|

भुपाल थापा, कपिलवस्तु : “कपिलबस्तु श्री” खुल्ला राष्ट्रिय सुगठन प्रतियोगिताको उपाधि झापाका ललित धिमालले जितेका छन्। पुरुष ७५ केजीमाथि तौल समूहमा पहिलो भएका ललितले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच तौल समूहका उत्कृष्ट बडिबिल्डरलाई पछि पार्दै च्याम्पियन बनेका हुन्। प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो भएका खेलाडीबीच “कपिलबस्तु श्री” उपाधिका लागि पुनः प्रतिस्पर्धा भएको थियो

शाक्यवंशीय राजा शुद्धोधनको राजधानी तथा भगवान् गौतम बुद्धको २९ वर्ष जीवनकाल व्यतित पवित्रस्थल तिलौराकोट दरबारको प्रचारप्रसारका लागि पहिलो पटक खुल्ला राष्ट्रिय सुगठन प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगितामा देशभरबाट ६० जना प्रतियोगी छनोट भएका थिए। कपिलवस्तु नगरपालिकाको समन्वय र कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले प्रतियोगिताको आयोजना गरेको थियो।

५५ केजीमा कपिलबस्तुका सुरेन्द्रप्रसाद वर्मा, ६० केजीमा कास्कीका विकास तामाङ, ६५ केजीमा झापाका सुमन लिम्बू, ७० केजीमा रुपन्देहीका विनोद सुनार र ७५ केजीमा रुपन्देहीका अनिश थापा पहिलो भएका थिए। ओभरअल विनर भएका धिमालले २ लाख नगद, बुद्धमूर्तिसहित ट्रफि प्राप्त गरे। उनले उपाधि जितेपछि थाहाखबरसंग भने, ‘मेरो लक्ष क्रमशः पूरा हुँदै गएको छ, युवा पुस्ता शारीरिक सुगठन तर्फ आकर्षित हुन थालेकाले उनीहरूका लागि प्रेरणाको स्रोत बन्न र शारीरिक सुगठनको विकासमा ध्यान दिनेछु।’

तिलौराकोट दरबारभित्र भएको प्रतियोगितामा ५५ केजी तौल समूहमा सुरेन्द्रप्रसाद बर्मा कपिलवस्तु, सुमीत आले रुपन्देही र चुमनसिंह केसी बाके, क्रमशः प्रथम, द्वितीय र तृतीय भए। बर्मालाई कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले पुरस्कार जितेर जिल्लाको नाम राखेकाले थप २५ हजार पुरस्कार दिने घोषणा गरे। त्यस्तै, ६० केजी तौल समूहमा विकास तामाङ कास्की, मानबहादुर राना रुपन्देही र सुरेश थापा बाके क्रमश प्रथम, द्वितीय र तृतीय भए।

६५ केजी तौल समूहमा सुमन लिम्बू झापा, विजेन्द्रमान श्रेष्ठ रुपन्देही र विकास चौधरी रुपन्देही क्रमश प्रथम, द्वितीय र तृतीय भए। ७० केजी तौल समूहमा विनोद सुनार रुपन्देही, पुष्प शंकार काठमाडौं र गोबर्द्धन श्रेष्ठ रूपन्देही क्रमशः प्रथम, द्वितीय र तृतीय भए। ७५ केजी तौल समूहमा अनिश थापा रुपन्देही, चन्द्रमान श्रेष्ठ रुपन्देही र सुनिल दहित दाङ क्रमश प्रथम, द्वितिय र तृतिय भए।

७५ केजी प्लस तौल समूहमा ललित धिमाल झापा, कुशलप्रसाद गुरुङ रुपन्देही र सागर खत्री रुपन्देही क्रमश प्रथम, द्वितीय र तृतीय भए। ६ वटै समूहमा प्रथम, द्वितीय र तृतिय हुनेलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। शारिरीक सुगठनका अन्तर्रा्ष्ट्रिय जज पुष्पकुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय टोलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

यसैबीच दोस्रो कपिलवस्तु श्री राष्ट्रिय शारिरीक सुगठन प्रतियोगिता २०७८ मा गरिने कार्यक्रम संयोजक एवं कपिलबस्तु शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष जीवन गिरीले बताए। कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले खेललाई स्वास्थ्य संग दाँज्दै आगामी दिनमा कपिलवस्तु नगरपालिकाले खेलक्षेत्रमा पूर्णरुपमा सहयोग गर्ने बताए। प्रतियोगिता सुरु हुनुपुर्व सदरमुकाम तौलिहवा देखि बाजागाजा सहित निस्केको र्याली आयोजना स्थल तिलौराकोट दरवार सम्म पुगेको थियो ।

प्रतियोगितामा झापा, बांके, दाङ, काठमाडौं, पोखरा लगायतका जिम क्लवबाट सहभागी मध्ये विजेताहरुलाई भारतीय जनता पार्टीका नेता तथा खेलका अन्तर्राष्ट्रिय कोच सुवास भदाना, फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, सामाजिक सञ्जालमा चर्चित अघोरी बाबालगायतले ट्रफी तथा नगद र प्रमाणपत्र वितरण गरेका थिए। उक्त अवसरमा विभिन्न खेलकुद क्षेत्रमा योगदान दिएका अग्रजहरुलाई सम्मान र अभिनन्दन समेत गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.