|

ताप्लेजुङ : इवाखोला जलविद्युत आयोजनाबाट ९.९ मेगावाट बिजुली उत्पादन सुरु भएको छ। रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले निर्माण गरेको उक्त आयोजनाबाट असोज १ देखि बिजुली उत्पादन सुरु भएको हो। 

रैराङले दोस्रोे आयोजनाको रूपमा पाँचथर तथा ताप्लेजुङको सिमाना भई बग्ने इवाखोलामा निर्माण गरेको उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडिएको छ। १३२ केभी काबेली कोरिडोर प्रशारण लाइनको अमरपुर सब–स्टेशनमा जडान गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता भएको थियो।

उक्त प्रशारणलाइन गत साउन २१ मा सम्पन्न भई लाइन चार्ज भएपछि इवाखोलाबाट उत्पादित विद्युत ग्रिडमा जोडिएको हो। रैराङ हाइड्रोपावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता २०७० बैशाख २१ मा सम्पन्न भएको थियो। सम्झौता अनुसार २०७५ जेठ १ देखि विद्युत् खरिद गर्ने सम्झौता भएको थियो। तर, काबेली कोरिडोर प्रशारण लाइनको निर्माण तोकिएको समयमा सम्पन्न नभएकाले आयोजना सम्पन्न गर्न १३ महिना बढी लागेको छ। 

यस आयोजना निर्माण गर्न १ अर्ब ८२ करोड रुपैयाँ लागेको आयोजनाले जनाएको छ। जसमध्ये ६९ प्रतिशतले हुने १ अर्ब २६ करोड रुपैयाँ बैंक अफ काठमाण्डुको अगुवाइमा माछापुच्छे«, सिटिजन्स, सिद्धार्थ र एनसिसी बैंक लिमिटेडको लगानी छ। बाँकी ३१ प्रतिशत सेयरधनीहरुको स्वलगानी रहेको छ। 

आयोजनाको हेडवक्र्स पाँचथर तथा ताप्लेजुङको सिमाना इवा सिंवा दोभानमा छ भने विद्युत् गृह इवा काबेली दोभानमा छ। लेकाली क्षेत्रबाट बग्ने खोला भएकाले सुक्खायाममा पनि पानी नघट्ने हुनाले यो आयोजनाबाट बाह्रै महिना एकनासले विद्युत् उत्पादन हुने आयोजना प्रमुख कुबेरमणि नेपालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.