मान्छे भेटिए तर रकम भेटिएन

|

जनकपुरधाम : किर्ते हस्ताक्षर गरेर करिब पौने २ करोड रुपैयाँ बैंकबाट निकालेर फरार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिटिइभिटी प्रदेश २ अन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीमा सञ्चालित बीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युटस्थित करारका कर्मचारी प्रविण कुमार ठाकुरलाई धनुषाले प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका ठाकुर महोत्तरीको महोत्तरी गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् । 

सिटिइभिटी प्रदेश कार्यालयका लेखापाल ब्रह्मदेव ठाकुर र इन्स्टिच्यूटका लेखापाल सन्तोष यादवको किर्ते हस्ताक्षर गरी फरक फरक मिति र चेक काटेर बैंकबाट रकम निकालेका थिए । 

कार्यालयले थाहा पाएपछि ठाकुर २०७४ साउन पहिलो सातादेखि सम्पर्कविहीन भए। त्यसपछि कार्यालयले साउन १४ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । 

बैंकबाट पटक पटक गरी इन्स्टिच्युटको १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकालेर फरार भएका ठाकुरलाई मुखियापट्टी मुसहरिनया गाउँपालिका–३ तुलसियाहीबाट आइतवार पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । 

उनका अनुसार ठाकुरले लेखापाल यादवको किर्ते हस्ताक्षर गरी विभिन्न बैंकबाट ६२ लाख ५६ हजार ९ सय र अर्का लेखापाल ठाकुरको किर्ते हस्ताक्षर गरी १ करोड १५ लाख ४५ हजार विभिन्न बैंकबाट निकालेका थिए ।

एसपी खनालले पक्राउ परेका ठाकुरविरुद्ध चोरी तथा लिखतसम्बन्धी कसुर मुद्दा दर्ता गरी कारबाही थालिएको जानकारी दिए । 

‘किर्ते हस्ताक्षर गरी निकालेको रकम फेला परेको छैन । यस विषयमा आवश्यक अनुसन्धान गरिरहेका छौं’, खनालले भने। स्रोतका अनुसार प्रहरीले पक्राउ परेका ठाकुरको घरमा छापा मारे पनि रकम बरामद भएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.