पाँच वर्षमा तीन ठूला काण्ड

|

काठमाडौं : सरकारी स्वामित्वको कृषि विकास बैंक पटक पटक त्यहीँका कर्मचारीको बदमासीको शिकार हुने गरेको छ। कर्मचारीले बदमासी गरिदिँदा लामो इतिहास बोकेको यो बैंकले समय समयमा बदनामी कमाउनु परेको छ।

वर्ष २०७१, वर्ष २०७४ र वर्ष २०७६ सरकारी स्वामित्वको कृषि विकास बैंकमा कर्मचारीकै बदमासीका कारण ठूला घटना भएका छन्। यी तीन वर्षका घटनामा बैंक भित्री र बाहिरी आक्रमणमा परेको देखिएको छ। यो बैंक आफ्नै कर्मचारीबाट असुरक्षित रहेको पुष्टि यी तीन घटनाले गरेको छ।

मंगलबार राति मात्रै कर्मचारीको सहयोगमा चार करोड  ७३ लाख ९६ हजार रुपैयाँ यो बैंकबाट चोरी भयो। बैंकका कर्मचारीले बाहिरका चोरलाई युजर र पासवर्ड उपलब्ध गराएपछि केही बेरमै यो बैंकबाट चार करोड भन्दा धेरै रित्याइयो। 

तर चोरी हुँदै गर्दा सुइँको पाएपछि सक्रिय भएको प्रहरीले ह्याकिङमा संलग्नसहित ११ जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ। बैंकको लहान शाखाका ७ जना कर्मचारीलाई निगरानीमा राखिएको छ भने केहीलाई निष्काशित गरिएको छ। 

राष्ट्र बैंक स्रोतका अनुसार २० वटा युजर र पार्सवर्डमार्फत् पैसा चोरिएको छ। अहिले तीनजना कर्मचारी संलग्न रहेको पुष्टि भएको छ। कर्मचारीलाई कमिशन दिएर विदेशीले नेपाली धन कुम्ल्याउने योजना बनाएको खुलेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।

२०७१ सालमा कृषि विकास बैंक यसैगरी आफ्नै कर्मचारीबाट रकम चोरिएको थियो। त्यसको निरन्तरता २०७४ र २०७६ मा पनि भएको छ। तीन पटकमा कृषि विकास बैंकबाट ४३ करोड रुपैयाँ चोरी भइसकेको छ। 

कहिले कति रकम चोरियो?

वर्ष २०७१: ३३ करोड ९३ लाख 

वर्ष २०७४: चार करोड ४२ लाख

वर्ष २०७६: चार करोड ७३ लाख 

सधैं कर्मचारीकै सहयोग

२०७१ असोजमा कृषि विकास बैंकको स्वयम्भू शाखाबाट काल्पनिक नाममा कीर्ते कागज बनाई रेमिट्यान्समार्फत् रकम चोरियो। त्यो बेला कृषि विकास बैंकका १७ वटा शाखाबाट उक्त रकम बैंकका कर्मचारीहरुकै संलग्नमा निकालिएको अनुसन्धानपछि पुष्टि भएको थियो।

चोरीमा संलग्नमध्ये मुख्य अभियुक्त केदार गौतम, सम्झना पोखरेल, जेनी श्रेष्ठ, गीता पन्त, भरतबहादुर बानियाँ, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र रामकुमार गुम्हार पक्राउ परेका थिए।

२०७४ सालको घटमाका मुख्य पात्र पनि बैंकका कर्मचारी नै निस्किए। २०७४ को घटनामा बैंककी कर्मचारी दीपिका रेग्मी नै बैंकको रकम हिनामिना गरेको आरोपमा पक्राउ परिन्।

उनले इलेक्ट्रोनिक क्लियरेन्स चेकमार्फत् आफन्तको खातामा चार करोड ४२ लाख रुपैयाँ पठाएको अनुसन्धानबाट देखिएको थियो। अनुसन्धानपछि  रेग्मीका सहयोगीहरू प्रकाश घतानी, रमेशकुमार थापा, प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्टा, सलिल रेग्मी र तारानाथ पाण्डे पक्राउ परे।

अहिले विभिन्‍न शाखा र अन्य रेमिट तथा बैंक गरी चार करोड ७३ लाख रुपैयाँ हिनमिना गरिएको छ। अफ्रिकन नागरिक पिटरको योजनामा कर्मचारी मतियार भएर यति ठूलो रकम चोरिएको थापाले जानकारी दिए।

कसको विश्‍वास गर्ने?

मुख्यत: बैंकले आफ्नै कर्मचारीको विश्‍वास गर्न पनि अब समस्या भएको छ। 'बैंक सुरक्षित छ, जनताको रकम पनि सुरक्षित छ। सिस्टम ह्‍याक गरिएको होइन, निक्षेप सुरक्षित छ,' कृषि विकास बैंकका प्रवक्ता हिमाल पौडेल भन्छन् 'कर्मचारीले आफ्नो पार्सवर्ड सुरक्षित राख्‍न नसक्दा भएको घटना हो यो। शैली फरक फरक छ तर तीनै पटक बैंक कर्मचारीबाटै रकम चोरिएको छ।'

यस विषयमा विस्तृत अध्ययन गर्न राष्ट्र बैंक सपरीवेक्षण विभागको टोली कृषि विकास बैंकमा छिरिसकेको छ। राष्ट्र बैंकले कर्मचारीकै गैरजिम्मेवारीले घटना भएको निष्कर्ष निकाल्दै आवश्यक परामर्शपछि मात्रै निर्क्यौल निकाल्ने जनाएको छ। '२० वटा युजर दुरुपयोग भएको भन्‍ने कुरा आएको छ', राष्ट्र बैंकका एक अधिकारी भन्छन्, 'बैंकका कर्मचारीले युजर र पासवर्ड दिएका हुन्। यो बैंकका कर्मचारी गैरजिम्मेवार देखिएका छन्। 

उता महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने प्रहरीको सक्रियताले बैंकको करिब पाँच अर्ब रकम जोगिएको बताए। 'बैंकको सिस्टम नै ह्याकिङ गरेर लुट्ने योजना खुलेको छ', उनले भने, 'यस विषयमा बैंकलाई कुनै जानकारी थिएन। कर्मचारीको संलग्नताबारे उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.