बीमित भन्छन् : अस्पतालमा हामीलाई दोस्रो नागरिकजस्तो व्यवहार गरियो

|
फाइल फोटो

जाजरकोट : आठविसकोट नगरपालिका-९ रुकुम पश्मिकी ममता पुनले छोरी बिरामी भएपछि आठविसकोट राडीस्थित नगर अस्पतालमा उपचारमा लगिन्। उनले त्यहाँ लगे पनि छोरी रेनुका पुनको उपचारमा सहज भएन। स्वास्थ्य बीमा गरेकी ममताको परिवारले नगर अस्पतालमा उपचारमा पुगे पनि औषधि भने निजी औषधी पसलबाट खरिद गर्न बाध्य भएको बताइन्।

त्यस्तै, जाजरकोट नलगाड नगरपालिका-७ रामबहादुर गिरी नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि गएको तर बीमित भएको रकमबाट उपचार गर्न नपाउँदा आक्रोष पोखे। 'बीमा गरेपछि उपचार गर्दा सजिलो हुन्छ भनेको आधारमा हामीले स्वास्थ्य बीमा गरौँ तर बीमा रकमबाट कुनै पनि अस्पतालले उपचार गर्न तयार छैनन्' उनले भने। बीमाको रकम महिनौपछि आउने भएकाले हामीलाई घाटा लाग्ने भन्दै कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आँनाकाँनी गरेको बिरामीले बताएका छन्।

अर्का भेरी नगरपालिका-१ रिम्नाका हरिमान पुनले दुखेसो पनि उस्तै छ। 'बीमा गरेका छौँ, यसैबाट काट्नु भन्दा यो रकम कहिले आउँछ, हामीलाई घाटा लाग्छ भन्दै औषधि नै दिन नमान्दा हैरान हुँदै आएको छ', उनले भने। बीमितहरू उपचारमा जाँदा व्यक्तिगत रकमबाट उपचार गरेर आउँन बाध्य भएको रुकुम पश्चिम आठविसकोट नगरपालिका-६ का कालीबहादुर विकले बताउँछन्।

सदरमुकामदेखि बाहिर उपचारका लागि जाने बिरामीहरू बीमाको रकमबाट उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गदै आएका छन्। कुशे गाउँपालिका-५ का रमिता पुन अब बीमा नवीकरण नै नगर्ने भन्दै आक्रोष पोख्छिन्। 'हामी बीमा गरेका बिरामीलाई अर्को दर्जाको नागरिक होला जस्तो गरेर भेदभाव गरिदै आएको छ, सीधै तपाईंको बीमाको रकम कहिले आउँछ, थाह छैन्, खुरुक्क पैसा तिरेर उपचार गर्नुहोस नत्र हामी उपचार गर्न सक्दैनौँ भन्दै हप्काउने गर्दछन्' उनले भनिन्।

आठविसकोटस्थित नगर अस्पतालको विभेदका विषयमा नगरप्रमुख गोरखबहादुर केसीसँग गुनासो गर्दा पनि सुनुवाइ नभएको आठविसकोट नगरपालिका-९ रुकुम पश्मिकी ममता पुनले बताइन्। बीमित स्थानीयवासी उपचारमा आए पनि सहज रूपमा औषधि नपाउँदै व्यक्तिगत रकम खर्च गरेर औषधि पसलबाट औषधि खरिद गर्न बाध्य भएको बताउँदै आएका छन्।

यता, जाजरकोट जिल्ला अस्पतालको फामेसी शाखाबाट बीमितलाई औषधि दिनका लागि दर, रेट नमिल्दा समस्य भएको बताएको छ। 'बीमाले तोकेको दर एउटा छ भने, हाम्रो अकै छ, त्यसैले गर्दा दैनिक हिसाब नै नमिल्दा अर्को समस्य थपिँदै आएको छ' फार्मेसी शाखामा कार्यरत लालबहादुर खत्रीले भने।

त्यसैगरी, सरकारको नीतिलाई असफल गराउने कार्यशैली ठीक नभएको जाजरकोट जिल्ला अस्पतालका अध्यक्ष धर्मशिला बस्नेतले बताए। जाजरकोट जिल्ला अस्पतालमा त्यस्तो समस्य आउँन नदिने भन्दै उनले भने, 'हामी जनताको मर्का बुझन तयार छौँ, जनताका प्रतिनिधि भएकाले उहाँहरूको सेवा र सजिलोपन नै हाम्रो पहिलो आधार हो।'

बीमित बिरामीले दुखेसोका बारेमा प्रतिक्रिया लिन खोज्दा आठविसकोट नगरपालिकाका नगरप्रमुख गोरखबहादुर केसीको फोन अफ भएका कारण सम्पर्क हुन सकेन भने नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा फोन पटकपटक सम्पर्क गर्दा पनि फोन उठेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.