|

चितवन : भरतपुर केन्द्रीय अस्पतालका कर्मचारी तलव भत्ता नपाएको भन्दै पुनः आन्दोलित बनेका छन्।

तलव भत्ता पाउनुपर्ने लगायत विभिन्न ११ बुँदे माग राख्दै कर्मचारीले आजदेखि पुन अस्पताल प्रशासनमा धर्ना सुरु गरेका हुन्। यसअघि अस्पताल प्रशासनसँग भएको सहमति कार्यान्वयनका लागी ८ दिनको समय उपलव्ध गराए पनि माग पूरा नभएपछि पुन: आन्दोलित हुनु परेको अस्पताल विकास समिति कर्मचारी यूनियन भरतपुर अस्पताल इकाइ समितिका अध्यक्ष चन्द्रमणि वस्यालले बताए।

आन्दोलनपछि नेपाल सरकारको प्रचलित तलव स्केल र चाड पर्व भत्ता उपलव्ध गराउने लिखित सहमति भएपछि यसअघिको आन्दोलन स्थगित गरी कर्मचारी काममा फर्किएका थिए। 

तलव नपाउदा घर खर्च चलाउनै समस्या

कर्मचारी कार्य क्षेत्रबाट बाहिर निस्किएर अस्पताल परिसरमा धर्ना दिइरहेका छन्। उनीहरूले विगत ७२ दिनदेखि विनाकरार नविकरण तलवविना काम गर्नुपर्दा धेरै समस्या परेको कर्मचारीले गुनासो गरेका छन्। 

अस्पतालमा सरसफाइको काम गर्दै आएकी मीना थापाले लामो समयदेखि तलव नपाउदा घर खर्च चलाउनै समस्या परेको बताइन्। उनले भनिन्, ‘मैले जागिर खाएको ३८ वर्ष भइसक्यो अहिलेको जस्तो अवस्था कहिल्यै आएको थिएन। अहिलेको अस्पताल नेतृत्वले दुख दियो।’ 

यस्तै विष्णु कालाखेतीले बालबच्चा पढाउन, चाडपर्व मनाउन, कोठा भाडा तिर्नै समस्या परिरहेको गुनासो गरेकी छिन्। उनले आफूहरूलाई अस्पताल प्रशासनले अत्याचार गरेको आरोप लगाएकी छिन्। यस्तै कार्यलय सहयोगी दिपक चौलागाईले तलव रोकिदा दैनिकी चलाउँनै अफ्ठ्यारो परेको बताए। 

अर्का कर्मचारी विमला चौलागाईले ३ महिनादेखि तलव रोकिँदा हातमुख जोड्नै धौधौ परेको दुखेसो पोखिन्। उनले भनिन, ‘२४ वर्षदेखि काम गर्दै आएको हुँ। अहिलेसम्म तलव रोकिएको थाहा थिएन। हालत खराव भइसक्यो। हामीले अब के खाएर काम गर्नुपर्ने हो हाकिमले भनिदिनुपर्‍यो नत्र तलव चाँडो दिनुपर्‍यो। चाडपर्व मनाउनै समस्या परेको छ।’

अस्पताल विकास समिति कर्मचारी यूनियनका केन्द्रीय अध्यक्ष संजय बरालले देशभरका अन्य अस्पतालका कर्मचारीले तलव भत्ता पाइसकेको अवस्थामा भरतपुर अस्पताल प्रशासनले आफूहरूलाई अन्याय गरेको बताए। हिजो खाइरहेको तलव भत्ता नदिएर प्रसासनले दादागिरी देखाएको उनले बताए। देशभर २५ सयदेखि ३ हजार विकास समिति अन्तर्गतका कर्मचारी रहेको र भरतपुर अस्पतालमा ५७५ जना कर्मचारीले तलव नपाएको उनको भनाई छ। 

चाँडै समस्या समाधान गर्छौ : मेसु तिवारी

उता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले आफूहरू कर्मचारीको मागबारे गम्भीर रहेको बताएका छन्। उनले भने, ‘अस्पताल विकास समिति गठन नहुँदा समस्या परेको हो। विकास समिति अन्तर्गतका ४०८ जना कर्मचारी मध्ये २०६ जनाको तलव तत्कालै दिने निर्णय गरिसकेको छ।’ छलफल भइरहेकाले चाँडै नै समस्या समाधान हुने तिवारीले विश्वास व्यक्त गरे। 

कर्मचारी आन्दोलित हुँदा सेवाग्राही प्रभावित भएका छन्। अस्पतालका सवै वर्ड सञ्चालन भए पनि कर्मचारी आन्दोलित हुँदा सेवा प्रवाह ढिलो हुने, सानो कामका लागि घण्टौँसम्म कुर्नु पर्ने समस्याले विरामी प्रभावित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.