|

सल्यान : परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ। तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नु पर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन्।

धेरै युवा विदेश जान चाहन्छन् तर थोरै युवा जो हुन्छन् उनीहरू यहि देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न पनि सफल छन्। यस्तै, युवामध्ये एक हुन बनगाड कुपिन्डे नगरपालिका वडा न १ सल्लीबजारका यम बहादुर बुढा र उनकी श्रीमती  सुनिता।

सुनिता बुढा तत्कालीन माओवादीको जनमुक्ति सेनाका सेक्सन कमाण्डर हुन भने यम बहादुर अखिल क्रान्तिकारीको जिल्ला सहसचिव हुन। तर द्वन्द्व समाप्त भएर विस्तृत शान्ति सम्झौता भएपछि बुढा दम्पत्तिको दैनिकी परिवर्तन भएको छ।

अहिले उनीहरूले व्यावसायिक भैँसी पालन गर्दै आइरहेका छन्। शान्ति सम्झौतापश्चात गाडीमा सहचालकको कामसमेत गरेका बुढाको दुई वर्षअघि गाडी दुर्घटना हुँदा दाँया खुट्टा भाँचिएको छ भने श्रीमती सुनिताको खारा आक्रमणमा घाइते भएकी थिइन्। उनको शरीरमा अहिले पनि एटीवानको छर्रा रहेका छन्।

माओवादी शान्ति प्रक्रियामा आउनुअघि हातमा बन्दुक र बम लिएर हिँड्ने बुढा दम्पत्ति आजभोलि भैँसीको गोवर र घाँस काट्न व्यस्त देखिन्छन्। ठूला साना गरी ५ वटा भैँसी पालन गर्दै आएका बुढा दम्पत्तिले अहिले दूध बिक्रीबाट मासिक ३० हजारभन्दा बढी आम्दानी गर्दै आइरहेको बताए।

बजारको मागअनुसार दूध पुर्‍याउन नसकिएको भन्दै यमबहादुर सल्लीबजारमा नै खपत हुँदै आइरहेको बताए। उनले भने ‘उत्पादनमुलक व्यवसाय सञ्चालन गर्ने विचारले कृषि क्षेत्रमा लागेका छौँ।’ नेपालमा पनि काम गरेर पैसा कमाउन सकिने भन्दै यही देशमा केही उदाहरणीय काम गरेर देखाउने योजनामा रहेको उनको भनाइ छ।

भैँसी पालनसँगै ३ रोपनी जग्गा वार्षिक रु १२ हजारमा भाडामा लिएर तरकारी खेतीगरी रहेको सुनिताले बताइन्। आधा/आधा रोपनीमा घाँस र तरकारी खेती गरी रहेको उनको भनाइ छ।

उनले भनिन् ‘आफैँ भैंसी पालन र तरकारी खेती नगरेको भए अहिले सायद बजारमा बस्ने वातावरणभन्दा गाउँघरमा समेत बस्न नसक्ने र सडकमा बसेर मागी खाने अवस्था आउने थियो।’

व्यवसाय थालेको छोटो समयमा राम्रो आर्थिक प्रगति गरेका बुढा भैँसी पालन व्यवसायमा सन्तुष्ट छन्। ‘पैसा कमाउन जागिरै खानुपर्छ, अनि विदशै जानुपर्छ भन्ने सोच त्याग्नु पर्छ' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.