निवेदन बोकेर पुगे वडा कार्यालय

|

भद्रपुर : जग्गा कारोबारीको निजी स्वार्थले भद्रपुर नगरपालिका क्षेत्रमा ‘धान सुपर जोन’ कार्यक्रमलाई प्रभावित पार्ने चलखेल सुरु भएको छ।

भद्रपुर नगरपालिकाले वडा नम्बर ४ र ६ लाई धान सुपर जोन क्षेत्र विस्तार गर्ने निर्णय गरेसँगै जग्गा कारोबारीले आफ्नो निजी स्वार्थ पूरा गराउन केही समूहले जग्गाधनी र कृषकलाई उचालेर नगरको दुई वडामा धान सुपर जोन कार्यक्रम लागू हुन नदिने चलखेलमा लागेका छन्।

मेची पुल जोडने हुलाकी राजमार्ग र मेची राजमार्गको चाराआली केचना सडक खण्ड छोएको वडा नम्बर ४ र ६ मा धान सुपर जोन कार्यक्रम लागू भएपछि लाखौँ मूल्यमा बिक्री हुने जमिन बेचबिखन गर्न नपाइने भनी केही समूहले हल्ला फैलाएर जग्गाधनीलाई उचालेको स्थानीयवासी बताउँछन्।

हुलाकी र मेची राजमार्ग जोडिएको झापा चोक वरिपरि भद्रपुरका ठूला उद्योगी र व्यापारीको जमिन छ। त्यस क्षेत्र धान सुपर जोन भएपछि आफ्ना जमिन प्लटिङ गरेर बेचबिखन गर्न नपाउने उद्योगी र व्यापारीको मनमस्तिष्कमा परेपछि त्यहीबाटै यसको विरोध सुरु भएको हुनु पर्ने स्रोतको दाबी छ।

भद्रपुर ४ का स्थानीय हेमलाल भट्टराईका अनुसार सयपत्री भूमिगत जल उपभोक्ता समिति भद्रपुरले वडा नम्बर ४ मा धान सुपर जोन कार्यक्रम लागू गर्नुपर्छ भनी समितिले भदौ २३ गते ४ नम्बर वडा कार्यालयमा बैठककै निर्णयानुसार सिफारिस गरेको हो। समितिका कोषाध्यक्षसमेत रहेका भट्टराई भने, ‘४ नम्बर वडामा धान सुपर जोन कार्यक्रम रोक्ने मेरो उद्देश्य होइन, यो कार्यक्रम यसै वडामा लागु हुनुपर्छ।’

‘वडा कार्यालयले नगरपालिकालाई सिफारिस गर्नुअघि यस क्षेत्रमा कृषक तथा जग्गाधनीसँग छलफल गरेर अघि बढेको भए न त वडा कार्यालयमा उजुरी पर्थ्यो, न त अहिले यस्तो विवाद उत्पन्न हुन्थ्यो’, उनले थपे। व्यक्तिगत रिसइबी र केही समूहले जमिन बिक्री नहुने हल्ला फैलाएर धान सुपर जोन कार्यक्रम सार्न खोजिएको उनले प्रस्टाए। ‘झापाचोकमा भद्रपुरकै ठूला उद्योगी र व्यापारीको सयौँ विगहा जमिन रहेकोले समस्या ल्याउन खोजिएको हो’, उनले भने, ‘यसले गर्दा जो किसान हो, त्यसले राज्यको सुविधा पाउनबाट वञ्चित हुनुपर्छ।’

सुपरजोनमा असहमति जनाउँदै वडा कार्यालयमा निवेदन

४ र ६ वडा नम्बरमा धान सुपर जोन कार्यक्रम लागू हुने भएपछि  जग्गाधनीहरूले दुईवटै वडा कार्यालयमा कार्यक्रम रोक्न माग राख्दै निवेदन दिएका छन्। सुपर कृषि जोन योजनामा सहमति नभएको भन्दै १२९ जनाले हस्ताक्षर गरेको निवेदन भदौ ३० गते वडा कार्यालयमा बुझाएका थिए।

