|
फाइल फोटो

सुर्खेत : कर्णाली प्रदेश सभाको बैठक ९ दिनपछि बुधबार बसेको छ। विनियोजन विधेयकमा सरकारले सदनलाई छलेको भन्दै प्रमुख प्रतिपक्ष दलले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो।

प्रतिपक्ष दलले राखेका माग सरकारले पूरा गर्न तयार भएपछि प्रदेशसभाको अवरोध खुलाएको प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताएका छन्। बैठकको विषेश समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शाहीले सरकारले आफूहरूको माग पूरा गर्ने सहमति गरेकाले सदन अवरुद्ध खोलेको बताएका हुन्। ‘सरकारले हाम्रो माग पूरा गर्ने प्रतिबद्धता जनाएका कारण हामीले सदन सुचारु हुने वातावरण बनाएको हौँ’ उनले भने ‘सरकार सहमतिमा नै अघि बढनेमा आशावादी छौँ।’

विनियोजन विधेयक पारित गर्दा सरकारले प्रतिपक्षसँग सहमति गरेर बजेट पारित गरेको थियो। सो सहमति अनुसार संशोधित बजेट नआएपछि फेरि प्रतिपक्षले प्रदेशसभा अवरुद्ध गरेको थियो। अहिले फेरि सरकारले केही कम्जोरी भएको भन्दै सहमति पालना गर्ने भएपछि अवरुद्ध सदन खुलेको प्रतिपक्षले जनाएको छ।

कर्णाली पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको तीन अर्ब बजेटमध्ये जनता सडक कार्यक्रमअन्तर्गत एक अर्ब ९२ करोड बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने, बजेटको सन्तुलन मिलाउने, कार्यान्वयन योग्य बजेटमात्रै कार्यान्वयन गर्ने, पूर्वाधार विकास कार्यक्रमअन्तरत २४ ओटा निर्वाचन क्षेत्रलाई प्रति निर्वाचन क्षेत्रलाई पाँच करोड रुपैयाँ विनियोजन गर्ने, अनावश्यक चालु खर्च हटाई पूँजीगत खर्च कायम गर्ने विनियोजन विधेयकमा सदनले पारीत गर्दा अंग बनाउने सहमति भएको थियो।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारबाट केही कमजोरी भएको तर सदनको मान मर्दन गर्न, ढाँटन र छल्न सरकारले नखोजेको बताए। सरकार सार्वभौमसत्ता सम्पन्न सदनप्रति उत्तरदायी भएको भन्दै उनले सरकारले गरेको प्रतिबद्धता अक्षरसः कार्यान्वयन गर्ने प्रतिबद्धता गरे।

‘हामीबाट केही कमजोरी भएका थिए। सदनको मान मर्दन गर्न, ढाँटन र छल्न सरकारले खोजेको होइन। सरकार सार्वभौमसत्ता सम्पन्न सदन प्रति उत्तरदायी छ’ ज्वालले भने। मन्त्री ज्वालाले संघीय सरकारले तोकेको सेवा सुविधा अनुरुप सबैलाई तलब भत्ताको व्यवस्था गर्ने, संसद सचिवालयका मर्यादापालक तथा कर्मचारीलाई भत्ता दिने, कर्णालीमा काम गर्न आउने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने लगायतका कामहरूबारे सरकारले तयारी सुरु गरिसकेको बताए।

यस्तै, विषेश समयमा बोल्दै प्रदेशसभा सदस्यले सरकारको आलोचना गरेका छन्। सांसद गोपाल शर्माले सरकार र प्रतिपक्षीबीचको सम्बन्ध प्रति प्रश्न गरे। ‘तँ हान्या जस्तो गर म रोया जस्तो गर्छु भन्ने जस्तै भएको छ’ उनले भने, ‘प्रतिपक्षीले जोशमा सदन अवरुद्ध गर्ने र होसमा खुलाउने कस्तो व्यवहार देखाएको हो?’

सांसद धर्मराज रेग्मीले मन्त्रीहरू काम नगरी लावालस्कर लागेर सार्वजनिक कार्यक्रममा जाने गरेको बताउँदै यसमा नियन्त्रण गर्न सरकारलाई सुझाव दिए। ‘उदघाटन, अन्य कार्यक्रममा जान बरू एक अर्के विभागिय मन्त्री नियुक्त गर्नुहोस्’ उनले भने, ‘ताकी उसको काम भनेकै सार्वजनिक कार्यक्रममा मात्रै जाने र शिलान्यास तथा उदघाटन गर्ने काम गरोस्।’ लाम लाग्ने र बजेट कार्यान्वयनमा जाम लगाउने काम राम्रो नभएको भन्दै सरकारको ध्यानाकार्षण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.