दशैँ लागेसँगै सुरक्षा गस्ती बढाइयो

|

इनरुवा (सुनसरी) : दशैँ लागेसँगै किनमेलमा सुनसरीका भारतीय नाकामा भीड लाग्ने गर्छ। सीमाक्षेत्रमा हुने भिडभाडसँगै सुरक्षा चुनौती पनि बढ्ने गर्छ।

सीमाक्षेत्रमा भारतीय सीमासुरक्षा बल (एसएसबी) ले किनमेलको बहानामा आंतकवादी घुसपैठ हुने भन्दै बोर्डर क्षेत्रलाई सुरक्षाजाँच कडा बनाउँदै आएको छ। 

एसएसबीले नेपालको बाटो हुदै आतंककारी भारततिर छिर्ने सूचना पाएको भनेपछि नेपाल प्रहरीले पनि सुरक्षा व्यवस्था चुस्त पार्ने भएको छ।

ठूला चाडपर्व र भारतीय पक्षको आग्रहमा सुनसरी प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था चुस्त राख्न ठूलो संख्यामा जनशक्ति परिचालित गरेको छ। सुनसरी प्रहरीले अपराधका घटना हुन नदिन सादा पोशाकका प्रहरी र ‘डग स्नापिङ’समेत गर्ने भएको हो।

दशैँका मेला पर्वमा प्रहरीको निगरानी विशेष हुने छ। मुख्य सहरसँगै भारतसँग जोडिएका ग्रामीण क्षेत्रका सीमाक्षेत्रमा अपराध हुन सक्ने स्थानहरू पनि प्रहरीले छनोट गरेको छ। जुन क्षेत्रमा प्रहरीले सादा पोसाकका प्रहरी र कुकुर परिचालन गर्ने छ।

सीमानाकामा हुन सक्ने सम्भाव्य अपराधको विश्लेषण पनि नेपाल प्रहरीले गर्दै आएको छ। नेपालबाट चरमपन्थीहरु प्रवेश गर्ने आशंकामा भारतीय सुरक्षा निकायले नेपाल प्रहरीसँग पनि सहयोग मागेको थियो।

सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार दशैँ, तिहार र छठ पर्वसम्मका लागि  एक हजार ५० जना सुरक्षाकर्मी एकसाथ परिचालन गर्ने रणनीति बनाइएको छ। 

चाडपर्वका समयमा रातिसम्म बजार पसल खुल्छन्। त्यो बेला अपराध हुने सम्भावना बढी हुने भएकाले भिडभाड हुने स्थानमा निगरानी र सुरक्षाका लागि थप जनशक्ति परिचालन गरिने पोखरेलले बताए।

जिल्ला प्रहरी कार्यालय सुनसरीले मातहतका ८२ वटा प्रहरी युनिट छन्। युनिटसँगै सादा पोशाकका प्रहरी, सेक्युरिटी, सिआरभी, मोबाइल गस्तीसँगै सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त गस्ती सुरु गरिएको छ।

भण्टाबारी नाका क्षेत्रमा भारतीय क्षेत्रमा सुरक्षामा खटिएका एसएसबीका क्याम प्रमुख क्षेत्र मोहनदेब शर्माका अनुसार सीमा अपराधबारे नेपाल-भारतले संयुक्त पहल गरिएको छ। 

सीमानाकामा भारतीय सुरक्षाकर्मीको सहयोग लिएर सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमानाकामा आवतजावत गर्नेलाई सुरक्षा प्रदान गर्ने एसपी पोखरेल बताउँछन्। सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी परिचालनदेखि सरप्राइज चेकिङ्गसम्म गर्ने गरी सुरक्षा बल परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.