|

पाल्पा : वरिपरी जंगल र झाडीसहितको खोल्साखाल्सी, त्यसको बीचमा बाँझिदै गरेका पाखोबारी। त्यहि बारीको बीचमा एउटा सानो पुराना जस्तापाता तेर्साएको छाप्रो। जहाँ पुग्न राम्रो गोरेटो बाटो समेत छैन्।  

घरको छेउमै ठ्ड्एिको बिजुलीको पोल अनि बत्ति मुनीको अध्यारो।  त्यहि हो स्याङ्जाको गल्याङ नगरपालिका–९ साङ्लीयाको देवलडाँडाका बुटे दमाइ भनिने भीमबहादुर दमाइको घर। 

उनका ५ छोरी र एक छोरा। अनि श्रीमति मनमायाँ। हलो जुवा बनाएर बिक्री गर्ने उनलाई कालले पनि अकालमै लग्यो। छिमेकीको घरमा हलो जोत्नुका साथै ढुंगा मुढाको काम गरेर भिमबहादुरले ७ जनाको परिवार पाल्दै आएका थिए। बुटा अर्थात् रुख काटेर हलो जुवा बनाउने भएकोले उनलाई बुटे दमाइ भनिएको हो। 

पराइ घरमा समेत राम्रोसँग लाउने खाने अवस्था नभएपछि ती छोरीहरु पनि नातिनातिनासहित प्रायः माइतीघरमा नै सहारा लिदै आएका छन्। छोरा मुकेशले पनि तीन महिना अघि बिहे गरेर श्रीमती घरमा ल्याएका छन्।

यहि असोज २ गते ६४ वर्षीया मनमायाँ दमाई जंगलमा दाउरा खोज्न गएकी थिइन्। श्रीमान् भिमबहादुर घरमा गाइगोरुलाई कुँडो खुवाउने र गोबर सोहर्ने काम गर्छु भनेका थिए। उता उनका छोरा २१ वर्षीय मुकेश परियार जागिर खोज्दै बुटवल बजारमा भौतारिरहेका थिए। आर्थिक अभावले कक्षा ७ भन्दा माथि अध्ययन गर्न नपाएका उनी  फर्निचरमा काम गर्ने कुरा चलिरहेको थियो। घरमा अरु कोही थिएनन्। दिउँसो पख दाउराको भारी बोकेर घरमा आएकी मनमायाले श्रीमान् भीमबहादुर गोरु बस्ने थरिमै पल्टिएको अवस्थामा देखिन्।

उनले पटक–पटक श्रीमानलाई बोलाइन् तर बोलेनन्। पानी खुवाउन खोजिन् पानी पनि खाएनन्। त्यसपछि उनले घरभन्दा टाढा रहेका छिमेकीलाई गुहारिन्। छिमेकी आउँदा पनि भीमबहादुरको अवस्था उस्तै थियो। घरमा काम गर्छु भनेर बसेका भिमबहादुरले गाइगोरु बस्ने ठाउँ चिटिक्क सफा गरेका थिए। अनि त्यहि ठाउँमा भिमबहादुरले संसार छाडे। गोरुले लात्तीले हानेको हुन सक्छ छिमेकी बमबहादुर सारु मगरले भने। 

घरभन्दा टाढाका छिमेकी जुटेर भिमबहादुरको दाहासँस्कार गरे। मनमायाँ श्रीमानको सम्झनामा किरियामा बसिन्। स‌ंस्कार अनुसार पहिलो दिन काँचो केरा खाइन्। अर्को दिन भात खानको लागि भने घरभित्र चामल थिएन्। घरखर्च चलाउदै आएका श्रीमानको मृत्यु भएपछि मनमायाँ समस्यामा परेकी थिइन्। घरमा खानेकुरा नभएपछि सेता कोरा पहिरिएर किरियामा बसेकी मनमायाँ चामल पैंचो माग्न घरभन्दा टाढा छिमेकीको घरमा पुगिन्। देख्ने मान्छे आश्चर्यमा परे। ऋण दिन साहुले पत्याएनन्, म काजकिरियाबाट निस्किएपछि मेलो गरेर फिर्ता गरम्ला भन्दै एक पाथी चामल दिन आग्रह गरिन्। छिमेकी बमबहादुर सारुले एक पाथी र अरुले मानाको दरले चामल दिए, पुगनपुग दुइपाथी चामल लिएर आफू घरमा आएको मनमायाले सुनाइन्। 

