|

जनकपुरधाम :  जनकपुरको जानकी फर्निसिङ पसलमा डकैती गर्ने क्रममै दुई भारतीयसहित चार डकैतलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट हतियार समेत बरामद भएको छ।

पक्राउ पर्नेमा भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको बृदावन नगरपालिका घर भएका ३५ वर्षीय गगण पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोदप्रसाद सिंह छन्। पक्राउ गर्ने क्रममा सिंहलाई गोली लागेको छ। खुट्टामा गोली लागेको सिंहलाई उपचारका लागि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको छ।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार विहान साढे ३ बजे पसलको सटर फोड्दै प्रहरीले देखेपछि पक्राउ गर्न खोज्दा डकैतहरु भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड गोली चलाएर दुई जनालाई समात्यो। घटनास्थलबाट भागेका थप दुई डकैत पनि पक्राउ परिसकेको छ ।

एसपी खनालले भने, ‘चाडपर्व नजिकिएपछि प्रहरीले रातभर गस्ती गर्न थालेका छन्, सोही क्रममा डकैतहरु डकैती गर्ने क्रममा रंगेहात पक्राउ परेका छन्।’ उनले उनीहरुको साथबाट लोडेड अवस्थामा एक थान कटुवा पेस्तोल, केहि राउण्ड गोली र पसलको सटर फोड्ने विभिन्न उपकरण समेत बरामद भएको जानकारी दिए।
सटर फोडेर डकैत पसल भित्र छिरेको दृष्य पसलको सिसि क्यामेरामा समेत कैद भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.