|

पर्वत : सडकमा काम गरिरहेका बेला माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर कुस्मा नगरपालिकामा एकजना सबओभरसियरको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङका करिब २३ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईलाई परेको हो।

उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ। शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ।

त्यहाँ कार्यरत मजदुरका अनुसार उनका भाइहरू पनि सोही ठाउँमा काम गरिरहेको भए पनि सुरक्षित छन्।

उद्धार छोडेर फोटो र भिडिओ खिच्न व्यस्त

वडा नम्बर ७ का अध्यक्ष सुवास पौडेलका अनुसार घटना बिहान पौने १० बजे भएको हो।  ‘बिहानको साढे ९ बजेसम्म म त्यहीँ थिएँ,’ उनले भने, ‘म त्यहाँबाट निस्केको केही समयपछि दुर्घटना भयो भनेर फोन आएको थियो।’

स्काभेटरले खनेर बनेको ढिस्को खसेर मान्छे पुरिएको भन्ने खबर पाउँदासाथ स्थानीय र नजिकै रहेको पर्वत सदरमुकाम कुस्माबाट ठूलो सङ्ख्यामा मानिसहरू पुगेका थिए। उद्धारमा खटिएका अच्युत पौडेलका अनुसार माटोमुनि मान्छे रहेको थाहा पाउँदा पनि दुर्घटनास्थलमा पुगेकाहरू फोटो र भिडियो खिच्दै बसिरहेका थिए।

‘हामी इन्टरनेट जडानका लागि चुवामा थियौँ, थाहा पाउँनसाथ घटनास्थलमा आयौँ,’ उनले भने, ‘हामी पुग्दा त्यहाँ रहेका मानिसहरु फोटो र भिडियो खिचिरहेका थिए। हामीले हातले माटो पन्छाएर उद्धारको प्रयास ग¥यौँ।’ तत्काल एक्साभेटर चलाएर उद्धार गरेको भए यस्तो नराम्रो घटना नहुने थियो कि भन्ने उनको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.