घरमा मलाई कुरेर बसेका छोरीहरु र नातीनातीनाले मकै भुटेर खाएका थिए। पछि त्यहि चामलको भात खाउ भने। आधापेट खाएर जेनतेन ६ दिन गुजारेको उनले बताइन्। सात दिनका दिन गल्याङ नगरपालिकाले चामल, दाल, प्याज, तेल घरमै ल्याएर दियो गहभरी आँशु लिएकी मनमायाले लामो सास फेर्दै भनिन्। त्यसपछि पेटभरी खाने मौका मिलेको छ।

समाचारको प्रभाव

यस्तै नेपाली चलचित्रका नायक सञ्जय खतिवडा र काठमाडौं–२९ घट्टेकुलो निवासी दीपा थापाले २० हजार १ सय नगद राहतस्वरुप सहयोग गरेका छन्। थाहा सञ्चार नेटकर्वद्वारा सञ्चालित थाहा खबर अनलाइनमा प्रकाशित समाचारबाट प्रभावित भएर सहयोग गरेको नायक खतिवडाले बताए। थाहाखबरका पाल्पा समाचारदाता मिलन विश्वकर्माले उक्त राहत रकम पीडित मनमायाको घरमै पुगेर उपलब्ध गराएका छन्। 

काजकिरीयाबाट कसरी उम्कने हो भन्ने चिन्ता परिरहेको बेला प्राप्त भएको यो सहयोगले मनमायालाई केहि मात्रामा भएपनि राहतको महसुस भएको छ। घरमा सहारा दिने श्रीमानको मृत्युले बिच्चलीमा परेका थियौ उनले भनिन् यस्तो अवस्थामा पाएको सहयोग भगवानले नै पठाइदिए जस्तो लागेको छ। 

कुनै बिमार नलागेका श्रीमान् एक्कासी वितेर जाँदा यो हालत भयो मनमायाले दुखेसो पोखिन्। काजकिरिया त सबैको सहयोगबाट उम्कने भयो बाँकी बुढेसकालको जिवन कसरी बिताउने हो भन्ने चिन्तामा भने उनी छिन्। 

कुनै चिनजान नभएको व्यक्तिले पीडितको अवस्थालाई समाचारमार्फत बुझेर सहयोग गर्नुले साँच्चिकै मानवता झल्किएको स्थानीय अमरसिं विकले बताए। उनका अनुसार यहाँ अरु घरपनि थिए तर उनिहरु बसाई सरेर अन्यत्र गइसकेका छन्। गरिबीका कारण भिमबहादुर यहि बसेका हुन्। स्थानीय सरकारले यस्ता परिवारको दुखमा साथ दिनुपर्छ स्थानीय पर्शुराम अर्यालले भने।  

गरिबीले बत्ति मुनिको अध्यारो जस्तै बन्न बाध्य

घर पछाडि अन्दाजी १० मिटर नजिक विजुलीको खम्बा छ। जुन खम्बा हुँदै लगिएको तारबाट छिमेकीको घरमा बिजुलीको उज्यालो बलिरहेको छ। तर मनमायाको परिवारलाई भने आकाशको फल आँखातरी मर जस्तै बनेको छ। उनको घरमा अहिलेपनि साँझ परेपछि टुकीनै बाल्नुपर्ने बाध्यता छ। विजुलीको खम्बाले घर च्याप्छकी भन्ने चिन्ता छ तर विजुली बाल्ने आशा भने छैन्। 

२०५८ सालमा त्यो ठाउँमा विजुली पुगेको हो। २०६० सालतिर उनको घरमा बुटवल पावर कम्पनीमार्फत विजुली बलेको थियो। जतिबेला २५० वाट विजुली बाले बापत ३९ रुपयाँ तिर्नुपर्ने हुन्थ्यो। ६ महिना पछि तिर्न नसक्दा विद्युत कार्यालयले तार काटिदियो। पहिल्यै किनेको खम्बामा झुण्डीएको कालो तार देखाउदै उनले भनिन् अब बाल्ने क्षमता भएन्। उनले थपिन २०७३ सालमा फेरी घर जल्यो। सबै घर जलेर खरानी भयो। यो अहिले बस्दै आएको देखाउदै उनले भनिन् छाप्रो समेतछिमेकीले बनाइदिएका हुन्। सम्पत्तिको नाममा तीनवटा गोरु, एउटा गाइ र एउटा सानो बाख्रो रहेको उनले सुनाइन्। 

मनमायाको परिवारको अबस्था बारे आफुलाई केहिदिन अघि मात्र थाहा भएको गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले बताए। मनमायाको घरमा विजुली बाल्नेदेखि लिएर अन्य आवश्यक सहयोग नगरपालिकाले गर्ने आश्वासन उनले दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.