‘सरुवा भएर यहाँ भएका कर्मचारी जान्छन्, तर आउने आउँदैनन्’

|
फोटो : रंगेली अस्पताल / अनिल श्रेष्ठ

विराटनगर : मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा रहेको रंगेली अस्पताल चिकित्सक र कर्मचारी अभावमा बेहाल बनेको छ। अस्पतालमा भएका आधुनिक उपकरणहरू स्टोर रूममा थन्किएका छन् भने १५ महिनादेखि सुरु भएको आमा सुरक्षा कार्यक्रम १ हप्ता अगाडिदेखि बन्द भएको छ।

२० शैयाको जिल्ला अस्पताल रहेको रङ्गेली अस्पतालाई अहिले स्थानीय तहको मातहतमा रहने गरि प्रथामिक अस्पतालमा परिणत गरिएको छ। जिल्ला अस्पताल हुँदा ४६ जनाको दरबन्दी रहेको यो अस्पतालमा अहिले २८ जनाको मात्र दरबन्दी रहेको अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर कटुवालले जानकारी दिए। दरबन्दी २८ जनाको भएपनि अहिले अस्पतालमा २० जना मात्र कर्मचारी छन्। अस्पतालमा अहिले सामान्य ओपिडि र आकस्मिक सेवाहरू मात्र संचालनमा छ।

आमा सुरक्षा कार्यक्रम बन्द

आमा सुरक्षा कार्यक्रम लागू भएको अस्पतालमा प्रसूती सेवा एक हप्तादेनि बन्द भएको छ। अस्पताल विकास समितिले करारमा नियुक्ति गरेको स्त्री तथा प्रसूति रोग विशेषयज्ञ डा. प्रियंका मिश्राले राजीनामा दिएपछि रङ्गेली अस्पतालमा प्रसूति सेवा बन्द भएको हो।

डा. मिश्रालाई १ लाख ४० रूपैयाँ मासिक तलब दिने गरि गत वर्षको वैशाखमा करारमा नियुक्ति गरि २०७५ जेठदेखि प्रसूति सेवा सुचारू भएको थियो। प्रसूति सेवा सुरू भएको १५ महिनापछि यो सेवा बन्द भएको हो। आर्थिक वर्ष २०७५/०७६ मा २ सय ९० जना गर्भवती महिलाको प्रसूति भएको सूचना अधिकारी कटुवालले जानकारी दिए।

जसमध्ये २५ जना गर्भवती महिलाको शल्यक्रिया गरि नवजात शिशुलाई जन्म दिएको थियो। ‘करारमा नियुक्ति हुनुभएको प्रसूति रोग विशेषयज्ञ डाक्टर प्रियंका मिश्राले राजीनामा दिएपछि सात दिनदेखि प्रसूति सेवा बन्द छ,’ कटुवालले भने, ‘यहाँ आएका बिरामीलाई हामी अन्य अस्पतालमा रेफर गरिदिने गरेका छौँ।’

अस्पताल प्रशासनले डा. मिश्रालाई असोज १५ गतेसम्म बिरामीको स्वास्थ्य अवस्था जाँच गरिदिन आग्रह गरेका थिए। तर, मिश्राले राजीनामा दिएपछि असोज १ गतेदेखि अस्पताल नै नआएको अस्पताल स्रोतको भनाइ छ।

उपकरण स्टोर रूममा थन्किए

प्रसूति सेवा बन्द भएपछि अहिले अस्पतालको आइसियू, एनआइससियकामा रहेको उपकरणहरू स्टोर रूममा थन्किएको छ। ६ बेडको आइसियू र तीन बेडको एनआइसियूको उपकरणहरू आइसीयू कक्षमा स्टोर गरेर राखिएको छ। स्टोर गरिएको उपकरणहरूमा पनि माकुराले जालो लाग्न थालेको छ। ‘अस्पतालमा अत्याधुकि उपकरणहरू छ,’ कटुवालले भने, ‘विशेषज्ञको एक जना पनि दरबन्दी छैन।’

कर्मचारी समायोजनपछि चिकित्सकहरू रङ्गेली अस्पतालमा आउन मान्दैनन्। ‘नवौँ तहको सुपरिटेन्टडेण्ड र आठौँ तहको दुईजना मेडिकल अफिसियरको दरबन्दी रहेको छ,’ उनले भने, ‘अहिलेसम्म आएका छैनन्। सरुवा भएर यहाँ भएका कर्मचारी जान्छन्। तर, आउने कर्मचारी अहिलेसम्म आएका छैनन्।’

रङ्गेली अस्पतालमा गत आर्थिक वर्षमा २० हजार २ सय ३७ जना बिरामीले ओपिडिमा सेवा लिएको तथ्यांक छ। मोरङको पूर्वी दक्षिण, उत्तरी र सिमावर्ती भारतसम्मका आर्थिक अवस्था नाजुक भएका विरामीले रंगेली अस्पतालबाट स्वास्थ्य लाभ लिँदै आएका छन्।

करिब दैनिक ६० देखि ७० जना बिरामीले सेवा लिने अस्पताललमा एकजना पनि विशेषयज्ञ चिकित्सवको दरबन्दी नहुनु दुर्भाग्य भएको स्थानीय रवीन्द्र बराल बताउँछन्। अस्तपालको अभिलेख अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १७ हजार ८ सय ५१ जना बिरामीले ओपिडिमा स्वास्थ्य परीक्षण गराएका थिए  भने ०७४/०७५ मा १९ हजार ४१ जनाले स्वास्थ्य परीक्षण गराएको देखिन्छ।

अस्पतालको अभिलेखअनुसार आर्थिक वर्षमा अस्पतालमा भर्ना भएका बिरामी १ हजार ६, आकस्मिक कक्षमा ७ हजार ३ सय ७० जना बिरामी देखिन्छ। यस्तै, एक्स–रे ३ हजार ७ सय १, इसिजी ५ सय २४, यूएसजी ३ हजार ४ सय ७५ जनाले आर्थिक वर्षमा रंगेली अस्पतालमा गराएको अभिलेखमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.