|

भइयो भेट झमक्क साँझमा, 
घुम्न आउनुस् गण्डकी माझमा

गलबन्दी...! 
गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।

४० औं विश्व पर्यटन दिवसको बिहानै नेपाल-भारत सीमा नाका रुपन्देहीको बेलहियामा चर्चित युवा लोक गायक प्रकाश सपुत आफ्नै स्वरमा रहेको ‘गलबन्दी’ भाकामा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनको गीत गाउँदा पर्यटन व्यवसायी हर्षित भए। उनीहरूले भन्दै थिए,‘पर्यटन प्रवर्द्धन का लागि प्रचारप्रसार गर्न उपयुक्त माध्यम गीत संगीत नै हो।’ 

सपुतको सांगीतिक माहोलमा रम्नेमध्यमा पर्यटन व्यवसायीमात्रै थिएनन्,गण्डकी प्रदेश र प्रदेश नं ५ का पर्यटन मन्त्रीद्वय लिला गिरी र विकास लम्सालसमेत उक्त माहोलमा झुमिरहेका थिए। सपुत रोकिए। अनि सुरु भए वरिष्ठ दोहोरी गायक प्रजापति पराजुलीः 

आऊ पोखरा एक चोटी, बिन्ति कोटी कोटी, आऊ पोखरा एक चोटी।
मुस्ताङतिर जादाखेरि दर्शन गर्ने हाम्रै मुक्तिनाथ।
माछापुच्छ्रे र फेवातालले दिराख्या छन् साथ।
हेर्न आउनुस् एक चोटी, बिन्ति कोटी कोटी।

रोइला भाकामा बिन्ति नै गरेर गण्डकी प्रदेशमा घुम्न निम्ता दिँदा विश्व पर्यटन दिवस कार्यक्रममा भैरहवामा अनौठो तर रोमाञ्चक माहोल बनेको थियो। यस्तै माहोलका बीच प्रदेश नम्बर ५ को आयोजनामा पर्यटकको दक्षिणी प्रवेशद्वार बेलहियामा बाजागाजा र झाँकीसहित मनाइएको पर्यटन दिवसमा प्रदेश ५ र गण्डकी प्रदेशलाई कसरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुले बहस गरेका छन्। 

पर्यटन प्रवर्द्धन का लागि प्रदेश गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहितको टोलीले प्रदेश ५ सरकारसँग समन्वय गरेर बेलहियामालगायत बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको समेत भ्रमण गरेर यस क्षेत्रको पर्यटन प्रवर्द्धन का बारेमा अनुभव आदान प्रदान गरेको छ।  

मन्त्री लम्सालले मुलुकमा समृद्धि हासिल गर्ने महत्वपूर्ण माध्यम नै पर्यटन भएको बताए।  उनले गण्डकीको पर्यटनलाई लुम्बिनीसँग नजोडे सम्म पर्यटन प्रवर्द्धन हुन नसक्ने बताए। त्यसैले आफू लुम्बिनीलाई पहिलो लक्ष्य बनाएर आएको  उनको तर्क थियो। 

तीन भ्रमण वर्ष अर्थात् गण्डकी प्रदेश भ्रमण वर्ष–२०१९, नेपाल भ्रमण वर्ष–२०२० र लुम्बिनी भ्रमण वर्ष–२०७६ समेतको संयुक्त प्रचारप्रसार, पर्यटन प्रवर्द्धन , अनुभव आदानप्रदान गर्न दुई चर्चित राष्ट्रिय कलाकारसहितको प्रदेशका मन्त्रीस्तरीय कार्यक्रममा लुम्बिनी र पोखरा आएका पर्यटकहरुको आदान प्रदानका सम्बन्धमा समेत चर्चा चल्यो।

यता प्रदेश ५ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको नेपालमा पर्यटन पूर्वाधार निर्माण गरेर पर्यटन प्रवर्द्धन मा गर्नुपर्नेमा जोड दिए। उनले भने,‘हाम्रा प्राकृतिक सम्पदा छन्, पर्वत मालाहरु छन्, नदीनाला तालहरु छन्, ती स्वयं स्वर्गको रुपमा छन्। यिनको प्रवर्द्धन गरेर समृद्धिको दिसामा अग्रसर हुनुपर्छ।’ 

कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव तोयानाथ ज्ञवालीले पर्यटन आगमनसँगै पर्यटकको बसाइ अवधि र खर्च गर्ने बानीलाई बढाउने गरी कार्यक्रम बनाउनुपर्नेमा जोड दिए। मन्त्रालयकी सचिव सचिव राधा वाग्लेले प्रदेश सरकारले पर्यटन प्रवर्द्धन मा अघि सारेका कार्यक्रमका बारेमा जानकारी गराइन्। 

प्रदेश सभा सदस्य सन्तोष पाण्डे, भिजिट नेपाल–२०२० का पाँच नम्बर प्रदेशका सह–संयोजक माधव नेपाल तथा सिद्धार्थनगरपालिकाका प्रमुख हरि अधिकारीलगायतले पर्यटकको आगमन र यिनको बसाइ अवधिमा कसरी वृद्धि गर्न सकिन्छ भन्ने भनाइ राखेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.