नेपाल र चीनबीच सदियौँदेखि जनस्तरको सम्बन्ध रही आएको छ। अभिलेखित इतिहासअनुसार चिनियाँ महान् बौद्ध भिक्षु फाँसियानको लुम्बिनी यात्रा, नेपालका बौद्ध विद्वान बुद्धभद्रको चीन यात्रा, चिनियाँ बौद्ध विद्वान वेन साङ्को लुम्बिनी यात्रा र नेपाली राजकुमारी भृकुटीको तिब्बती राजासँगको विवाह जस्ता पाँचौँ शताब्दीको सुरुदेखि सातौँ शताब्दी भित्रका घटनाले १६०० वर्ष अघिको हाम्रो सांस्कृतिक सम्बन्धको गहिराइ आकलन गर्न सकिन्छ।
१३ औँ शताब्दीमा नेपाली कलाकार अरनिको नेतृत्वको टोलीले बनाएको बेइजिङ सहरको मध्यभागमा रहेको विशाल श्वेत चैत्य र उथाइसानको श्वेत चैत्य हाम्रा ऐतिहासिक सम्बन्धका शिखर नमुना हुन्। त्यही ऐतिहासिक विरासतमा उभिएर सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भए पछि नेपाल र चीनबीच आधुनिक सम्बन्ध निरन्तर विकास हुँदै आएको छ। एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, सार्वभौम समानता, समझदारी, मित्रता र असल छिमेकीपन हाम्रा सम्बन्धका आधारभूत मान्यता हुन्।
नेपालले शब्दमा मात्र होइन व्यवहारमै एक चीन नीतिलाई दृढतापूर्वक अवलम्बन गरेको छ र नेपाली भूमिमा चीन विरोधी गतिविधि नसहने नीति हाम्रो सम्बन्धको एक आधारभूत कडी हो। नेकपाको वैदेशिक नीतिमा हामीले यो विषय स्पष्ट ढंगले उल्लेख गरेका छौँ। नेपालको आर्थिक, सामाजिक विकासमा चीनको सहयोग एकदमै महत्त्वपूर्ण छ।
चिनियाँ सरकार र जनता चीनका महामहिम राष्ट्रपति सी जिनपिङले अगाडि सारेको बिआरआईले नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्योगिकीकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढाइदिन्छ। त्यसैले बडो सोची विचारी बिआरआई सम्बन्धी साझा समझदारी पत्रमा मेरै प्रधानमन्त्रीत्वकालमा हस्ताक्षर गरेका हौँ।
हालका दिनमा बिआरआईको फ्रेमवर्कमा रहेर उच्चतहमा राजनैतिक समझदारी, आर्थिक क्रियाकलाप र सांस्कृतिक तथा जनस्तरको सम्बन्ध निरन्तर विकसित हुन गइरहेको छ। हालै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको ऐतिहासिक राजकीय भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तथा चीनका स्टेट काउन्सलर तथा परराष्ट्रमन्त्री वाङ यी को नेपाल भ्रमणले यो प्रक्रियालाई नयाँ उचाई तिर लगिरहेका छन्। यस पृष्ठभूमिमा सरकारले यथोचित तयारी गरी चीनको तर्फबाट ऐतिहासिक उच्चस्तरीय भ्रमण गराउने कुरामा हामी विश्वस्त छौँ।
कुनै पनि राजनैतिक प्रणाली जनताको जीवनस्तर उकास्ने एक साधन मात्र हो, साध्य होइन। राजनैतिक प्रणाली समाज विकासको विशिष्ट आवश्यकताको उपज हो। त्यसैले इतिहासका विभिन्न कालखण्डमा समाजको विशिष्ट आवश्यकता अनुसार राजनैतिक प्रणाली वा वादको जन्म र विकास भएको पाइन्छ। युरोपको औद्योगिक क्रान्ति र पुँजीवादको तीव्र विकाससँगै श्रमको चरम दोहनको जगमा मार्क्सवादको जन्म भयो।
