|

काठमाडौ‌ : नेपाल राष्ट्र बैंकले नयाँ नोटका लागि राष्ट्रबैंंकमै लाइन लाग्न जाने व्यवस्थाको अन्त्य गरेको छ। 

असोज १० गतेदेखि नयाँ नोट साटन व्यवस्था गरेको राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध  गराउने भएको हो। केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमा समेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साटन पाइने उल्लेख छ। बैंकले पाँच, दश, २०, ५० र १०० दरका एक÷एक पकेट गरी प्रति व्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ।

सो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने बैंकको भनाइ छ। यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत नयाँ तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले सूचनामार्फत जानकारी दिएको छ।

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ। यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। 

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ। आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने सूचनामा उल्लेख छ।
त्यस्तै राष्ट्र बैंकले  नोटमा केरमेट नगर्न आग्रह गरेको छ। टीका लगाई दक्षिण दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.