सहमति लत्याएर धोका दिएको आरोप

|

चितवन : चितवन मेडिकल कलेजविरुद्ध विद्यार्थी पुनः आन्दोलित भएका छन्। कलेजले सहमति लत्याएर धोका दिएको भन्दै  सोमबारबाट विद्यार्थी पुनः अभिभावकसहित आन्दोलित बनेका हुन्। 

दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत आज दिउँसो कलेज अगाडि करिव ३ घण्टा धर्नासहितका खवरदारी कार्यक्रम गरेका छन्। विद्यार्थीले मेडिकल माफियालाई जसरी पनि घुडा टेकाएरै छाड्ने चेतावनी दिएका छन्। 

गएको असोज ४ गत्ते जिल्ला प्रशासन कार्यालयमा सिएमसिका पदाधिकारी, अभिभावक र विद्यार्थीबीच विद्यार्थीको माग पुरा गर्ने सहमति भएको थियो। १ महिनाभित्र विद्यार्थीको बढी शुल्क फिर्ता तथा समायोजना गरिसक्ने सहमति भएसँगै विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए। 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा भएको उक्त सहमति अनुसार असोज १० गत्तेभित्र विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता तथा समायोजनका लागि विद्यार्थी र कलेजले प्रतिवेदन रिपोर्ट तयार पार्ने उल्लेख थियो । तर असोज १३ गत्ते भईसक्दा पनि सहमति अनुसार काम नगरेर कलेजले धोका दिएको चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय अध्यक्ष प्रकास चन्दले आरोप लगाएका छन्। 

चन्दले विद्यार्थी र विरामीबाट तोकिएको भन्दा बढी शुल्क लिएर ठगी गर्ने चितवन मेडिकल कलेजसहित देशभरका मेडिकल कलेजलाई कानुनी कारवाही गर्न सरकारसँग माग पनि गरेका छन्। उनले मेडिकल माफियालाई सडक संघर्षबाटै तह लगाउने चेतावनी दिए। यस्तै अर्का विद्यार्थी प्रविन तामाङले अभिभावकले घर जग्गा वेचेर बुझाएको पैसाको एक एक हिसाव किताव नगरी आन्दोलन नरोकिने दृढता व्यक्त गरेका छन्। 

विद्यार्थीको कार्यक्रममा अभिभावकले पनि ऐकवद्धता जनाएका थिए। अभिभावकले कलेज प्रशासनलाई नियम संगत रुपमा आफूहरू पैसा तिर्न तयार भए पनि अवैध रुपमा १ पैसा पनि नतिर्ने बताए। उनीहरूले थप ससक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.