|

जनकपुरधाम : राम र सीताको स्वयम्बर भएको धार्मिक महत्त्व बोकेको जनकपुरको रंगभूमि मैदान (बाह्रबिघा) फोहोर फाल्ने ‘डम्पिङ साइट’मा परिणत भएको छ । सरसफाइमा कसैले चासो नदेखाएपछि जताततै फोहोरको थुप्रेको छ।

स्वर्गसँग तुलना गरिने राम–सीताको स्वयम्बर स्थल यतिबेला ‘नर्क’ झै लाग्छ। रंगभूमि मैदानमा दिसा–पिसाब गर्ने गरेको दृश्य यत्रतत्र देखिन्छ। यतिसम्म कि मैदानको मुख्यद्वारमै पनि पिसाव गर्ने गरेको भेटिन्छ। यस्तै, मैदान छाडा चौपायाको चरण क्षेत्र पनि बनेको छ। सयौं एम्बुलेन्स मैदानमै पार्किङ गरिन्छ।

धनुषा जिल्लालाई नै केही दिनअघि मात्रै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा ‘खुल्ला दिसामुक्त’ घोषणा गरिएको छ। तर, रंगभूमि मैदानमा देखिने दिसा पिसाबको गर्नेको दृश्यले सबैलाई गिज्याइरहेको छ। मैदानको दक्षिणपट्टी फोहोरको दुर्गन्धले महामारी फैलिन सक्ने जोखिम छ।

दक्षिणपट्टी रहेका पसल सञ्चालकहरु समेत रंगभूमि मैदानमै फाल्ने गरेको छ। दक्षिण–पूर्व कुनामा जनकपुर अञ्चल अस्पताल छ। सयौं निजी क्लिनिक छन्। यो अस्पताल र क्लिनिकहरुले समेत यसै क्षेत्रमा फोहोर मैदानमा फाल्ने गरेका छन्। यतिसम्मकी त्यस क्षेत्रमा फोहोर उठाएर महानगरपालिकाका कर्मचारी समेत मैदानमै निर्धक्कका साथ फाल्ने गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदा यही मैदानमा कार्यक्रम भएको थियो। उनीहरु आएका बेला लाखौं खर्चेर झकिझकाउ पारिएको थियो। मैदानको भित्तामा मिथिला पेन्टिङ गरिएको थियो। त्यही बेला जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले ‘सेल्फी पोइन्ट’ घोषणा गरेका थिए। तर, अहिले उही मैदान ‘डम्पिङ साइट’मा परिणत भएको छ।

जनकपुरको धार्मिक धरोहरमध्ये रंगभूमि मैदान मुख्य हो। संघीय सरकार ‘भ्रमण वर्ष २०२०’को तयारीमा जुटेको छ। तर, मुख्य धार्मिक धरोहरको अस्तित्व संकटमा परे सम्बन्धित निकायको ध्यान पुगेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.