मार्क्सवादकै आलोकमा जनवादी क्रान्ति सम्पन्न गरी चिनियाँ विशेषतासहितको समाजवाद निर्माणको मौलिक मार्ग मार्फत आर्थिक विकासको नयाँ उचाई हासिल गरेको चीनबाट मानव जातिले शान्ति, स्थिरता र समृद्धिको उचित अपेक्षा गरेको छ। चिनियाँ शैलीको समाजवादबारे अहिले विश्वव्यापी बहस चलिरहेको छ। राजनैतिक रूपमा चिनियाँ कम्युनिस्ट पार्टीले सत्तामा बसिरहने वैधता जनताको अपेक्षा पूरा गरेको आधारमा प्राप्त हुन्छ भन्ने मान्यता राख्छन्। संसारको कुनै शासन प्रणालीले दिन नसकेको चिनियाँ जनताको आत्मसम्मान, गौरव र तीव्रता गतिको आर्थिक विकास जनतालाई चिनियाँ कम्युनिस्ट पार्टीले दियो। ९ करोड सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरूको अनुशासनको पालना निक्कै उदाहरणीय रहेको छ। कम्युनिस्टहरूमा अनुशासन भएन भने कुनै पनि रूपान्तरणको नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन। विचारको स्पष्टता र संगठनात्मक अनुशासन नै कम्युनिस्ट पार्टीको औचित्यका प्रमुख आधार हुन्। महासचिव सी जिनपिङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले गरेको विकासको मूल आधार यसैमा निहित रहेको छ।
राष्ट्रपति सीले कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी र उपलब्धिमा साझा स्वामित्वबाट दिगो अन्तर्राष्ट्रिय सम्बन्ध तथा साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य अन्तरनिर्भर छ भन्ने दृष्टिकोण अगाडि ल्याउनु भएको छ। चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरूसँग बिना शत्रुता विकासको चाहना गरेका तर साधन र क्षमता नभएका विकासोन्मुख मुलुकलाई साथै लिएर अगाडि बढ्न बाटो अवलम्बन गरेको देखिन्छ।
समाजवादमा कम्युनिस्टले जनताको सेवा गरेर उनीहरूको मन जितेर मात्र शासनको वैधता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। तर शासनमा बस्नेहरू बिस्तारै अनुशासनमा नबस्ने र जनताको सेवा गर्न भन्दा धनीमानीको पक्षमा वा सुखसुविधामा लागेमा कम्युनिस्टको शासन गर्ने वैधता समाप्त हुन्छ। त्यसैले जनताको मन जित्न सक्षमलाई नेतृत्व सुम्पने र निरन्तर जनताको समर्थन पाउन अनुशासनमा रहनुपर्दछ।
समाज समृद्ध हुनका लागि सांस्कृतिक रूपले समुन्नत हुनुपर्छ भन्ने मान्यताले महान् चिनियाँ सभ्यताको पुनर्जागरणलाई समाजवादी समाज विकासका अपरिहार्य शर्तका रूपमा महासचिव सी जिनपिङले अगाडि सार्नु भएको छ। यिनै आधारभूत विशेषताका कारण महासचिव सी जिनपिङ विचार आज विश्वव्यापी बहसको विषय बनिरहेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको लामो अनुभवबाट समेत शिक्षा लिँदै हामीले नेपाली विशेषता अनुसार कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने र समाजको राजनैतिक, आर्थिक र सांस्कृतिक रूपान्तरण गर्ने प्रयत्न गर्दै आएका छौँ। कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली जनताले चलाएको सशस्त्र र शान्तिपूर्ण संघर्ष एवम् बलिदानको लामो श्रृंखला पश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा आइपुगेको छ।
इतिहासका सबै सकारात्मक र नकारात्मक अनुभवहरूको समीक्षासहित नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टीहरूको एकताले नेपाली जनतामा स्थिरता र समृद्धिको
नयाँ आशा र भरोसाको सन्देश दिएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न अहिले शान्तिपूर्ण प्रतिस्पर्धा र लोकप्रिय मत सहित सरकारको नेतृत्व गरिरहेको हाम्रो नेपाल कम्युनिस्ट पार्टीले जोड लगाइरहेको छ। सामाजिक न्यायसहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने हाम्रो स्पष्ट रणनीति रहेको छ। नेपालको संविधानले नै समाजवाद उन्मुख राज्यको ठोस दिशानिर्देश गरेको छ।
(‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।