शिक्षकले नै योजना बनाएको जनप्रतिनिधिको आरोप

|

रौतहट : नगर प्रमुखले प्रधानाध्यापकसहित ९ जना शिक्षकको सरुवा गरेको भन्दै कटहरिया नगरपालिकाको कार्यालयमा बिद्यार्थीले शुक्रबार बिहान तोडफोड गरेका छन्। 

कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एकजना प्रधानाध्यापक सहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो । 

शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिका अन्तर्गतका आक्रोशित विद्यार्थीहरुले शुक्रबार बिहानै नगरपालिकाको कार्यालयमा तोडफोड गरेर ठूलो क्षति पु¥याएको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहले जानकारी दिए।

ठूलो संख्यामा आएका विद्यार्थीले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेश गरी दश भन्दा बढी कम्प्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएको छ भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गरेको नगर प्रमुख कुशवाहले बताए। 

विद्यार्थीहरुले ढुंगामुढा प्रहार गरेर नगरपालिकाको एसीमा पनि तोडफोड गरी पुर्णरुपमा क्षति पुर्‍याएका छन् भने नगरपालिकाको पश्चिमतर्फ निर्माण भएको नयाँ भवनको ५० वटा सिसाको झयाल फुटाएको नगर प्रमुख कुशवाहले जानकारी दिए। 

विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजात च्यातेर फालिदिएका छन। विद्युतीय उपकरणहरुमा पनि क्षति पुर्‍याएका छन् । शिक्षक सरुवाको विषलाई लिएर विद्यार्थीहरुले तोडफोड गरेको भनिए पनि नगर प्रमुख शियाराम कुशवाहले शिक्षकले संलग्नता रहेको दाबी गरेका छन्।

जिल्लामै पहिलो पटक कटहरिया नगरपालिकाको बसेको कार्यपालिका बैठकले नगर क्षेत्र भित्रमा शिक्षामा सुधार ल्याउने उद्धेश्यले केही शिक्षकलाई सरुवा गर्ने निर्णय गरेको थियो । 

कार्यपालिका बैठकले भसढेवा माबिका प्रधानाद्यापक राम मंगलप्रसाद यादवलाई प्रावि महिलामा र कटहरिया माविका शिक्षक सचिन्द्र प्रसाद यादवलाई भसेडवा माबिको प्रधानाद्यापक बनाएपछि विवाद भएको थियो।

प्राविका शिक्षक राममंगल १५ वर्षदेखि भसेडवा माविको प्रअ थिए।  उक्त विद्यालयमा मावि तहका शिक्षक सचिन्द्र प्रसाद यादवलाई पठाउने निर्णय कार्यपालिकाले गरेको नगर प्रमुख कुशवाहले बताएका छन्। स्थानीय शिक्षा प्रेमीकै आग्रहमा यादवलाइ प्रावि महिलाको प्रअमा सरुवा गरेको नगर प्रमुख कुशवाहले बताए ।

कटहरिया नगरपालिकाले मावि भसेढवाका प्रअ राम मंगलप्रसाद यादवलाई अन्यत्र सरुवा गरी यादवको ठाउँमा माविसरहको योग्यता भएको शिक्षकलाई पठाउने निर्णय गर्दा योजना बनाएर नगरपालिकामा आक्रमण गर्न लगाएको प्रदेश सांसद कुन्दन कुश्वाहाले आरोप लगाए । नगरपालिकामा  भएको तोडफोड र लुटपाटको जिम्मेवारी भसेढवा माविका प्रअ यादवले नै लिनुपर्ने प्रदेश सांसद कुशवाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.