|

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ शहिद स्मारक शहिदको मुर्तिहरुको बगैंचाको रुपमा रहेको छ। हेटौंडाकै पहिचानको रुपमा रहेको शहिद स्मारक अहिले प्रदेश ३ कै राजनीनितक, ऐतिहासिक पर्यटकिय स्थानको रुपमा पछिल्लो समय चर्चित हुँदै आएको छ। हेटौंडाबाट ७ किलोमिटर पश्चिमस्थित स्मारकको २०५१ साल माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले अनावरण गरेका थिए।

२०४६ यता ज्यान आहूति दिनेहरूको सम्झनामा भने स्मारकमा ६५ फिट अग्लो सहिद स्तम्भ निर्माण गरिएको छ। १९ मिटर अर्धव्यास रहेको स्तम्भमा सहिदहरूको अमूर्त चित्र, आन्दोलनमा प्रयोग भएका गोला, बारुद, बन्दुक र लाठीलगायतको चित्र अंकित छन।

नेपालको आकर्षक नक्साको जगमा साढे १ करोडको लागतमा स्तम्भ निर्माण गरिएको हो। यसबाहेक, ६० लाखका लागतमा सहिदहरूवारे विस्तृत अध्ययन गर्न सहिद ग्यालरी बनाइएको छ। तीन कठ्ठा जमिनमा फैलिएको ग्यालरीको प्रवेशद्वारमै ९७ सालका चार सहिदका आकृति कुँदिएका तस्बिर रहेका छन्। स्मारकको प्रवेशद्वार नै सुन्दर छ, करिब २५ लाख खर्चमा बनाइएको। १७ लाखमा निर्मित झोलुङ्गेपुलले स्मारकलाई थप आकर्षण बनाएको छ ।

शहिद स्मारकको अध्यक्ष समेत रहेका ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहिद स्मारकलाई देशकै उत्कृष्ट स्मारकको रुपमा परिचत गराउने उद्देश्य रहेको बताएका छन्।

मुख्यमन्त्री पौडेलले एक सार्वजनिक समारोहमा प्रदेशको मुख्यमन्त्री छोड्नु परे पनि स्मारकको अध्यक्ष नछोड्ने बताएका थिए। उनले स्मारक सँग आफ्नो जीवनको महत्वपुर्ण समय जोडिएको भन्दै यसलाई अझ उत्कृष्ट बनाउने प्रयास गर्ने समेत बताएका छन्। अहिले दैनिक ३ सय भन्दा बढि मान्छेले शहिद स्मारकको अवोलकन गर्ने गर्छन्।

२५ टनको एउटै ठुलो ढुंगामा राष्ट्रको स्वाधीनताका निम्ति ब्रिटिस सेनाविरुद्ध लडेर वीरगति प्राप्त गर्ने भक्ति थापा, १०४ वर्षीय जहानियाँ राणाशासनविरुद्ध प्रजातन्त्र प्राप्तिको लडाइँ अमरत्व प्राप्त गर्ने वीर सपूतहरू दशरथ चन्द, गंगालाल, धर्मभक्त, र शुक्रराज शास्त्री र २०१७ सालपछि पञ्चायती निरकुशताविरुद्ध छेडिएका विभिन्न जनसंघर्षका क्रममा वीरगति प्राप्त गर्ने रत्नकुमार बान्तवा, भीमदत्त पन्त, क्या. यज्ञबहादुर थापा, दुर्गानन्द झा, वीरेन्द्र राजवंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको आकृति कुँदिएका छन्। 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.