दुई महिनामै १० करोड राजस्व

|

सिन्धुपाल्चोक : २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका चार वर्षपछि खुल्यो। तर, नाका सञ्चालनमा आएपछिको मुख्य सिजनमै बन्द भएको छ। शुक्रबारबाट रमिते बजार छेउबाट सडक भासिएपछि निर्माणको लागि १० दिनको लागि बन्द गरिएको हो। 

चिनियाँ टोलीले भत्किएको ठाउँमा निर्माण गर्नका लागि १० दिन लाग्ने बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। अहिले चिनियाँ प्राविधिक टोलीले काम निरन्तर रुपमा गरिरहेको उनले बताए। सामाग्री आउन छोडेपछि भन्सार कारोबार अहिले सुनसान भएको छ। 

तातोपानी नाका पनि पूर्ण रुपमा ठप्प भएपछि नेपाल चीन जोड्ने दुबै नाका बन्द भएको छन्। निरन्तरको बर्षाको कारणले रसुवागढी नाका समेत बन्द रहेको छ  रसुवाको राम्चे क्षेत्रमा पहिरोले गएकाले सो नाका पनि बन्द भएको हो। भूकम्पपछि तातोपानी नाका बन्द हुँदा रसुवागढी नाकाबाट आयात निर्यात हुदै आएको थियो। 

दुवै नाका बन्द हुँदा करोडौँको सामान खासामा कन्टेनरमा लोड भएर बसेका छन्। पहिरोले रसुवागढी नाका बन्द धएपछि झन्डै एक सय कन्टेनर स्याउ बोकेर खासा हुँदै काठमाडौं भित्रए-भित्रिँदै थिए। 

मर्कामा नेपाली 

नेपालीहरुको महान् चाड दसैं नजिकिँदै छ। दसैंलक्षित सामाग्री लिन नेपाली व्यापारी यतिवेला तिव्बतको खासा पुगेका छन्। तर, चिनियाँ टोलीले नाका बन्द गरेर सडक निर्माण थालेपछि नेपाली व्यापारीहरु मारमा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए। 

चाडपर्वमा चिनियाँ सामाग्री कम भित्रिने भएपछि सामाग्रीको मुल्य बढ्न सक्ने उनले बताए। रसुवागढी नाका बन्द भएपछि दशै लक्षित सामाग्री निर्यातका लागि तातोपानी पुगेका थिए। अहिले बिशेष गरि भेडाच्याङ्ग्रा लिन जाने व्यापारी खासामा अलपत्र परेर बसेका उनको भनाई छ।

दुई महिनामा १० करोड राजस्व

तातोपानी नाकामा दुई महिनामा १० करोडभन्दा धेरै राजस्व संकलन भएको भन्सार अधिकृत केशवराज ओलीले जनाए। रसुवागढी नाका बन्द हुनु र चाडपर्वले गर्दा व्यापारमा वृद्धि भएका कारणले राजस्व संकलनमा वृद्धि भएको उनले बताए। 

सामान लिनो लागि करिब ४० वटा भन्दा धेरै कन्टेनर खासा गएको समेत उनको भनाई छ। नाकाबाट मासुको लागि भेडाच्याङ्ग्रा, तयारी पोशाक, स्याउलगायतको अन्य फलफुल आयात हुने गरेको छ। 

रसुवागढीका व्यापारी तातोपानी सरेको हुनाले असोजको चार दिनमै भन्सारले साढे दुई करोड रुपैयाँ राजस्व संकलन गरेको बताए। गत शनिबार मात्रै ८४ लाख राजस्व एकै दिनमा संकलन भएको उनको भनाई छ।

सिन्धुवासीलाई प्रवेश खुला

नजिकिँदै गरेको चाड दसैंलाई लक्षित गरी तिब्बतको खासा क्षेत्रमा सिन्धुपाल्चोकवासीलाई प्रवेश खुला गरिएको थियो। व्यापारिक कामका लागि खासा तथा न्यालम जिल्ला जान पाउने गरी सिन्धुपाल्चोकका बासिन्दाकाका लागि मात्रै प्रवेश खुला गरिएको बताइएको छ। 

चीनको स्वशासित क्षेत्र तिब्बतबाट स्याउ, रेडिमेड कपडा, इलेक्ट्रनिक्स सामान, दसैंका लागि भेडाच्यांग्रा लिन जाने व्यापारी र लोड अनलोड गर्ने मजदुरलाई अध्यागमन कार्यालय कोदारीले प्रवेश पास जारी गर्न थालेको हो। पास उपलब्ध गराउन थालेसँगै दैनिक ५०-६० नेपाली कामको सिलसिलामा खासा प्रवेश गर्ने गरेका थिए। 

सिन्धुवासीका लागि नागरिकताको फोटोकपी बुझाएपछि सोही प्रकारको एकवर्षे प्रवेश पास दिइनेछ। हाललाई चालक, व्यापारी र सर्वसाधारण जो भए पनि सिन्धुपाल्चोकवासीलाई मात्रै पास उपलब्ध गर्ने नियम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.