|

पर्वत : दशैं र तिहार जस्ता धेरै खर्च हुने चाड नजिकै आइपुग्दा पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवा चुरीका सर्वजित बिकलाई चाडको चटारो कसरी टार्ने होला? भन्ने पीर लागेको छ। ६५ वर्ष उमेर पार गरिसकेको शरीरका लुला पाखुराले फलाम चुटेर आउने खर्चले दशैं धान्न मुस्किल छ। त्यही पाखुरो पनि नचल्ने हो भने माना, पाथी मकै र धान नै पाइँदैन्।

‘दिन उमेरमा त अरू काम पनि गरेर खर्चको जोहो हुन्थ्यो, अब बुढेसकालमा बाहिर गएर ज्यामीको काम गर्न सकिँदैन’ उनले सुनाए, ‘यिनै बुढ्यौली लागेका हातले घन ठटाउँदै आँसी र बन्चरा अर्चापेर पाउने २/४ पाथी अन्नले वर्ष धान्ने हो। अरूभन्दा पनि चाडपर्वको बेलामा नातेदार आउँछन्, समस्या यही बेलामा पर्छ।’

सर्वजितले जसोतसो स्थानीयका घरेलु हतियारहरूमा धार लगाउँछन, त्यसबापत नगद पैसा भने पाउँदैनन्। उनले वार्षिक वा मासिक रूपमा केही पाथी अन्न पाउँछन्। जसले उनको गुजारा चल्दैन।

उनी मात्र होइन सोही ठाउँकै रामबहादुर बिक पनि हतियार बनाउन र तीनमा धार लगाउन सिपालु मानिन्छन्। उनले पनि बालिघरे प्रथाकै आधारमा काम गर्दै आएका छन्। आजभोलिका कोही कोहीले हतियारमा धार लगाएको न्यूनतम शुल्क दिने गरेको भए पनि पुरानो पुस्ताकाहरुले भने पाथीमा भरेर कोदो, मकै, गहुँ वा धान दिने गरेको उनले सुनाए।

वर्षभरि हतियारमा धार लगाएर केही पाथी अन्न पाउँदा पनि उनीहरूलाई आनन्द लाग्छ। किनकि त्यही अन्नको भरमा दैनिकी गुजार्नुपर्ने बाध्यता छ। रामबहादुर छोरा भने नेपाली सेनामा कार्यरत छन्, उनको परिवारलाई केही सजिलो पनि छ।

‘छोरो आर्मीमा छ, उसले पनि घरमा पैसा पठाउँछ, अहिले त चल्न सजिलो नै छ भन्नुपर्छ।’ उनले भने, ‘पहिले पहिले त हतियारमा धार लगाएको रुपैयाँ आउँदैनथ्यो, माना पाथी अन्नका भरमा वर्षभरि घन ठटाउनुपर्ने थियो।’

दशैंको बेलामा छिमेकमा रहेका वा नजिकैको गाउँमा रहेका धनी वर्गका मानिसहरूले तामझामका साथ दसैँ मनाउँदा उनीहरूको मन खिन्न हुन्छ। बुढेसकालका हातले कति पो काम गर्न सक्ला? त्यही कामको पनि नगद आम्दानी नहुँदा आरन सञ्चालन गर्दै आएकाहरूले अरूको जस्तो तामझामले दशैं मनाउन सक्दैनन्।

जिल्लाका धेरैजसो ठाउँमा रहेका आरनहरू लोप हुने अवस्थामा पुग्न लागिसकेका छन्। जहाँ सञ्चालनमा छन् त्यहाँका विश्वकर्माहरूले पनि बालीघरे प्रथाको आधारमा काम गर्दै आइरहेका छन्। बालीघरे प्रथामा काम गर्दा काम लिएर आउने ग्राहकसँग नगद रुपैयाँ लिईँदैन्।

वर्षभरि काम गरिन्छ अनि हिउँदमा जस जसको काम गरिदिएको उसैको घरमा पुगेर अन्न मागिन्छ। तर यती नै चाहिन्छ भन्ने पूर्व निर्धारित नियम केही हुँदैन। जसले जति सक्छ उति दिने हो। यही कारण जति नै काम गरे पनि उपलब्धि नहुने भएकोले आरनहरू नै लोप हुँदै गएको विश्वकर्माहरू बताउँछन्।

बिहान बेलुका आरनको काम र दिउँसोमा घर बनाउने सिपालुको काम गर्दै आएका कमल बिकले आरनको भरमा मात्र काम गर्दै आएका विश्वकर्माहरूको अवस्था दयनीय रहने गरेको बताउँछन्। कमल भने उमेरले पनि युवा छन्, बलिया कामहरू पनि गरेर आम्दानी गर्छन्।

‘मैले त सीपका कामहरू पनि जानेको छु, त्यसैले दसैँमा खासै कठिन नहोला आम्दानी पनि राम्रै हुने गरेको छ।’ उनले भने, ‘तर सीप नभएका तथा बुढेसकाल लागेकाहरू आरनकै मात्र भर पर्ने गरेका कारण हरेक चाडबाड नरमाइलो हुन्छ।’

बालिघरे प्रथाबाट प्रता नउठेकै कारण आजभोलि विश्वकर्मा युवाहरूले पनि वैदेशिक रोजगारीलाई नै गन्तव्य बनाउने गरेको उनले सुनाए। गाउँमा रहेका आरन चलाएर वर्षभरिमा पाइने २/४ मुरी अन्नले जीवनको गुजारा नचल्ने भएकोले नै आरन पेसा नै संकटमा पर्दै गएको उनको अनुभव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.