसपछि झन् अत्यास लाग्न थाल्यो’ उनले भनिन्,‘उहाँ आउनेबित्तिकै हामीले सन्तानको योजना बनायौँ।’

विवाहअघि नजिक रहेका दुवैजना  विवाहपछि कार्य क्षेत्र फेरिँदा भौगोलिक दूरीले थप टाढा भए। युद्धमा कतिले श्रीमान् गुमाए, कतिले श्रीमती गुमाए। आँखैअगाडि सबै वृत्तान्त देखेकी निर्मलालाई एउटै त्रासले सताउन थाल्यो। ‘म नभए पनि जीवनभर उहाँले मेरो सन्तानमा म देख्नुहुनेछ। उहाँलाई गुमाएँ भने पनि मैले उहाँको याद सन्तानलाई हेरेर मेटाउने छु’ भारी मन बनाउँदै उनले थपिन्,‘एकले अर्काको अभावपूर्ति गर्न सन्तान जन्मायौँ।’

छोरी त जन्मिइन् तर, हुर्काउन बढाउन भने सहज थिएन। छोरीलाई सुरक्षित राख्न सानैदेखि आफन्तको जिम्मा लगाइन्। सन्तानलाई जन्म दिएर पनि आफूसँगै राख्न नपाएकोमा उनलाई सारै पीडा छ। ‘मैले मेरो छोरीलाई बाल्यकालमा धित मरुन्जेल माया गर्न पाइनँ’ फेरि उनी भावुक भइन्। 

बाल्यकालमा छोरीलाई स्याहार गर्न नपाएकोमा उनलाई सबैभन्दा बढी ग्लानी महसुस हुन्छ। ‘मैले सबै पाए, सबै जिते। तर, छोरीको माया पाउन सकिनँ। छोरीको मन जित्न सकिनँ। आँखा टम्म भए। उनले फेरि भनिन्, ‘छोरीको माया पाउन अहिले पनि म आफैँसँग युद्ध लडिरहेकी छु। यो युद्ध त्यो युद्धभन्दा पनि बढी संघर्षपूर्ण छ।’

घरमा राजनीतिक माहोल

सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज भएका कारण उनका श्रीमान् पनि निकै व्यस्त हुन्छन्। उनी उपसभामुख। घर परिवारलाई अझैसम्म पनि पूर्णरूपले समय दिन पाएको जस्तो लाग्दैन उनलाई। ‘कहिलेकाहीँ त एक अर्कालाई सन्चो विसन्चो सोध्न पनि समय मिल्दैन’ हाँस्दै उनले सुनाइन्। 

प्रदेशसभाको लागि उम्मेदवारी दिने समयमा पनि श्रीमानसँग सरसल्लाह नभएको उनले बताइन्। ‘समानुपातिकको लागि पनि उम्मेदवारी दिनुपर्ने थियो। उम्मेदवारी दिँदा पनि हाम्रो सल्लाह भएको थिएन। प्रदेशमा दिने कि केन्द्रमा दिने भन्ने अन्योलमा थिएँ’ उनले भनिन्। 

दुवै व्यस्त भएका कारण दुवैलाई समय निकालेर पारिवारिक संवाद गर्न निकै समस्या हुने गरेको उनले बताइन्।  दुवै फुर्सदमा हुँदा पनि पारिवारिक संवादभन्दा बढी राजनीतिक छलफल हुने गरेको उनको भनाइ छ। 

‘घरमा बढी राजनीतिक गफगाफ हुन्छ’ उनले भनिन्, ‘आफन्तहरू आउँदा पनि घरपरिवार सन्चो विसन्चो भन्दा बढी राजनीतिक कुराले दंग पर्छन्।’ आफूले उपसभामुखको जिम्मेवारीको अपेक्षा नगरेको उनी बताइन्। 

‘बरु मन्त्री हुन्छु कि जस्तो लागेको थियो’ उनले भनिन्,‘पार्टी एकतापछि सबै मिलाउँदा मैले उपसभामुखको जिम्मेवारी पाएकी हुँ।’ उनलाई अझै पनि कुनै दिन प्रधानमन्त्री वा राष्ट्रपति बन्छु भन्ने लागेको छ। उनले सुरैमा भनेकी थिइन्। 

व्यवस्था फेरियो अवस्था उस्तै

संघीय संरचनापछि बनेका प्रदेश सरकार र प्रदेशसभा सबैका लागि नयाँ र नौलो थियो। स्थानीय निकाय स्थानीय सरकार बनिसकेको थियो। गाउँ-गाउँमा सिंहदरबार छिरिसकेको थियो। उत्सव र उत्साह थियो। 

अधिकारका आवाजहरू बुलन्द भएका थिए। तर निर्मलाको मन भने पूर्णरूपमा सन्तुष्ट भएको थिएन। ‘ठूलो बलिदानबाट पाएको उपलब्धि अझै पूर्णजस्तो लागेको छैन’ उनी भन्छिन्, ‘सबैका लागि अधिकार अझै पुगेको छैन अझै धेरै काम गर्न बाँकी छ।’ 

फेरिएको राज्यव्यवस्थामा जनताका पूर्णअधिकार सुनिश्चित हुन नसकेको उनको भनाइ छ। जुन लक्ष्य र उद्देश्यले उनी युद्धमा होमिएकी थिइन् त्यो अनुसारको परिवर्तन अझै हुन नसकेको उनको उनलाई लाग्छ। जनताले परिवर्तनको महसुस गर्न नपाएकोकामा उनको मन  खिन्न छ। तर, विगतको भन्दा ठूलो आयाम र परिवर्तन आएकोमा भने उनी दंग छिन्। 

‘किताबमा त हामीले भनेको जस्तै परिवर्तन आएको छ’ उनले भनिन् ‘तर, नागरिकले आभाष गर्नेगरी अझै हुन सकेको छैन।’ एकदिन नागरिकको पनि पूर्ण अधिकार सुनिश्चित हुने कुरामा भने उनी विश्वस्त छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.