जग्गाधनीहरूको स्वीकृतिबिना ४ नम्बर वडा बस्ने मेहरमान विष्टको अध्यक्षतामा सुपर कृषि जोन योजना बनाउने प्रपञ्च गरेको विशेष सूत्रबाट मौखिक जानकारी हुन आएको हुँदा यो नगरवासीलाई औद्योगिक एरिया वा नगर विकास योजना बनाउनु पर्नेमा हामीलाई तथा नगरलाई समेत पिछडिएको वर्ग बनाउने विकास उन्मुखको साटो अँध्यारोमा पार्ने नियत गरी पैसा कमाउने नियत गरेको हुँदा वडा नम्बर ४ को वडा कार्यालय पूर्व उत्तर झापाचोकदेखि पश्चिम दक्षिण झिलमिलीया खोलादेखि पश्चिम बद्री वस्तीदेखि उत्तर वडा नम्बर ६ को पुरै भाग भित्र उक्त योजना नपरोस् भनी जग्गाधनीहरू संयुक्त दरखास्त दिएको निवेदनमा उल्लेख छ।

यता उद्योगी यमबहादुर श्रेष्ठले मेची तथा हुलाकी राजमार्ग जोडने ४ र ६ नम्बर वडामा औद्योगिक तथा व्यापारिक क्षेत्र विस्तार गर्नुपर्नेमा यस वडामा धान सुपर जोन कार्यक्रमको कुनै औचित्य नभएको बताउँछन्। नगरपालिकाले गरेको निर्णय खारेजको माग राख्दै उनले भने, ‘धान सुपर जोन कार्यक्रम सरकारले लागु गरे पनि धान खरिद बिक्री केन्द्र सरकारले नबनाउन अहिले कृषक र उद्योगी दुवै मारमा परेको छ।’ यस्तो बेलामा सुपर जोन विस्तार गरेर सरकारले के गर्न खोजेको भन्दै उनले विरोध जनाए।

नगरपालिकाको निर्णय

सरकारले झापाको कचनकवल गाउँपालिकाबाट सुरु गरेको धान सुपर जोन क्षेत्रलाई यही चालु आर्थिक वर्ष २०७६/०७७ देखि जिल्लाका १५ वटै स्थानीय तहमा क्षेत्र विस्तार गर्ने योजनाका साथ अघि बढेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई झापाले धान सुपरजोनलाई जिल्लाव्यापी विस्तार गर्न सम्बन्धित पालिकाहरूलाई धान सुपर जोन पकेट क्षेत्र निर्धारण गरिदिन पत्राचार गरिसकेको छ। परियोजना कार्यान्वयन इकाई झापाले पठाएको पत्राचारको आधारमा भद्रपुर नगरपालिकाले नगरको १० वटा वडामध्ये ४ र ६ नम्बर वडामा धान सुपर जोन क्षेत्र विस्तार गर्ने भनी निर्णय गरेको छ।

इकाईले साउन २२ गते पठाएको पत्र अनुसार नगरपालिकाको आर्थिक विकास समितिले भदौ २४ गते नगरको दुई वटा वडामा धान सुपर जोन क्षेत्र विस्तार गर्ने भनी निर्णय गरेको छ। आर्थिक विकास समितिका संयोजक विभा पासवानको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेका थिए।

परियोजना कार्यान्वयन इकाई झापाको पत्र अनुसार नगरपालिकाबाट पनि बढीमा २०० हेक्टर क्षेत्रफलको वलस्टर निर्माण गरी पठाउने निर्णय गर्दै नगरपालिकाले चार किल्ला तोक्दै पूर्वतर्फ अपांग संघको कार्यालय, पोखरी डाँडादेखि श्रीजंगा हाटबजारसम्म, पश्चिमतर्फ माझी टोल, मावोचोक, करेला चोक, फागोचोक, मायालु वन हुँदै रंगियाडाँडासम्म, उत्तरतर्फ मन्त्रीचोकदेखि कैलाशेश्वर मन्दिर, मोतीयाबाडी, जगदम्बा, झापाचोकको पेट्रोल पम्पसम्म र दक्षिणतर्फ श्रीजंगा हाटबजारको उत्तरी भाग क्षेत्र कायम गरेको छ।

