|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आर्थिक वर्षको सुरुआतको गति सकारात्मक देखिएकाे छ। प्रदेशका प्राथमिकताका आयोजनाको काम तीब्र गतिमा अगाडि बढाउन, संघीय सरकारका आयोजनामा भएका अवरोध हटाउने काममा मुख्यमन्त्रीको सक्रियता देखियो।

प्रदेश १ का मुख्यमन्त्री राईले भदौको दोस्रो हप्तामा आयोजना गरेको सोलु करिडोर प्रसारण लाइन समस्या समाधानको पहल सकारात्मक थियो। त्यसपछि मुख्यमन्त्रीले धरान-विराटनगर ६ लेन सडक निर्माणमा भएको अवरोध र ढिलाईप्रति पनि भदौको तेस्रो हप्ता सरोकारवालाई बोलाएर आवश्यक निर्देशन दिए। 

रानी-विराटनगर-इटहरी-धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ। ६ वर्ष अगाडि निर्माण सुरु भएको यो सडक २०७६ सालभित्र सक्नुपर्ने समायावधि हो।

‘विद्युत् पोलदेखि विभिन्न समस्याले साइड क्लियर नहुँदा समयमा काम सकिने छाँट नदेखिएपछि मुख्यमन्त्रीको सक्रियता बढेको हो’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने। सडक निर्माणसँग सम्बन्धित सबै पक्षले आफूले काममा तदारुकता देखाएको भनेको भएपनि काम ढिलाइ हुनुमा भने एकले अर्कालाई दोषारोपण गरिरहेका थिए।

मुख्यमन्त्रीको छलफल पछि विद्युत्का पोल गाड्ने र तार टांग्ने काम धमाधम भइरहेको छ। त्यस्तै वर्षालाई छल्दै विराटनगरका सडक बन्ने क्रमले तीब्रता पाएको सबैले अनुभूति गरेका छन्। त्यसलगत्तै मुख्यमन्त्रीले विराटनगरको लो भोल्टेज समस्या समाधानका लागि कटहरीमा निर्माण गरिएको सवस्टेसन संचालनका लागि गिधनिया वस्तीमा भएको अवरोध खुलाउन सरोकारवालासँग छलफल गरे।

सो छलफल पछि गिधनियामा छिट्टै प्रसारण लाइन टाँग्न सकारात्मक वातावरण बनेको प्राधिकरण स्रोतको भनाइ छ। त्यति मात्रै होइन प्रदेश यातायात कार्यालय इटहरीमा लाइन बस्नुपर्ने समस्या समाधानका लागि पहल गरे। उदयपुरमा यातायात कार्यालय खोलियो। लाइसेन्स वितरणमा भएको जटिलता फुकाउन अहिले पनि मुख्यमन्त्री कार्यालयले आवश्यक गृहकार्य गरिरहेको जनाएको छ। 

यसका साथै मुख्यमन्त्रीले प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको घिनाघाट-विराटचौक सडकलाई ४ लेन बनाउने कामको सुरुवात भएको छ। कामको सुरुवात भएपछि लामो समयदेखि थाँती रहेको ४ लेनको सडक बनाउने स्थानीय जनप्रतिनिधि खुसी भएका छन्।

‘हाम्रो लामो समयको सपना पूरा भएको छ’ सो क्षेत्रका प्रदेशसभा सांसद विजय विश्वासको भनाइ छ ', दुई वर्षभित्र यो सडक बन्ने ठेक्का हो। निर्माण सम्पन्न भए प्रदेश सरकारप्रति जनताको सकारात्मक धारणा बन्नेछ।’

मुख्यमन्त्री राईले उक्त सडक निर्माण समयावधि भन्दा अगाडि सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.