सडक किनारमा १२ जनाको परिवार

|

डडेल्धुरा : भीमदत्त राजमार्ग छेउमै सीता नेपालीको घर छ। उनी मुक्त हलिया हुन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भाँत्काँडाकामा दलित र मुक्त हलिया सीताको १२ जनाको परिवार छ। न जग्गा न घर, उनीहरुले १२ जनाको परिवार बालुवा बोकेर पालिरहेका छन्। सीता नेपाली र जगदीश नेपाली दम्पत्तीको जीवन यसैगरि चलेको छ।

२०३५ सालमा बैतडीबाट बसाइसराई गरी आएका उनीहरुले मालिकको हलो जोतेर नै अरुकै जमिनमा अर्थात् त्यो सयमको एक नांगो डाडाँमा बस्ने परिवारले पक्की घर बनाइ सकेको थियो।

तर भाँत्काँडा गाउँका स्थानीय नागरिकले २०४६ सालमा घर जमिन आफ्नो भएकाले यहाँबाट गएर आफूहरूको समुदायिक वन क्षेत्र पर्ने भीमदत्त राजर्माग (स्याउले-अत्तिरीया) को सडक किनारामा बस्न भनियो।

त्यहाँ बसेको करिब २५ वर्षपछि सामुदायिक वनका उपभोक्ताले आफूले घडेरी बनाउनका लागि ठूला-ठूला रुखसहित पहाडलाई तराई जस्तै बनाए। ‘वनका उपभोक्तले संयुक्त घडेरीका लागि मध्यरात हामी निदाएपछि वा जिल्ला वन कर्मचारी बिदामा भएको मौका छोपी वन फँडानी गरी घडेरी बनाउँदै छन्। 

‘हामीलाई त यो सडक किनारामा जसोतसो बनाएको झोपडी पनि फाल्ने भए यो ठाउँबाट हटाउन लागे सर’ सीताले भनिन्, ‘पहिले नाङ्गो डाडाँमा पक्की घर थियो त्यहाँबाट हटायो भत्काँडी (गाउँको नाम) ले । मेरो विवाह त यही घरमा भएको हो। मलाई धेरै थाहा छैन।’ 

‘मेरा माइती पनि गरिब नै थिए, स्कुल पढन् पाइनँ। हलिया परिचयपत्र पनि छैन कसरी बनाउने हो त्यो पनि थाहा छैन। सासुलाई थाहा होला घर छैन। भावना (छोरी) को बाबा बालुवा बोक्ने काममा छन’ उनले सुनाइन्।

हलिया परिचयपत्र भए उनीहरूको परिवारलाई जग्गा खरिददेखि घर निर्माणसम्मको रकम सरकारको मुक्त हलिया पुनःस्थापना कार्यक्रममार्फत पाउने हक हुने थियो। तर, दुभाग्य उनीहरूसँग त्यो पनि छैन।

२०६६ सालमा संकलन भएको तथ्यांक मन्त्रालयमा पठाएको र नेपाली परिवारको मात्र नभए र साविकको असिग्रामको १२२ घरपरिवारको तथ्यांक नै मन्त्रालयले हराएको जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष भरत सार्कीले बताए।

‘हामीले संकलन गरेको तथ्यांकमा जगदीश नेपाली परिवारको नाम छ। हामीले माथि पठाएको लिष्टमा पनि छ। मन्त्रालयबाट जिल्ला मालपोतमा आएको परिचयपत्रमा उनीहरूको नाम छैन। मन्त्रालयले उनीहरूसहित गन्यापधुरा १ का १२२ जनाको नाम गायब गरेको छ’ अध्यक्ष सार्कीले भने, ‘यसमा हाम्रो कुनै कमजोरी छैन। उनी पाउने मुक्त हलिया चाहिँ हुन्। त्यसमा कुनै दुई मत छैन।’

हातमुख जोड्न मजदुरी

सुकुम्बासी जस्तै भएका सीताको परिवार अहिले एकजनाले धानेको छ। उनका श्रीमान (जगदिश) बिहान बेलुका हातमुख जोड्न बालुवा सिमेन्ट, काठ, तथा सडक मजदुरी गर्छन्। ऐलानी जग्गामा बसेका परिवारको घर आगन तथा बारी सडक नै भएको छ। १२ जना परिवार रहेको बताउने सीता मात्र घरमा भेटिइन्।

दुई छोरा, दुई छरीकी आमा सीता सासुबाट पनि त्यो सानो झोपडीमा छुटिएकी छन्। ‘सासुआमाको रातदिनको कचकच सहन सकिँदैन। अरुको एक कोठामा चुलोमा आगो उनले बाल्छन् एकमा मैले पकाउने समान ल्याउने भावनाकै बुवा हुन्’ सीताले भनिन्, ‘ससुराबा त लामो समयदेखि बिरामी भइ भित्र नै सुतेका छन्।’

सीताको माग अब सरकारसँग २५ वर्षबाट आफू बसेको जग्गा नाममा गरी दिनुपर्ने वा मुक्त हलिया परिचयपत्र दिई उचित पुनर्स्थापना गर्नु पर्ने छ। 

नचुहिने घरमा सुत्न मन

‘सडक किनारको वनमा कति बस्नु, अब त सरकारले परिचयपत्र हामीलाई पनि दिन पर्थ्याे। अनि सबैले घर बनाउन जग्गा किन्‍ने बजेट पाएको सुन्छु। हामी कहिले पाउने? हामीलाई पनि जग्गा देऊ सरकार। मर्नुभन्दा पहिले पत्थर लगाएको नचुहिने घरमा सुत्‍न मन छ।’ 

उनीहरूलाई हलिया आन्दोलनको दबाबबाट नेपाल सरकारले वि.स.२०६५ भाद्र २१ गते मुक्तिको घोषणा गरेको थियो। मुक्त हलिया घोषणा गरेको ११ वर्षसम्म परिचपपत्र समेत भएको छैन। हलिया मुक्ति घोषणा भएको ११ पूरा भए पनि मुक्त हलियाको उचित पुनर्स्थापना हुन अझै सकेको छैन।

सरकारले मुक्ति घोषणा गरे पनि वास्तविक हलियाको अवस्था भने उस्तै छ। मुक्त भइसकेका हलियाको उचित पुनर्स्थापना हुन नसक्दा उनीहरू दयनीय जीवन बिताइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.