लगानीको वातावरण बनेको सरकारको दाबी

|

काठमाडौं : चालु आर्थि वर्षको सुरुदेखि नै नेपालमा विदेशी लगानीको आकर्षण बढेको देखिएको छ। लगानी गर्नको लागि आप्रवाह हुने रकम र लगानी प्रतिवद्धता उल्लेख्य बढेको देखिएको हो। 

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा चार अर्ब ७६ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ। यो गत वर्षको त्यही अवधिसँग तुलनामा गर्दा १३६ प्रतिशत बढी हो। गत वर्ष यो अवधिमा दुई अर्ब एक करोडको लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांक छ। 

दुई महिानको अवधिमा चीन, भारत, अष्ट्रेलिया, जापान र बेलायतका  लगानीकर्ताले ३६ वटा परियोजनामा उद्योगमा लगानी गर्नको लागि प्रस्ताव राखेको उद्योग विभागले जनाएको छ। परियोजनाको संख्याको हिसाबमा गत वर्षको तुलानमा एउटा परियोजना बढी हो। गत वर्ष ३५ वटा परियोजनामा यस्तो प्रस्ताव आएको थियो। 

विभागका अनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रमा १८ वटा प्रस्ताव रहेका छन्। उत्पादनमुलकमा ५, सेवामूलकमा ९, सूचना प्रविधिमा ४ परियोजनाको लागि प्रस्ताव छ।

८८ प्रतिशत प्रतिवद्धता चीनको मात्रै

लगानी प्रस्तावको लागि लगानी रकमको हिसाबले चीनको मात्रै ८८ प्रतिशत रहेको छ। अन्य तीन देशको १२ प्रतिशत रहेको छ। चीनका लगानीकर्ताले ३१ वटा परियोजनाका लागि चार अर्ब ३० करोड रुपैयाँको लगानी प्रतिवद्धता जनाएका छन्। 

बेलायती लगानीकर्ताको १६ करोड, भारतीय लगानीकर्ताको १५ करोड र जापनिज लगानीकर्ताको पाँच करोडको परियोजना चलाउने प्रस्ताव आएको छ। पछिल्लो दशकदेखि नै प्रतिवद्धतामा चीन अघि देखिए पनि लगानी आप्रवाह त्यही अनुसार हुन सकेको छैन। 

प्रतिवद्धतासँगै रकम पनि बढ्यो

चालु आर्थिक वर्षको पहिलो महिना एफडीआई आप्रवाह उल्‍लेख्यरुपमा बढेको छ। अघिल्लो वर्षभर एफडीआई आप्रवाहदर घटेकोमा चालु आर्थिक वर्षको पहिलो महिना गत आर्थिक वर्षको पहिलो चार महिनामा आएको बराबरको एफडीआई आप्रवाह भएको देखिएको छ। 

गत वर्षको पहिलो महिना ५६ प्रतिशतले घटेको लगानी आप्रावाह चालु आर्थिक वर्षमा पाँच गुणा अर्थात ६ सय प्रतिशत बढेको देखिएको छ। पहिलो महिनामा एक अर्ब ४४ करोड रुपैयाँको एफडीआई आएको नेपाल राष्ट्र बैंकले जनाएको। जबकी गत वर्षको त्यही अवधिमा २९ करोड रुपैयाँ बराबरको मात्रै एफडीआई आप्रवाह भएको थियो। 

गत वर्ष लगानी सम्मेलन लगायत र धेरै कानुनी सुधार गरेकोले लगानी बढ्ने अपेक्षा सरकारले गरे पनि प्रभाव देखिएको थिएन। चालु आर्थिक वर्षमा त्यसको प्रभाव देखिएको अर्थमन्त्रालयको भनाई छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका कामको प्रभाव देखिन थालेको बताए। 'हामीले गत वर्ष विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन संशोधन गर्‍यौँ, औद्योगिक व्यवसाय ऐन संशोधन गर्‍यौँ, एकद्वार प्रणाली लागु गर्‍यौँ, लगानी सम्मेलन गरेर आह्‍वाह गर्‍यौँ। त्यसको प्रभाव देखिएको छ', उनले भने। संस्थागत सुधारका धेरै काम भएको श्रम सम्बन्ध मजबुत बनेको अर्थमन्त्री खतिवडाको दाबी छ। 

शोधानान्तर बचतमा आएको अवस्था, व्यापार घाटा घटेको र एफडीआई बढेका कारण अर्थमन्त्रालयले सन्तोषजनक आर्थिक स्थिति रहेको जनाएको छ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर भने घटेको छ।

पहिलो महिनामा १ अर्ब ३ करोडको पुँजीगत ट्रान्सफर भएको छ। गत वर्ष यस्तो ट्रान्सफर एक अर्ब ७० करोड रुपैयाँ भएको थियो। सरकारले गत वर्ष गरेको लगानी सम्मेलनको प्रभावसमेत देखिन विदेशी लगानीमा देखिन थालेको उद्योग विभाग जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.