साथै नगरपालिकाले मेची लोकमार्ग, हुलाकी राजमार्ग आसपासका आवास क्षेत्र बाहेक र राष्ट्रिय आवास कम्पनीको आवास क्षेत्रबाहेक क्षेत्रलाई सुपर जोन बनाइने निर्णयमै उल्लेख छ। तर, जग्गाधनीहरू नगरपालिकाको निर्णय नबुझेर हल्लाको भरमा विरोध उत्रिएको देखिन्छ।

के भन्छन् जनप्रतिनिधि

नगरको दुई वटा वडामा धान सुपर जोन कार्यक्रम लागु गर्ने भनी नगरपालिकाले भदौ २४ गते निर्णय गरेको ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशीले बताए।

उनका अनुसार सोही निर्णय बमोजिम वडा कार्यालयमा बसेको वडा समितिको बैठकले भदौ २५ गते सयपत्री भूमिगत, जल उपभोक्ता समितिअन्तर्गत खेती प्रणाली एवं विकासका लागि धान सुपर जोन वा पकेट क्षेत्रको लागि धनीपुर्जा संकलन तथा सम्बन्धित निकायहरूमा सम्बन्ध विकास, सहभागिता तथा आफ्नो क्षेत्रको जानकारी गरिरहेको हुँदा सुपरजोनमा सहभागी हुन समितिले समितिका कोषाध्यक्ष हेमलाल भट्टराईलाई समेत प्रतिनिधिको लागि बैठकले भद्रपुर नगरपालिकालाई सिफारिस गरिसकेको थियो।

वडा कार्यालयले नगरपालिकालाई धनीपुर्जा संकलनका लागि सिफारिस गरेसँगै स्थानीय जग्गाधनीले भदौ ३० गते वडा कार्यालयमा धान सुपरजोनमा असहमति रहेको भन्दै निवेदन दर्ता गराएकोले सुपर जोन कार्यक्रम विवादित बन्न पुगेको वडा अध्यक्ष राजवंशीले बताए।

यस विषयमा वडा कार्यालयले तोकेको प्रतिनिधिले समेत विरोध जनाएपछि विवाद बल्झिएको बताउँदै उनले भने, ‘धान सुपरजोनले जनप्रतिनिधि र स्थानीय जग्गाधनी बिच विवाद खडा गरिदिएकोले यस विषयमा परियोजना कार्यान्वयन इकाई झापाकै प्रतिनिधि आएर नीति र नियमको बारेमा प्रस्टाउनु पर्ने हुन्छ।’

सुपर जोन वडामा लागू भए यहाँकै कृषकलाई फाइदा पुग्ने बताउँदै उनले थपे, ‘वडाबाट केही गल्ती भएको छैन, निर्णय नगरपालिकाले गरेको हो, यहाँका जग्गाधनी र जनप्रतिनिधिबीच असमझदारी हुँदा समस्या देखिएको हो।’

विवाद उत्पन्न भए पनि तत्काललाई धान सुपर जोन कार्यक्रम वडामा सञ्चालन नगर्ने भनी वडाले असोज ५ गते निर्णय गरेको उनले बताए। विवादले यस वडामा आउने कार्यक्रम अन्य वडामा सारिनेसमेत कुरा नगरपालिकामा चलिरहेको उनको भनाइ छ। 'सुपर जोन कार्यक्रम यस वडाबाट अन्यत्र सारिए यहाँकै कृषकलाई मार पर्ने' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.