|

पर्सा : पर्वका समयमा बढेको भिडभाडमा लुटपाट गर्न खोज्ने पाँच भारतीय पर्सामा पक्राउ परेका छन् । उनीहरुलाई पर्सा प्रहरी कार्यालयबाट सादा पोशाकमा खटेका प्रहरीले लुटपाट गर्न लागेको समयमा नै पक्राउ गरेको हो । 

पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्ने वर्ष १५ को कन्हैयालाललाई लुटपाट गर्न खोजेको समयमा वीरगन्ज महामनगरपालिका वडा नम्बर १५ बसपार्कबाट पाँचै जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। 

पक्राउ पर्ने अभियुक्तहरु भारत बिहार बेतिया घर भएका २६ वर्षीय  अजय राम, त्यही ठाउँका १६ बर्षका अरुण मल्ली, १५ बर्षका भोला मल्ली, ४० बर्षका घुरिल मल्ली र २५ वर्षका सन्नी राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए। 

सादा पोशाकमा रहेका प्रहरीले पाँचै अभियुक्तलाई पक्राउ गर्न सफल भएको उनको भनाइ छ। पक्राउ परेका अभियुक्तहरुले अरुको पनि सुनको सिक्री लगायतका सामान लुटपाट गरेको पर्सा प्रहरीमा थप उजुरी आउने क्रम जारी रहेकोले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए।  

त्यसैगरी बारा कलैया–१ घर भई हाल वीरगन्ज १६ बस्ने वर्ष २६ को सजिर रायभरलाई पनि गस्तीमा रहेको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका रायभरले वीरगन्ज २५ बस्ने नवनीत दासको मोबाइल फोन चोरी गरी भाग्दै गरेको समयमा पक्राउ गरी थुनामा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। 

केही दिनयता पर्वको समयमा बढेको भिडभाडलाई लक्षित गरी लुटेरा र चोरहरुले थप गतिविधि बढाउन सक्ने कुरालाई आंकलन गरी प्रहरीले चालेको थप सुरक्षा व्यवस्था अनुसार अभियुक्तहरु धमाधम प्रहरी नियन्त्रमा पर्न थालेको प्रहरीको दावी छ।

सादा पोशाकमा पनि साविकको भन्दा धेरै प्रहरी परिचालन गरिएकोले पर्वको भिडभाडमा पनि अपराधिक घटना घटाउन सकिन्छ भनी अपराध कर्ममा लाग्नेहरुले छुट पाउन नसक्ने पर्सा प्रहरीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.