विदेशको पढाइ र शहर त्यागेर ५३ लाखमा कुखुरापालन
विदेशको पढाइ र शहर त्यागेर ५३ लाखमा कुखुरापालन
म्याग्दी : न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाण्डौंको व्यापार व्यावसाय छोडेर गाउँ फर्किएका उनकै दाइ दीर्घप्रसाद रिजाल (शर्मा) ले ५३ लाख रुपैयाँको लगानीमा गाउँमा नै एग्रो फर्म संचालन गरेका छन्।
म्याग्दीको बेनी नगरपालिका २ खबरामा रिजाल एग्रो फर्म संचालन गरेर कुखुरापालन र आर्गानिक कृषिमा रमाइरहेका यी दुई भाइको दिनचर्या देख्दा पढे लेखेर जागिरै खानुपर्छ वा विदेशमा नै जानुपर्छ भन्नेहरूले गतिलो पाठ सिक्न सक्छन्।
काठमाण्डौंमा मासिक डेढ लाखभन्दा बढि आम्दानी हुने व्यवसाय र शहरको बसाइ छोडेर आफ्नै गाउँमा केही गुर्न पर्छ भनि गाउँमा फर्केका दीर्घ र न्यूजिल्याण्डबाट अध्ययन पुरा गरी आएका मुकुन्द (दुई भाइ) मिलेर संचालन गरेको यो फर्म जिल्लाकै नमूना एग्रो फर्म बनेको छ। दाजु दीर्घले पनि व्यवस्थापन विषयमा डिग्री पास गरेका छन्।
स्थानीय झकबहादुर थापा र लिलबहादुर थापाको १४ रोपनी जग्गा लिजमा लिएर शर्माद्वयले व्यवसाय शुरु गरेका हुन्। जग्गा धनीलाई वार्षिक एक लाख २० हजार रुपैयाँ भाडा तिर्ने सम्झौतामा जग्गा भाडामा लिएको दीर्घप्रसादले जानकारी दिए।
८ वर्ष काठमाण्डौंमा होस्टेल र रेष्टुरेण्ट व्यवसाय संचालन गरेका दीर्घ र न्यूजिल्याण्डमा प्रशस्त कमाउन सकिने अवसर छोडेर गाउँ फर्किएका मुकुन्दले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल नजिकै नमुना एग्रो फर्म संचालन गरेका हुन्।
रिजाल एग्रो फर्म दर्ता गरी व्यवसाय शुरु गरेका शर्माको फर्ममा अहिले ब्रोइलर दुईहजार र लेयर्स जातका ३ हजार ८ सय गरी करिब ६ हजार कुखुरा छन्। साथै बारीमा २ सय ५० बोट हजारे जातका केरा समेत शर्माले लगाएका छन्।
त्यसैगरी शर्माद्धयले अर्गानिक कृषि,माछा पालन र रेष्टोरेण्ट संचालन गर्ने सोच रहेको बताए। व्यवसाय सुरु गर्नुभन्दा पहिला बजारको अध्ययन गरेको उनीहरूको भनाइ रहेको छ। ‘मैले बजारको राम्रोसँग अध्ययन पनि गरेको छु, शर्माले भने उत्पादन गर्न सके बजारको समस्या छैन।’
विदेशको सीप आफ्नै व्यवसायमा
विदेशमा अध्ययन गरेको सीपलाई स्वदेशको आफ्नै व्यवसायमा प्रयोग गर्ने दीर्घका कान्छा भाइ मुकुन्दले बताए। दाईले कृषि व्यवसाय थालेपछि खुसी हुँदै आफू पनि स्वदेश फर्किएको उनको भनाइ छ। विदेशमा गर्ने परिश्रम गाउँमै गर्न सके दामका साथै नाम पनि कमाउन सकिने उनले बताए।
पढेलखेका युवाहरूले कृषि पेशा गर्नुहुन्न भन्ने भ्रमलाई चिर्न पनि आफूहरू गाउँ फर्किएर पेशा सुरु गरेको उनीहरूको भनाइ रहेको छ।
शर्मा दाजुभाइले संचालन गरेको यस फर्ममा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। म्याग्दीलाई मासु,अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने उद्धेश्य सहित कृषि कर्ममा लागेका यी दुई भाइले त्यसैबाट व्यवसायिक लाभ लिने लक्ष राखेका छन्। दुई भाइले फर्मको जिम्मा लिएका भएपनि यसमा लगानी भने शर्माका चार भाइको रहेको छ। जेठा दाइ दीपक अमेरिकामा कार्यरत छन् भने माहिला दाई निजामति सेवामा छन्।
व्यवसाय विस्तारको योजना
चार भाइको सामूहिक लगानीमा सुरु गरिएको व्यवसायको क्षेत्र बढाउने सोचमा रहेको दीर्घप्रसादले बताए। अबको केही समयमा चार हजारबाट बढाएर १२ हजार कुखुरा पाल्ने लक्ष्य लिएको उनको भनाइ रहेको छ।
कुखुरा पालन ,केरा खेती संगै निकट भविष्यमा लोकल कुखुरा, माछा पालन तथा अर्गानिक तरकारी उत्पादन गर्ने उनल योजना सुनाए। फर्ममा ३ देखि ५ महिनाको विचमा अण्डा उत्पादनको लागि तयारी अवस्थाका कुखुरा छन्।
कुखुरा पालन व्यवसायमा चल्ला हुर्काउनमा ठुलो चुनौती हुने शर्मा बताउछन्। कुखुरा पालन जोखिमपुर्ण व्यवसाय भएकाले चल्ला हुर्काउँदा विशेष ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ। व्यवसायको सुरुवातमै राम्रो भएकाले सफल हुने उनको विश्वास रहेको छ। कुखुरापालन व्यवसायमा रोग नलागेमा र मौसमले साथ दिएमा राम्रो आम्दानी हुने उनको भनाइ रहेको छ।
कुखुरापालन गर्दा पानी, औषधि, दाना र मौसममा ध्यान दिनुपर्नेमा दीर्घप्रसादले बताए। करिब चार हजार चल्लालाई सुरुवाती समयमा औषधि उपचार, भिटामिन ,दाना ,पानी र विछ्याउने भुसका लागि मासिक ६ लाख रुपैयाँ बढी खर्च हुने गरेका फर्मका हेरालु गिरिजा गौतमको भनाइ रहेको छ। यो ठूलो खर्च हो। राम्रो भयो भने खर्च गरेअनुसारको नाफा पनि हुन्छ उनले भने।
बैंकले नपत्याए पनि हिम्मत हारेनौँ
फर्ममा दैनिक दश हजार अण्डा उत्पादन गरी अण्डा आयातलाई विस्थापित गर्ने लक्ष्य उनीहरूले लिएका छन्। व्यवसाय संचालन गर्न लगानीका लागि बेनीमा रहेका बैंक धाउदा बैंकले नपत्याएको दीर्घप्रसादले गुनासो गरे। हामी सर्वसाधरणहरूले केही गर्न खोजेपनि लगानीको समस्या छ उनले भने ‘बैंकले हामीलाई नपत्याए पनि हिम्मत हारेनौ।’
सरकारले लिएको अनुदान कार्यक्रम पनि वास्तविक किसानको पहुँचमा नपुगेको दीर्घप्रसाद बताउछन्। व्यक्तिगत रुपमा ठूलो लगानी गरेर कृषि फर्म संचालन गर्ने म्याग्दीमा आफू पहिलो भएको शर्माद्धयको दाबी रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।