|

पोखरा : नेपालमा हिमाल आरोहणको समय सुरु भइसकेको छ । आरोहणको लागि भदौ मसान्तसम्म ५५३ जनाले अनुमति लिइसकेका छन्।

यस वर्ष नेपालका २८ वटा हिमालका लागि ७६ समुहका ५५३ जनाले आरोहण अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ । असोज १४ गतेसम्म नेपाल सहित ५२ देशका आरोही हिमाल आरोहणमा जानको लागि तयारीमा छन् । 

यस वर्ष आरोहण अनुमति लिएका ७६ समुह मध्ये सबैभन्दा धेरै आरोही मनास्लु आरोहणमा निस्कँदैछन् । केही मनास्लु आरोहणका लागि मनाङको बाटो हुँदै र केही गोरखाको मनास्लु पदमार्गको बाटो हुँदै त्यस तर्फ लागिसकेका छन् । आरोहण अनुमति लिएका ५५३ जना मध्ये २७ समूहका २६४ जना मनास्लुका लागि अनुमति लिएका छन्।  

आरोही बेसक्याम्पमा, सरकारी सम्पर्क अधिकृत बेपत्ता

हिमाल आरोहीहरुसँगै बेसक्याम्पमा सरकारी सम्पर्क अधिकृत पनि जानुपर्ने हुन्छ । तर, मनास्लुमा भने अझै सम्पर्क अधिकृत नपुगेको स्थानीय जनप्रतिनीधीहरुले जानकारी दिएका छन्  । मनास्लुलाई ज्यानमारा हिमाल पनि भनिन्छ। 

तर, हिमाल आरोहीसँग जाने सरकारी सम्पर्क अधिकृतहरु भने त्यहाँ पुगेका छैनन। ‘हिमालय गाइडको एक दुई जना चाहीँ यहाँ रेगुलर छ,’ मनास्लु हिमाल रहेकै चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष बीरबहादुर लामाले भने, ‘अलि अस्तितिर केहि सम्पर्क अधिकृतहरु बेस्क्याम्पमा पुगेका थिए दशैँ लागेर होला अहिले त कोही छैन । पहिले पनि माथी त कोहि बसेन गए पनि तल झर्ने गरेका थिए ।’ 

यता पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले भने सम्पर्क अधिकृत गए नगएको आफुलाई थाहा नभएको बताए । उनले भने,‘म आफैँ चाहिँ गएको थिएँ मेरो टिमले आरोहण सक्यो । म फर्किएँ अरुको थाहा भएन ।’ 

यस वर्ष मनास्लु बाहेकका अन्य धौलागिरी, सगरमाथा लगायतका हिमालमा पनि आरोहणका लागि आरोहीहरु त्यस तर्फ लागिसकेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.