|

पाल्पा : चिसो मौसम। आकाशबाट पानी पर्लापर्ला जस्तो थियो। त्यसैमाथि झिमिक्क साँझ पनि परिसकेको थियो। यद्यपि मानिसहरूको भीड छँदै थियो। ठूलो स्पिकरमा - भेट भइयो झमक्क साँझमा, राख्छु तिम्लाई यो दिलको माझमा, गलबन्दी...गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्ने भाकामा गीत घन्किरहेको थियो। 

जुन गीत पछिल्लो समयमा चर्चित बनेका लोकदोहोरी गायक प्रकाश सपुतले गाइरहेका थिए। त्यही गीतमा अगाडि स्टेजतर्फ एकजना कोट पाइण्ट र कालो टोपी लगाएका अर्धबैंशे पुरुष नाचिरहेका थिए। उनलाई अन्य व्यक्तिले नाचेर साथ दिइरहेको देखिन्थ्यो।

अरू नाच्न लजाएजस्तो देखिन्थो। तर, उनी ढुक्क भएर नृत्यकारजस्तै नाचिरहेका थिए। हेर्ने दर्शक पनि चकित। नाच्ने ती व्यक्ति कुनै कलाकार थिएनन्। उनी थिए गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालन गरेको गण्डकी प्रदेश पर्यटन प्रवर्द्धन अभियानअन्तर्गत बिहीबार तानसनेको टुडिखेलमा प्रचारप्रसार कार्यक्रम भएको थियो। मन्त्री लम्साल त्यो कार्यक्रममा छमछम्ती नाचेका हुन्। उनी मनोरञ्जनका लागि मात्र नाचेका थिएनन्। पाल्पाका नागरिकलाई आन्तरिक पयर्टकको रूपमा पोखरा आउन निम्तो दिँदै नाचेका हुन्।

सुन्दर नगरी पोखरालगायतका गण्डकी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्न उनले निम्तो दिए। गण्डकी प्रदेश प्राकृतिक, भौगोलिक, जैवीक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक लगायतका दृष्टिमा आफैमा सम्पन्न प्रदेश भएको भन्दै उनले अवलोकनको लागि आउन पाल्पालीलाई निम्तो दिए।

'विश्वमै प्रसिद्ध अन्नपूर्ण तथा मनास्लु क्षेत्र यहि प्रदेशमा पर्छ' मन्त्री लम्सालले थपे 'तिलिचो ताल, विश्वकै होचो कालिगण्डकी गल्छी, मुक्तिनाथ मन्दीर, तातोपानी कुण्ड, ढोरपाटन शिकार आरक्षण, कालिगण्डकी बाँध, धार्मिक हिसाबले महत्वपूर्ण मानिएको आलमदेवी मन्दीर यहि प्रदेशमा रहेको छ। जहाँ अनुपम स्वर्गीय आनन्द छ। एक पटक आउनुहोला।'

यो आर्थिक वर्षमा १५ लाखभन्दा वढी पर्यटक भित्राउने गण्डकी प्रदेश सरकारको लक्ष्य छ। मन्त्री लम्सालको नै नेतृत्वमा रहेको अभियान टोली प्रचारप्रसार गर्दै देश दौडाहमा हिँडेको छ। टोलीमा पर्यटन मन्त्रालयका कर्मचारी, पर्यटन व्यवसायी, उद्योगी व्यवसायी, पत्रकारलगायतको सहभागिता छ।

बिहीबार पाल्पामा आएको अभियानको टोली शुक्रबार विश्व पर्यटन दिवसका अवसरमा भैरहवास्थित विमानस्थलमा आउने पहिलो पर्यटकलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ। त्यसपछि यो अभियान बुटवल, वीरगञ्ज, विराटनगर हुँदै काठमाडौं पुगेर सकिने अभियानका संयोजक जुद्धबहादुर गुरुङले बताए। 'यो अभियानमा केवल गण्डकी प्रदेशस्थित पर्यटकीय क्षेत्रको प्रचारप्रसार र अवलोकन भ्रमणको लागि आन्तरिक पयर्टकलाई निम्ता दिने काम हुनेछ' उनले भने।

यसअघि पाल्पाका सरोकारवाला निकायसँग अन्तक्रियासमेत गरिएको थियो। पोखरा, पाल्पा र लुम्बिनीलाई जोडेर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आवश्यक रहेको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए। 'यस क्षेत्रको पर्यटकीय विकास गर्न पोखरा, पाल्पा, बुटवल सडकखण्डको सिद्धबाबा पहिरोको व्यवस्थापन वा विकल्प खोज्नुपर्ने छ' उनले भने 'जहाँ पर्यटकले जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।'

पर्यटकको लागि प्रमुख गन्तव्यको रूपमा रहेको पोखरामा आइपुगेका पर्यटकलाई पाल्पाका ऐतिहासिकस्थलको अवलोकन गराउने वातावरण सिर्जना गर्न सके यस क्षेत्रको नै विकास हुने नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.