|

चितवन : चितवनको पर्यटकीय क्षेत्र पटिहानीलाई पोखरासँग सीधा जोड्न पटिहानी पोखरा पर्यटकीय बस सेवा सञ्चालनमा आएको छ। विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबारबाट सीधा बस सेवा सञ्चालनमा आएको हो।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिका २२ मा रहेको पटिहानीमा शुक्रबार एक कार्यक्रमकाबीच पर्यटकीय बसको शुभारम्भ गरेका हुन्। उनले पर्यटन प्रवर्द्धनका लागि एउटा पर्यटकीय गन्तव्यलाई अर्को गन्तव्यसँग सीधा जोड्ने प्रयास सह्रानीय रहेको उल्लेख गरे।

उनले परम्परागत शैलीलाई परिवर्तन गरी सेवा सुविधा पनि विस्तार गर्दै जान सम्बन्धित पक्षलाई आग्रहसमेत गरे। सांसद पाण्डेले पर्यटकको बसाइँ लम्ब्याउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

भरतपुर २२ का वडाअध्यक्ष विष्णुराज महत्तोले पटिहानीलाई लुम्बिनीसँग पनि जोड्ने योजनामा रहेको बताए। भ्रमण वर्ष २०२० लाई लक्षित गरी कसरा टुर्स एण्ड ट्राभल्सले शुक्रबारबाट पटिहानी पोखरा पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको हो। सीधा बस सेवाले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.