प्रस्ताव पेश गर्न उफ्रिएर रोष्टम पुगे मन्त्री

|
कुर्सी नाघेर रोष्टम जाँदै सामाजिक विकासमन्त्री जीवन घिमिरे।

विराटनगर  : कांग्रेसको अवरोध र नाराबाजीकाबीच १ नम्बर प्रदेशसभाबाट मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको छ। सोमबार विधेयक पारित गर्ने क्रममा कांग्रसका सांसदले मन्त्रीलाई रोष्टम जान नदिने प्रयास गरे। रोष्टम घेराउ गर्दा मन्त्रीले कुर्सी नै नाघेर अस्वभाविक तरिकाले रोष्टम पुग्नु परेको थियो।

आइतबारको संसद बैठकमा सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयकमाथिको प्रतिवेदन विरोध र नाराबाजीका बाबजुद पनि सहजै पेश गर्नु भएको भएपनि सोमबारको बैठकमा सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई रोष्टममा पुग्न गाह्रो पर्‍यो। बैठकको सुरुमै कांग्रेसका सांसदहरुले रोष्टम घेर्ने र मन्त्रीलाई त्यहाँ पुग्न नदिने तयारी गरेका थिए।

सभामुख प्रदेशसभामा प्रवेश गरेसँगै कांग्रेसका महिला संसदहरु रोष्टम घेर्ने र मन्त्रीलाई प्रस्ताव पेश गर्नै नदिनका लागि रोष्टम अगाडि जम्मा भएका थिए। मर्यादा पालकलाई कांग्रेसका सांसद हटाउन समस्या भएको थियो। एक त साँघुरो संसद हल, थोरै ठाउँबाट ओहोर दोहोर गर्ने स्थानमा प्रतिपक्षी सांसदको लाइन र उनीहरुलाई छेक्न बसेका मर्यादा पालककै कारण रोष्टम पुग्न मन्त्रीलाई अप्ठ्यारो अवस्था थियो।

रोष्टम घेर्न गएका कांग्रेसका सांसदलाई हटाउने प्रयास गर्दै मर्यादा पालक।

तर, मन्त्री जीवन घिमिरे अस्वभाविक तरिकाले कांग्रेसका सांसदलाई छलेर सोहीबीचबाट रोष्टम पुगेका थिए। मन्त्री रोष्टममा पुगेपछि सत्तापक्ष नेकपाका सांसदहरुले भने ताली बजाएर स्वागत गरेका थिए।

रोष्टम पुग्नु भएका मन्त्री घिमिरेले होहल्लाकै बीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पारित गरियोस् भन्दै प्रस्ताव पेश गर्नुभयो। उक्त प्रस्ताव सभामुखले निर्णयार्थ पेश गर्दा सत्तापक्षका सांसदहरुले खरो स्वरमा ‘हुन्छ’ भनेका थिए।

रोष्टम घेर्न पुगेका कांग्रेसका महिला सांसदलाई पुरुष मर्यादा पालकले अस्वभाविक धरपकड गरेको भन्दै कांग्रेस सांसदले बेलबाटै सभामुखको ध्यानाकर्षण गराउन खोजे। यद्यपि सभामुखबाट उक्त कुराको कुनै सुनुवाई भएन। कांग्रेस सांसदहरु एकोहोरो बाटो छेक्ने कोशीस गर्दा मर्यादा पालकसँग धकेलाधकेलसमेत भएको थियो।

कांग्रेस अवरोधका कारण दुई पटक स्थगित भएको संसद बैठक आइतबार पनि नाराबाजीकाबीच संचालन भएको थियो। कांग्रेसका सांसदहरुले रोष्ट्रममा गएर संसदीय सर्वोच्चता कायम गर, अधिनायकवादी अभ्यास बन्द गर जस्ता नारा लगाएका थिए। प्रदेशसभाले हालसम्म ३ दर्जन बढी विधेयक पारित गरि सकेको छ। विधेयक पारित गर्दा सत्तापक्ष र विपक्षको रुपमा १ नम्बर प्रदेशसभामा विवाद भएको यो पहिलो हो।

सत्तारुढ र प्रतिपक्षीको आरोप–प्रत्यारोप

बहुमतका आधारमा विधेयक पारित गरेपछि कांग्रेसले संसदीय सर्वोच्चता हनन् भएको र माथिको आदेशमा प्रदेशसभालाई पंगु बनाउने प्रयास भएको प्रतिक्रिया दिएको छ। यता, सरकारले भने लोकप्रिय कम्युनिष्ट नेता मनमोहन अधिकारीको नाम जोडिएको कारण कांग्रेसले बिनाकारण विरोध गरेको दाबी गरेको छ।

विधेयक विश्वविद्यालयको मर्म र भावना विपरीत रहेको भन्दै नेपाली कांग्रेसका सांसदले संसद सुरु भएलगत्तै विरोध र नाराबाजी सुरु गरेपनि बैठकले बहुमतका आधारमा पारित गरेको छ। एउटाले विरोध गर्ने र अर्कोले जबर्जस्ती पारित गर्ने क्रियाकलापप्रति दुवै पक्षले एकअर्कालाई दोषारोपण गरेका छन्।

भिडियो

 

संसदमा देखिएको क्रियाकलापबारे प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार छायाँ जस्तो बनेको र खेल माथिबाटै भएको आरोप लगाउनु भयो। उनले संसदीय अभ्यास अनुसार आफूहरुले बेल घेरेको र विधेयकमा विरोध गरेको इतिहास दर्ज गरेको भन्दै आफूहरु सफल भएको दाबी पनि गरे।  

‘विधेयक यसरी पारित गर्नुको कारण माथिको आदेश रहेछ,’ कार्कीले भने, ‘रक्षामन्त्री इश्वर पोखरेल मनमोहन प्रतिष्ठानको अध्यक्ष भएका कारण सरकारले जबर्जस्ती गरेको रहेछ, यसरी संसदलाई छलेर, संसदलाई पंगु बनाएर विधेयक पारित गरिनु संसदीय सर्वोच्चता विपरीत छ।’

यता सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने कांग्रेसले कम्युनिष्ट नेता मनमोहन अधिकारीको नाम आएकै कारणले विरोध गरेको बताए। उनले सामाजिक विकास समितिमा रहेर छलफल गर्दा पनि कांग्रेसका सांसदहरुले विधेयक नै नपढेको जस्तो गरेर संसदमा अस्वभाविक गतिविधि गरेको आरोप लगाए। 

आफूलाई रोष्टममा जान नदिने गरी कांग्रेसका सांसदहरुले बल प्रयोग गर्न खोज्नु र प्रक्रिया विपरीत जान खोज्नु संसदीय मर्यादा विपरीत रहेको उनले प्रतिक्रिया दिए।

प्रमुख सचेतक कार्कीले भने अहिलेसम्मको सहमतिको संस्कृति १ नम्बर प्रदेशमा मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयकले तोडेको बताए। उनले सरकारले जबर्जस्ती सभामुखलाई चेपुवामा पारेर विधेयक पारित गरेको पनि बताए।

९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुई तिहाई मत रहेको छ। यता, १३ सदस्यीय सामाजिक विकास समितिमा पनि नेकपा एक्लैको ९ सदस्य रहेको छ। नेकपाको बहुमतका आधारमा समितिले प्रतिवेदन पारित गरेको थियो। संसदको अर्को बैठक बुधबारका लागि तोकिएको छ। सोही दिन वर्षे अधिवेशन अन्त्य हुने संसद सचिवालय स्रोतले जनाएको छ।

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.