ओपनहाउस काउन्सिलिङ पनि रोक्नुपर्ने

|

काठमाडौं : मेडिकल कलेजहरूले असुलेको अवैध शुल्क फिर्ता नगरेसम्म उनीहरूको सिट निर्धारण तथा ओपन हाउस काउन्सिलिङ रोक्न चिकित्साशिक्षाका विद्यार्थीले माग गरेका छन्। 

सोमबार ४ वटा  प्रमुख निकायलाई एकैपटक चारवटा मागसहितको ज्ञापनपत्र बुझाउँदै आगामी शैक्षिक सत्रका लागि निजी मेडिकल कलेजहरूको सिट निर्धारण प्रक्रिया अघि नबढाउन विद्यार्थीहरुले आग्रह गरेका हुन्। 

मेडकल कलेजहरूले अवैधरुपमा धेरै रकम असुलेको भन्दै विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता गरेपछि मात्रै सिटनिर्धारण तथा काउन्सिलिङ प्रक्रिया अघि बढाउनुपर्ने भनेका हुन्।

चिकित्सा शिक्षा संघर्ष समितिसहित चितवन र गण्डकी मेडिकल कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले सोमबार चिकित्सा शिक्षा आयोग काठमाडौं, नेपाल मेडिकल काउन्सिल बाँसबारी, चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (आइओएम) महाराजगन्ज र काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलमा एकसाथ ज्ञापनपत्र बुझाएका हुन्।  

विद्यार्थीले अवैध शुल्क फिर्ताको पछिल्लो आन्दोलनका क्रममा विद्यार्थीको पढाइ झन्डै एक महिना बिथोलिएकाले यस वर्षको बोर्ड परीक्षा एक महिनापछि सारिदिन आइओएमसमक्ष अनुरोध गरेका छन्।

स्नातक तहका सबै कार्यक्रमको पहिलो र दोस्रो वर्ष, बिडिएस अन्तिम वर्ष तथा बिएमआइटी तेस्रो र चौथो वर्षको बोर्ड परीक्षा एक महिना सारिदिन उनीहरुले आग्रह गरेका हुन् । वार्षिक शैक्षिक क्यालेन्डर नबिगारी परीक्षापछिको बिदाबाट कट्टा हुने गरी बोर्ड परीक्षा एक महिना सार्न सकिने सुझाव विद्यार्थीले दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.