नेपाली प्रशासनलाई जानकारी नै छैन

|
नेपाली भूमिमा भारतीय सेना रातो घेरामा

दार्चुला : भारतीय सैनिकले नेपाली भूमिमा गस्ती गर्न थालेका छन्। भारतीय सेनाको कब्जामा रहेको कालापानी नाबीढाङ्मामा रहेको क्याम्पबाट नेपाली भूमि तिंकर भञ्ज्याङसम्म भारतीय सेनाले हतियारसहित गस्ती गर्न थालेका छन्।

नेपाल-भारत जोड्ने सीता पुलबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नाबीढाङ्मा रहेको भारतीय सैनिकहरूको क्याम्पबाट नेपाली भूम‍ि तिंकर भञ्ज्याङ क्षेत्रमा पटक पटक भारतीय सैनिकहरु हतियारसहित गस्ती आउने गरेको व्यास गाउँपालिका-१ तिंकरका स्थानीयबासी बताउँछन् ।

असोज ६ गते बिहान ११ बजेतिर तिंकर भञ्ज्याङ्बाट करिब २ किलोमिटर दक्षिणतिर पर्ने टाटा क्षेत्रमा भारतीय सैनिकहरू हतियार र कुकुरसहित गस्तिमा रहेका थिए। टाटामा रहेको तिंकर भञ्ज्याङ जाने मूल बाटोबाट करिब २ किलोमटिर उचाइमा १७ जना सैनिक ३ कुकुरसहित गस्तीमा रहेका थिए।

सो दिन भारतीय सैनिक नेपाली भूमिमा गस्तीमा रहेको आफूले पनि जानकारी पाएको तिंकरको छियोलेकमा रहेको प्रहरी चौकीका इन्चार्ज लोकेन्द्र पुजाराले बताए।

तिंकर भञ्ज्याङको उचाई ५ हजार २०० भन्दा बढी रहेको छ। आफूहरुसँग बन्दोबस्तीका समान समेत नभएकाले उच्च क्षेत्रमा प्रहरी चौकीबाट नियमित गस्तीसेमत गर्न नसकिएको चौकी इन्चार्ज पुजाराले बताए। 

उनका अनुसार असोज ६ गते ३० जना भारतीय सैनिकहरू टाटा क्षेत्रमा हतियारसहित प्रवेश गरेको सूचना पाएको बताउँछन्। भारतीय सैनिकहरू यो क्षेत्रमा पटक पटक गस्ती आउने गरेको भएपनि प्रहरी चौकीसँग कुनै सम्पर्क नहुने उनले बताए।

प्रशासनसँग हुँदैन सहकार्य

सीमा क्षेत्रमा संयुक्त गस्ती हुने प्रावधान रहेको भएपनि तिंकर भञ्ज्याङ क्षेत्रमा भारतीय सैनिकहरूले नेपाली अधिकारीसँग समन्वय नै नगरी एकलौटी रूपमा नेपाली भूमीमा हतियारसहित गस्ती गरिरहेको पाइएको हो।

‘चीनको ताक्लाकोटसम्म सरसमान पुर्‍याउने खच्चरवालाहरूले भारतीय सैनिकहरू हितयारसहित तिंकर भञ्ज्याङ (टाटामा) क्षेत्रमा देखिने गरेको सूचना दिने गरेका छन् तर भारतीय पक्षले प्रहरी चौकीलाई कुनै जानकारी दिँदैन’, चौकी प्रमुख पुजाराले भने।

तिंकर भञ्ज्याङ क्षेत्रमा भारतीय सैनिकहरूले गस्ती गर्नेबारे आफूलाई जानकारी नआउने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताए। जिल्ला प्रहरी कार्यालयसँग पनि भारतीय सेनाले गस्तीका बारेमा कुनै समन्वय नगर्ने जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दिपेन्द्र शाही बताले बताए।

तिंकर बस्तीबाट डेढ किलोमिटर टाढा रहेको छियालेक प्रहरी चौकीबाट तिंकर भञ्ज्याङ साढे ८ किलोमिटर टाढा पर्छ।

भारतीय हस्तक्षेप

भौगोलिक जटिलताको फाइदा उठाउँदै नेपाली भूमि ति‌ंकर क्षेत्रमा भारतीय सैनिकहरूको गस्ती अन्तर्राष्ट्रिय निमयविपरीत भएको दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णसिह साउँदले बताए। नेपाली प्रशासनसँग कुनै किसिमको समन्वय नगरी भारतीय सैनिकले गर्ने गरेको गस्तीलाई नेपालको भूमिमा हस्तक्षेपका रूपमा लिनु पर्ने उनी बताउँछन्।

कालापानी क्षेत्रबाट तिंकर भञ्ज्याङ करिब २२ किलोमिटर टाढा रहेको छ। तिंकर भञ्ज्याङबाट चीनको ताक्लाकोट मात्र १६ किलोमिटर उत्तरमा पर्छ। भारतीय सैनिकहरूले गस्ती गर्ने नेपाली भूमि टाटा क्षेत्रमा नेपाली सेनाले तत्कालीन तिब्बती सेना प्रमुख बाङ्दीलाई मारेको ठाउँ हो।

(तिंकरबाट दार्चुलाको सदरमुकाम खलंगा फर्किएपछि तयार पारिएको सामाग्री)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.